के हो ‘इन्डष्ट्री ४.०’ ?
‘इन्डष्ट्री ४.०’ उद्योगहरूको अपडेटेड भर्सन हो। संसार उद्योगको युगमा गए पनि कुनै बेला त्यसको सञ्चालनका लागि ‘म्यानुअल’ रूपमा ठूलो संख्यामा जनशक्ति चाहिन्थ्यो। धेरै मात्रामा जनशक्ति प्रयोग हुँदा पनि उद्योगहरूले उत्पादन क्षमता बढाउन सकेका थिएनन्।
जब सन् १७७० मा पहिलोपटक ब्रिटेनमा कोइला र तेल इन्धनबाट ठूला उद्योगहरू सञ्चालन हुन थाले र स्वचालित उद्योग सामग्रीहरूबाट उत्पादन गर्न थालियो, त्यही समयलाई उद्योग युगको पहिलो चरण, अर्थात् ‘इन्डष्ट्री १.०’ भनिन्छ। म्यानुअल तरिकाले चल्ने उद्योगहरूले त्यसपछि आफ्नो उत्पादकत्व बढाए। कम लागतमा धेरै उत्पादन हुने भएपछि तत्कालिन समयमा यसलाई उद्योग क्षेत्रमा ठूलो उपलब्धि मानियो।
जब सन् १८३० को दशकमा उद्योगहरू बिजुलीबाट सञ्चालन हुन थाले, त्यसपछि त झन् उद्योगहरू अझै फस्टाए। बिजुलीबाट उद्योगका सामग्रीहरू सञ्चालन गर्दा उत्पादन क्षमता अझै बढ्न थाल्यो। यो युगलाई उद्योग क्षेत्रले ‘इन्डष्ट्री २.०’ मान्छ। पछि सन् १९६० देखि ७० को दशकमा विश्वयुद्धको क्रममा उद्योग क्षेत्रमा अझ धेरै प्रविधिको विकास हुन थाल्यो। उद्योग क्षेत्र पनि अपडेट हुँदै गयो। यो समयमा ‘फुल्ली अटोमेटेड’ शैली उद्योगहरूले अपनाउन थाले। उद्योग इतिहासले समयको यो कालखण्डलाई ‘इन्डष्ट्री ३.०’ भन्छ।
२१औँ शताब्दीको शुरुवातसँगै संसारभर प्रविधिको विकास अत्यधिक तीव्र गतिमा हुन थाल्यो। त्यसको प्रभाव उद्योग क्षेत्रमा नपर्ने कुरै भएन। इन्टरनेटको तीव्र विकास हुँदै सेन्सर सिस्टमबाट डाटा सेन्टर र कन्ट्रोल रूपमार्फत नै उद्योगहरू ‘फुल अटोमेटेड’ प्रणालीमा सञ्चालन हुँदा त्यसले थप नवीनतासँगै उत्पादन क्षमतामा आफूलाई अब्बल बनाउँदै लग्यो। त्यसयताको उद्योगको युगलाई ‘इन्डष्ट्री ४.०’ मानिन्छ।
‘हाल विश्वका उद्योगहरू इन्डष्ट्री ४.० संस्करणमा प्रवेश गरिरहेका छन्। प्रविधिको अत्यधिक विकास र प्रयोग पनि यही समयमा भइरहेको छ,’ उद्योग विभागका वरिष्ठ इन्जिनियर खगेन्द्र बस्नेतले भने, ‘त्यसैले नेपालमा पनि नीतिगत रूपमा यो विषयलाई स्पष्ट बनाउनुपर्ने अहिलेको आवश्यकता हो।’
बस्नेतले नेपालका उद्योगहरू पूर्ण रूपमा इन्डष्ट्री ४.० को अवधारणाअनुसार अपडेट नभए पनि आंशिक रूपमा भने यो अवधारणामा गैसकेको बताए।
‘जस्तो, रिद्धिसिद्धि सिमेन्ट उद्योगले यसअघि चुनढुंगामा कति क्याल्सियम, सिलिकन छ भन्ने कुरा पत्ता लगाउन स्याम्पल ब्वाइ मात्र २० जना राखेको थियो। तर अहिले डिजिटल्ली मेसिनले नै स्याम्प्लिङ गर्छ। सिमेन्ट उत्पादनका लागि मेसिनबाटै फुल्ली अटोमेटेड ल्याब परीक्षण गरेर चुनढुंगालाई अगाडि सप्लाइ गर्छ,’ उनले भने, ‘यस्ता धेरै उद्योगहरूले आफूलाई पछिल्लो प्रविधिसँग अभ्यस्त गराउनु नै अबको विकल्प हो।’
प्रविधिको विभिन्न अपडेटेड भर्सन आउँदा हालको अवस्थामा काठमाडौं बसेर पोखराको उद्योगलाई ह्यान्डल गर्न सकिने सुविधा आइसकेको बस्नेत बताउँछन्। यतिसम्म कि एउटा कोठामा बसेर इन्टरनेट र अन्य प्रविधिको प्रयोगले ट्र्याक्टरले खेत जोत्नेदेखि ड्रोनबाट बिउ छर्ने कामसम्म गर्न सकिने भएकाले उद्योगहरूले यसलाई आफ्नो उत्पादन क्षमता बढाउन अझ बढी प्रयोग गर्न सक्ने उनको भनाइ छ।
एआई प्रणालीको तीव्र विकास भइरहेको अहिलेको समयमा ‘इन्डष्ट्री ४.०’ लाई नीतिगत रूपमा सम्बोधन नगर्दा यहाँका उद्योगहरू अपडेट हुन नसक्ने खतरा रहने बस्नेतको बुझाइ छ। ‘सरकारले उद्योग अपडेट भइरहँदा कतिपय कुरामा सहुलियत दिन आवश्यक हुन्छ। कतिपय कुरामा प्रोत्साहन र प्रवर्द्धन गर्नुपर्ने हुन्छ। र, कतिपय विषयमा नियमन पनि गर्नैपर्छ,’ बस्नेतले भने, ‘त्यसका लागि सरकारकै प्रणाली पनि सोही अनुसार अपडेट हुन जरुरी छ।’




