काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजीबजार सुधार तथा पुनरुत्थानका लागि अर्थ मन्त्रालयले अघि सारेको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालसहितको प्रतिनिधिमण्डलले नेप्से कार्यालयमै पुगेर सीईओ सुवेदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। सो क्रममा सीईओ सुवेदीले उक्त प्रतिबद्धता गरेका हुन्।
भेटका क्रममा अध्यक्ष ढकालले २१ बुँदे कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके पुँजीबजारका विद्यमान समस्या समाधान हुनुका साथै लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न र बजारलाई थप पारदर्शी तथा व्यवस्थित बनाउन सहयोग पुग्ने बताए।
उनले पुँजीबजारको दिगो विकासका लागि नियामक निकाय, नेप्से, ब्रोकर कम्पनी तथा अन्य सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए।
जवाफमा नेप्सेका सीईओ सुवेदीले पुँजीबजारको विकास र सुधारका लागि सम्बन्धित सबै सरोकारवालासँग सहकार्य गर्न नेप्से तयार रहेको बताए। उनले अर्थ मन्त्रालयको २१ बुँदे कार्ययोजना कार्यान्वयनका लागि आवश्यक पहल तथा काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

