काठमाडौँ- प्रतिनिधि सभामा सत्तापक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू ‘भिजिट भिसा’ प्रकरणमा आमने-सामने भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनको कार्यक्रमका बहानामा नेपालबाट ‘मानव तस्करी’ भएको भेटिएको छ।
स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना भएको संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी गराउने नाममा सरकारी तहबाट नभएर गैरसरकारी क्षेत्रबाट कीर्ते कागजपत्र तयारी पारी मान्छेहरूलाई युरोप छिराउने धन्दा गर्ने समूह नै सक्रिय भएको पाइएको हो।
स्पेनको सेभियाको कार्यक्रममा सहभागी गराउन विभिन्न गैरसरकारी संस्थाका नाममा यस्ता कीर्ते कागजपत्र बनाइएको प्रमाण नेपाल क्लिक्सले फेला पारेको छ। यस्ता कागजातका प्रतिलिपि र अन्तराष्ट्रिय हवाई टिकटको कारोबार गर्ने आधिकारिक एजेन्टहरूसम्म पनि आइपुगेको ‘एयरलाइन्स अलर्ट’ भेटिएपछि हामीले यसबारे सोधखोज सुरु गरेका थियौँ।
जस्तोः हामीलाई प्राप्त कागजातमध्ये ‘समाज परिवर्तनका लागि एकता (सीएससी)’ नामक एउटा गैरसरकारी संस्थाले जनकबहादुर टमटा नामका व्यक्तिलाई स्पेनको कार्यक्रममा सहभागी हुन दिल्लिस्थित स्पेनी दूतावासलाई सिफारिसपत्र लेखेको छ (तस्बिरमा हेर्नुहोस्)। यो सिफारिसपत्रमा संस्थाका अध्यक्ष प्रदीप शर्माले हस्ताक्षर गरेका छन् भने त्यसमा उनको फोन नम्बर पनि उल्लेख छ।

स्पेनमा हुने कार्यक्रममा सहभागी हुन नेपालको एउटा संस्थाका नाममा तयार पारिएको नक्कली सिफारिसपत्र। र, शंकास्पद व्यक्तिहरुले भिसा पाएपछि एयरलाइन्सहरुले पाएको अलर्ट इन्फो।
सिफारिसपत्रमा उल्लेख भएको फोन नम्बरमा पटकपटक सम्पर्क गर्दा फोन उठेन। तर हामीले ‘तपाईँका विषयमा एउटा समाचार छ, अर्जेन्ट छ’ भनेर म्यासेज गरेपछि प्रदीप शर्माले अर्को कुनै नम्बरबाट नेपालक्लिक्स प्रतिनिधिलाई सम्पर्क गरे।
आफ्नो पुरा नाम प्रदीप शर्मा चौलागाईँ बताउने उनलाई हामीले सोध्यौं, ‘तपाई अध्यक्ष रहेको गैरसरकारी संस्था २०६३ सालमा दर्ता भएको भनिएको छ। तर संस्थाको वेबसाइट अहिले भर्खर बनाइएको छ। वेबसाइटमा संस्थाले कुनै गतिविधि गरेको उल्लेख छैन। यही संस्थाबाट स्पेनको कार्यक्रममा मिस्टर जगतबहादुर टमटालाई सिफारिस गरिएको छ, जब कि वेबसाइटमा यी अधिकृतबारे कहीँकतै केही उल्लेख छैन। कुरा के हो?’
हाम्रो प्रश्नपछि शर्माले भने, ‘सिफारिसपत्रमा भएको हस्ताक्षर मेरो होइन। सिफारिस गरिएको व्यक्तिलाई म चिन्दिनँ। मेरो एकजना चिनजानको साथीले तिम्रो संस्थाको वेबसाइट बनाइदिन्छु भनेर हालै मात्र बनाइदिएको हो।’ संस्था निष्क्रिय रहेको र आफू अहिले अरु काममा लागेको स्वीकारेका शर्माले वेबसाइट बनाइदिने व्यक्तिबाट कीर्ते भएको हुन सक्ने बताए। तर ती व्यक्तिका विषयमा जानकारी दिन मानेनन्।
शर्मासँग गरिएको कुराकानीका आधारमा हामीलाई उपलब्ध सिफारिसपत्र नेपालीलाई स्पेन पठाउन बनाइएको कीर्ते कागजातको एक हिस्सा हो भन्ने निष्कर्ष निस्कन्छ।
स्पेनमा आयोजना हुने राष्ट्रसंघीय कार्यक्रमभन्दा एक महिनाअघिदेखि नै यस्ता नक्कली सिफारिसपत्रसहित गिरोहका सदस्य र युरोप छिर्न चाहने दजनौँ नेपाली दिल्लीमा जम्मा हुन थालेका थिए। कतिपयले यस्तै कागजातका आधारमा दिल्लीस्थित स्पेनी दूतावासबाट भिसा पाएको बताइन्छ। नेपाल क्लिक्सलाई भिसा प्राप्त गरेका केही व्यक्तिका विवरण र भिसाका प्रतिलिपिहरु पनि प्राप्त भएका छन्।
यसबारे थप जानकारी लिन दिल्ली पहाडगञ्ज जहाँ नेपालीहरूको अलिक बाक्लो बसोबास र व्यवसाय छ, त्यहाँका एक नेपाली होटल व्यवसायीलाई हामीले सम्पर्क गरेका थियौँ। कुराकानीमा उनले भने, ‘दजनौं होइन सयौं नेपालीहरू युएनको कार्यक्रममा युरोप छिर्न भनेर यहाँ आएको साँचो हो। कतिपयले भिसा पनि पाए। तर पछिल्लो आवरमा भने स्पेनी दूतावासले नक्कली कागजातका कारण धेरैको आवेदन रद्द गरेको खबर हामीले पायौँ।’
उनका अनुसार दलालहरुले युरोप छिराउने भनेर प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँसम्म लिएका थिए।
‘यो धन्दाको वास्तविक रुप देख्न तपाई पत्रकारहरु यहाँ पहाडगञ्ज आउनुभयो भने थाहा हुन्छ। स्पेन जाने कार्यक्रममा मात्र होइन, युरोपमा हुने अरु कार्यक्रमहरुका लागि यस्ता धन्दाहरु हुन्छन्,’ उनले भने, ‘कतिपय दलालहरुले त सिफारिसका लागि लेटरहेड र छापसमेत बोकेर यहाँ आइपुग्छन्।’

नेपाल क्लिक्सले प्राप्त गरेका केही व्यक्तिका भिसा प्रतिलिपी।
नयाँदिल्लीस्थित स्पेनी दूतावासले विभिन्न गैरसरकारी संस्थाहरुका नाममा लेखिएका सिफारिसपत्रका आधारमा दर्जनौं संख्यामा एकैपटक नेपालीहरूबाट भिसा आवेदन परेपछि र त्यसका कागजातहरु शंकास्पद भएपछि ‘एयरलाइन्स अलर्ट’ जारी गरेको थियो।
अलर्टमा यतिम्म भनिएको छ कि, ‘एक शब्द पनि अंग्रेजी बोल्न नसक्ने र व्यावसायिक पृष्ठभूमि शंकास्पद भएपछि २९ जुनका २५ जना नेपाली भिसाधारीहरुलाई जहाजबाट निकालिएको अर्थात् अफलोड गरिएको छ।’ अलर्टमा, स्पेनमा आयोजना हुन गइरहेको राष्ट्रसंघीय कार्यक्रममा जान भनेर हिँडेका ती नेपालीहरूको कागजपत्र पनि नक्कली रहेको बताइएको छ।
