काठमाडौँ: एनसेलले आफ्नो थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। कम्पनीले आगामी एक महिनाभित्र बाँकी रहेका सबै थ्रीजी साइट बन्द गर्ने योजना अघि बढाएको हो।
एनसेलका अनुसार कम्पनीका कुल ३ हजार १२९ थ्रीजी साइटमध्ये हालसम्म ९९२ वटा बन्द भइसकेका छन्। अब बाँकी २ हजार १३७ साइटमा पनि थ्रीजी सेवा बन्द गरिनेछ। कम्पनीले आगामी पुस २ गतेदेखि थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने जनाएको छ।
थ्रीजी सेवा बन्द गर्ने प्रक्रिया चार चरणमा कार्यान्वयन हुनेछ। पहिलो चरणमा मंसिर ७ गते लुम्बिनी र गण्डकी प्रदेशका थ्रीजी साइट बन्द गरिनेछन्। दोस्रो चरणमा मंसिर १४ गते काठमाडौं, ललितपुर र भक्तपुरका साइट बन्द हुनेछन्।
त्यस्तै, तेस्रो चरणमा २१ मंसिरमा मधेश र गण्डकी प्रदेशका बाँकी स्थान तथा चितवनमा थ्रीजी सेवा बन्द गरिनेछ। चौथो तथा अन्तिम चरणमा मंसिर २६ गते मधेश र कोशी प्रदेशका बाँकी साइट बन्द गरिने कम्पनीले जनाएको छ।
सन् २०१७ मा सुरु भएको थ्रीजी सेवा बन्द भएसँगै ग्राहकले फोरजीमा आधारित भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) प्रविधि प्रयोग गर्न सक्नेछन्। यसबाट ग्राहकले स्पष्ट आवाजमा कुराकानी गर्न, छिटो कल कनेक्सन प्राप्त गर्न तथा फोनमा कुरा गर्दागर्दै फोरजी डेटा प्रयोग गर्न सक्नेछन्।
भोल्टे सेवा प्रयोग गर्न फोरजी सिम र उक्त प्रविधि सपोर्ट गर्ने मोबाइल आवश्यक पर्नेछ।
एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारले पुरानो प्रविधिलाई विस्थापित गरी नयाँ र प्रभावकारी प्रविधिमा रूपान्तरण गर्न थ्रीजी सेवा बन्द गर्ने निर्णय गरिएको बताइन्।
उनका अनुसार यसबाट पुराना प्रणालीको सञ्चालन तथा मर्मतसम्भार खर्च घट्नुका साथै फोरजी नेटवर्कको क्षमता र गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्नेछ। थ्रीजी सेवा बन्द भएपछि कम्पनीले भोल्टेसहितको फोरजी नेटवर्क थप सुदृढ बनाउन र भविष्यमा फाइभजी प्रविधि भित्र्याउन आवश्यक तयारी गर्न सक्ने उनको भनाइ छ।
थ्रीजी सेवा बन्द हुँदा कुनै पनि ग्राहक आधारभूत दूरसञ्चार सेवाबाट वञ्चित नहुने पनि कंसाकारले बताइन्। फोरजीमा अपग्रेड हुन बाँकी रहेका ग्राहकले टुजी नेटवर्कमार्फत आधारभूत भ्वाइस कल र एसएमएस सेवा प्रयोग गर्न सक्ने उनले स्पष्ट पारिन्।
एनसेलका अनुसार थ्रीजी सेवा बन्द भएपछि त्यसका लागि प्रयोग हुँदै आएको फ्रिक्वेन्सी फोरजी नेटवर्कलाई थप सुदृढ बनाउन पुनः प्रयोग गरिनेछ। यसले नेटवर्कको क्षमता बढाउनुका साथै कनेक्टिभिटी र सेवा गुणस्तर सुधार गर्न सहयोग पुग्ने अपेक्षा कम्पनीको छ।
हाल एनसेलको फोरजी सेवा नेपालको करिब ९५ प्रतिशत जनसंख्यामा पुगिसकेको छ। तर, कम्पनीका कुल सक्रिय ग्राहकको करिब ५ प्रतिशतले अझै फोरजी सिम प्रयोग गरेका छैनन्।
थ्रीजी सेवा बन्द हुँदा ग्राहकलाई पर्न सक्ने असुविधा कम गर्न कम्पनीले थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क फोरजी सिम उपलब्ध गराउँदै आएको छ। ग्राहकले नजिकैको एनसेल सेन्टर वा प्वाइन्ट अफ सेल्समा पुगेर आफ्नो सिम फोरजीमा अपग्रेड गर्न सक्नेछन्।
फोरजी सिम लिँदा ग्राहकले सात दिन समयसीमा भएको २ जीबी डेटा पनि निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।

