काठमाडौँः नेपाल राष्ट्र बैंकको खुदनाफा गत आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ भन्दा बढेको छ।
विदेशी विनिमय सञ्चितिमा भएको उल्लेख्य वृद्धिसँगै त्यसबाट प्राप्त ब्याज आम्दानी बढ्दा केन्द्रीय बैंकको नाफा उकालो लागेको हो। तर, कुल नाफा ८३ अर्ब ५६ करोड रुपैयाँ पुगे पनि विभिन्न कोषमा रकम छुट्याएपछि सरकारले प्राप्त गर्ने रकम भने ४२ अर्ब रुपैयाँमा सीमित भएको छ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ मा ८३ अर्ब ५६ करोड ९४ लाख रुपैयाँ खुदनाफा गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ८० अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको केन्द्रीय बैंकको नाफा यस वर्ष ३ अर्ब ८ करोड रुपैयाँ अर्थात् ३.८४ प्रतिशत बढेको हो।
राष्ट्र बैंकको नाफा बढ्नुको मुख्य आधार विदेशी मुद्राको सञ्चिति बढ्नु र त्यसको लगानीबाट प्राप्त ब्याज आम्दानीमा सुधार आउनु हो। गत आर्थिक वर्ष विदेशी मुद्राबाट खुदब्याज आम्दानी १ खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको ९४ अर्ब ८१ करोड रुपैयाँको तुलनामा यो करिब २३ प्रतिशत बढी हो।
रेमिट्यान्स आप्रवाहमा वृद्धि, आयातमा सुधार तथा बाह्य क्षेत्रको स्थिति बलियो बन्दै जाँदा विदेशी विनिमय सञ्चिति निरन्तर बढेको छ। २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको सञ्चिति २०८३ असार मसान्तमा ४५.६ प्रतिशतले बढेर ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।
सञ्चिति बढ्दा ब्याज आम्दानी बढ्यो
विदेशी विनिमय सञ्चिति बढेसँगै राष्ट्र बैंकले विभिन्न विदेशी बैंक तथा वित्तीय उपकरणमा गरेको लगानीबाट प्राप्त ब्याज आम्दानीमा सुधार भएको छ। सञ्चितिलाई आवधिक निक्षेप, सुन, विदेशी सरकारी ट्रेजरी बिल्स, नोट तथा बन्ड र बैंक फर इन्टरनेसनल सेटलमेन्ट्सका उपकरणमा लगानी गरिएको केन्द्रीय बैंकले जनाएको छ।
२०८३ असार मसान्तमा राष्ट्र बैंकको विदेशी विनिमय सञ्चिति लगानी अमेरिकी डलर २३ अर्ब १३ करोड पुगेको छ।
विदेशी मुद्रा सञ्चितिको विस्तारले बाह्य क्षेत्रको स्थायित्व बलियो बनाउनुका साथै केन्द्रीय बैंकको आम्दानीमा समेत योगदान गरेको छ। हाल कायम सञ्चितिले २३ महिनाको वस्तु आयात तथा १९.६ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको तथ्यांक छ।
स्वदेशी मुद्राको ब्याज आम्दानी भने नकारात्मक
विदेशी मुद्राबाट ब्याज आम्दानी बढे पनि स्वदेशी मुद्रामा राष्ट्र बैंकको खुद ब्याज आम्दानी भने नकारात्मक रहेको छ। वित्तीय प्रणालीमा अधिक तरलता कायम रहँदा स्वदेशी मुद्राको खुद ब्याज आम्दानी गत आव २२ अर्ब रुपैयाँले नकारात्मक भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नोक्सानी ७ अर्ब ७६ करोड रुपैयाँ थियो।
यसले राष्ट्र बैंकको आम्दानी संरचनामा विदेशी मुद्रा सञ्चितिको ब्याज आम्दानीको योगदान बढ्दै गएको देखाउँछ।
गत आर्थिक वर्ष सुनचाँदीको मूल्यमा आएको परिवर्तनबाट राष्ट्र बैंकले ७१ अर्ब ७१ करोड रुपैयाँ लाभ प्राप्त गरेको विवरणमा उल्लेख छ। विदेशी विनिमयको मूल्यमा भएको उतारचढावबाट २ खर्ब ५४ अर्ब ८३ करोड रुपैयाँ लाभ देखिएको छ।
यद्यपि, मूल्यांकनबाट देखिएको यस्तो लाभलाई नगदमा प्राप्त भइसकेको आम्दानीका रूपमा बुझ्न मिल्दैन। विदेशी मुद्रा, सुनचाँदी तथा अन्य सम्पत्तिको मूल्यमा आएको परिवर्तनले वित्तीय विवरणमा लाभ वा हानि देखाउन सक्छ। त्यसैले वास्तविक नगद आम्दानी र पुनर्मूल्यांकनबाट सिर्जित लाभबीच भिन्नता हुन्छ।
राष्ट्र बैंकले खुद नाफाबाट विभिन्न वैधानिक तथा संस्थागत सञ्चिति कोषमा रकम छुट्याएपछि बाँकी ४२ अर्ब रुपैयाँ सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ।
मौद्रिक सञ्चिति दायित्व, वित्तीय स्थायित्व दायित्व सञ्चिति, खुला बजार स्थिरीकरण कोष, बैंकिङ विकास कोष तथा सुन प्रतिस्थापन कोषलगायतमा कानुनअनुसार रकम छुट्याएपछि सरकारलाई जाने रकम निर्धारण गरिएको हो।
गत आर्थिक वर्षमा पनि राष्ट्र बैंकले सरकारलाई ४२ अर्ब रुपैयाँ नाफा हस्तान्तरण गरेको थियो। यस वर्ष कुल नाफा बढे पनि सरकारलाई जाने रकम भने अघिल्लो वर्षकै बराबर कायम भएको छ।
गत वर्ष मुलुकको बाह्य क्षेत्रका सूचकहरूमा उल्लेख्य सुधार देखिएको छ। चालू खाता ९ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँ र शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोड रुपैयाँ बचतमा रहेको छ।
कुल वस्तु निर्यात १३.८ प्रतिशतले बढेर ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ भने आयात १६.२ प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।
वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.०८ प्रतिशतमा झरेको छ। अघिल्लो आवमा यस्तो मुद्रास्फीति ४.०६ प्रतिशत थियो।
यसै अवधिमा विस्तृत मुद्राप्रदाय १३.४ प्रतिशत र संकुचित मुद्राप्रदाय १७.९ प्रतिशतले बढेको छ। कुल आन्तरिक कर्जा २.१ प्रतिशत तथा निजी क्षेत्रमाथिको मौद्रिक क्षेत्रको दाबी ६.६ प्रतिशतले वृद्धि भएको छ।
राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व २०८३ असार मसान्तमा ३८ खर्ब ७४ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा यो ४५.०६ प्रतिशत वृद्धि हो।
विदेशी विनिमय सञ्चितिको विस्तारले राष्ट्र बैंकको ब्याज आम्दानी र नाफामा सुधार ल्याए पनि सरकारलाई हस्तान्तरण हुने रकम स्थिर रहनुले केन्द्रीय बैंकको नाफा वितरण संरचना तथा सञ्चिति व्यवस्थापनको महत्त्वलाई पुनः उजागर गरेको छ।

