काठमाडौं। हिजो कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बाटुलो जून’ ले प्रदर्शनको पहिलो दिन नै सुखद व्यापार गरेको छ
पहिलो दिन नेपालभरबाट १ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको बक्सअफिस स्रोतले जनाएको छ। पहिलो दिन ३६ हजार टिकट बिक्री भएको बताइएको छ।
चकलेटी बोईको छविबाट चिनिएका अनमोल यसपटक ‘बाटुलो जून’ मा केही परिपक्क देखिएका छन्। प्रेम, बिछोड र सामाजिक यथार्थलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको चलचित्रमा उनको अभिनयले पुरानो छविभन्दा फरक स्वाद दिन्छ।
चलचित्रमा अनमोलले अभिको भूमिका निर्वाह गरेका छन्। गाउँमा व्याप्त जातीय विभेद र अशिक्षा हटाउन सहरको जागिर छाडेर गाउँमै पढाउने निर्णय गर्ने पात्रका रूपमा उनी देखिएका छन्। यही यात्रामा उनको भेट जुन अर्थात् प्रिन्सी खतिवडासँग हुन्छ। विस्तारै उनीहरूबीच प्रेम सम्बन्ध स्थापित हुन्छ।
अनमोल र प्रिन्सीको जोडी पर्दामा सुहाएको छ। उनीहरूबीचको प्रेम र भावनात्मक सम्बन्धले चलचित्रलाई आकर्षक बनाएको छ। अनमोलको अभिनयमा यसपटक निखार देखिएको छ।
टिकटकबाट परिचित प्रिन्सीका लागि ‘बाटुलो जून’ डेब्यु चलचित्र हो। धेरै संवाद बोल्ने अवसर नपाए पनि उनले आफ्नो हाउभाउ र अभिनयबाट राम्रो प्रभाव छाडेकी छन्। संवादभन्दा अनुहार र प्रस्तुतिबाट भावना व्यक्त गर्न सक्ने उनको क्षमता प्रशंसनीय छ। पहिलो चलचित्रमै उनले आफ्नो अभिनय सम्भावना देखाएकी छन्।
चलचित्रको सबैभन्दा भावुक पक्ष प्रेममा परेका जोडीको बिछोड र वर्षौंपछि हुने भेट हो। अभि र जुनको प्रेमले विवाहको रूप लिन पाउँदैन। समय बित्दै जाँदा उनीहरू जीवनको उत्तरार्धमा फेरि भेटिन्छन्। युवावस्थाको प्रेम र बुढेसकालको सम्झनालाई जोडेर चलचित्रले प्रेमको एउटा फरक पाटो देखाएको छ।
यही प्रसङ्गमा भुवन केसी र गरिमा पन्तको प्रवेश हुन्छ। गरिमा पन्तको पर्दामा पुनरागमन दमदार छ। लामो समयपछि पर्दामा देखिएकी गरिमाले आफ्नो उपस्थितिलाई प्रभावशाली बनाएकी छन्।
भुवन केसीको अभिनय चलचित्रको सबैभन्दा भावुक बनाउने पक्षमध्ये एक हो। विशेषगरी बिछोड, अधुरो प्रेम र जीवनको उत्तरार्धसँग जोडिएका दृश्यमा उनको अभिनयले दर्शकलाई भावुक बनाउन सक्छ। कतिपय दृश्यमा दर्शकका आँखा रसाउन सक्छन्।
चलचित्रमा न्यान्सी खड्काले ताराको भूमिका निर्वाह गरेकी छन्। तर उनको चरित्र भने त्यति स्पष्ट रूपमा स्थापित हुन सकेको छैन। कथामा उनको भूमिकाको आवश्यकता र चरित्रको विकासलाई अझ प्रस्ट बनाउन सकिने ठाउँ देखिन्छ।
‘बाटुलो जून’ शीर्षक आफैँमा प्रतीकात्मक लाग्छ। जून पूर्ण देखिए पनि त्यसको दूरी आफ्नै ठाउँमा हुन्छ। नजिकबाट हेर्न नसकिए पनि जून प्यारो लागिरहन्छ। चलचित्रको प्रेमकथा पनि यस्तै भावनासँग जोडिन्छ। सँगै हुन नपाए पनि प्रेम र सम्झना जीवनभर रहिरहन सक्छन् भन्ने भाव चलचित्रले प्रस्तुत गर्छ।
समग्रमा ‘बाटुलो जून’ प्रेम, सामाजिक विभेद, समय र बिछोडको भावनात्मक कथा बोकेको चलचित्र हो। पहिलो दिनको बक्सअफिस कमाइले चलचित्रप्रति दर्शकको आकर्षण देखाएको छ। अनमोलको निखारिएको अभिनय, प्रिन्सीको आशालाग्दो डेब्यु तथा गरिमा र भुवनको प्रभावशाली प्रस्तुतिले चलचित्रलाई हेर्नलायक बनाएका छन्।
केही पात्रको चरित्र चित्रणमा अझै स्पष्टता आवश्यक देखिए पनि भावनात्मक प्रेमकथा मन पराउने दर्शकका लागि ‘बाटुलो जून’ राम्रो विकल्प बन्न सक्छ।


