काठमाडौँ: आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ। समूहका विभिन्न व्यवसायबीच रणनीतिक सहकार्य अभिवृद्धि गर्दै व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने जिम्मेवारीसहित खड्कालाई उक्त पदमा नियुक्त गरिएको हो।
नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्ट खड्काले समूहअन्तर्गतका कम्पनीहरूको विशेषज्ञता, प्रविधि, बजार पहुँच र वितरण सञ्जाललाई एकीकृत गर्दै समग्र व्यावसायिक प्रभावकारिता तथा दीर्घकालीन ब्रान्ड मूल्य अभिवृद्धिमा नेतृत्व गर्नेछन्।
उनको जिम्मेवारीमा नयाँ सेवा तथा साझेदारी विकास, ग्राहक अनुभव सुधार र नेपालको डिजिटल अर्थतन्त्रमा आईएमई ग्रुपको योगदान विस्तार गर्ने विषय प्राथमिकतामा रहनेछन्।
चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खड्कासँग १५ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ। उनी यसअघि डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा कार्यरत थिए। विभिन्न डिजिटल वित्तीय सेवा व्यवसायको नेतृत्व तथा व्यवस्थापनमा समेत उनको अनुभव रहेको छ।
आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले खड्कालाई स्वागत गर्दै उनको नेतृत्वमा समूहका कम्पनीहरू थप सुदृढ हुने विश्वास व्यक्त गरे। उनले डिजिटल रूपान्तरणलाई विस्तार र सुदृढ गर्दै नयाँ व्यावसायिक अवसर सिर्जना गर्न खड्काको अनुभव महत्वपूर्ण हुने बताए।
नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्ट खड्काले आईएमई ग्रुपका प्राथमिकता र सरोकारवालासँगको सहकार्यलाई केन्द्रमा राखेर परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपालको अग्रणी व्यावसायिक समूहका रूपमा रहेको आईएमई ग्रुपले रेमिट्यान्स, बैंकिङ तथा बीमा, डिजिटल वित्तीय सेवा, पर्यटन तथा आतिथ्यता, केबलकार, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, खेलकुद, उत्पादन तथा व्यापारलगायतका विविध क्षेत्रमा लगानी तथा व्यवसाय विस्तार गर्दै आएको छ।

