२०८३ जेठ २३ गते शनिवार

राष्ट्रिय ग्रिडसँग जोडिँदै मनाङ, ३३ अर्ब ३८ करोडमा बन्दै मनाङ-मर्स्याङ्दी जलविद्युत्‌ आयोजना

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २०
manang_marsyangdi

मनाङ: लघु जलविद्युत्‌‌बाट उत्पादित विद्युत्‌मा मात्रै निर्भर रहँदै आएको मनाङमा पहिलोपटक १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत्‌‌ आयोजना निर्माणसँगै राष्ट्रिय प्रसारण लाइनसँग जोडिने भएको छ।

मर्स्याङ्दी नदीको अथाह जलशक्तिलाई उपयोग गरी निर्माण गरिएको यस आयोजनाले देशको ऊर्जा उत्पादन, ऊर्जा सुरक्षा र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

निजी क्षेत्रबाट निर्माण भएका ठूला जलविद्युत्‌‌ आयोजनामध्ये एक यस आयोजना मनाङको नासोँ गाउँपालिका–८ र ९ नम्बर क्षेत्रमा निर्माण गरिँदैछ। ‘रन अफ रिभर’ प्रणालीमा आधारित यो आयोजनाले नदीको पानी बाँधमार्फत सङ्कलन गरी सुरुङबाट विद्युत्‌गृहसम्म पुर्‍याउने काम भइरहेको बुटवल पावर कम्पनीका निर्देशक प्रतीकमान प्रधानले जानकारी दिए।

नेपालमा जलाशययुक्त आयोजनाको तुलनामा रन अफ रिभर आयोजना निर्माण लागत कम हुने, वातावरणीय असर तुलनात्मक रूपमा कम पर्ने तथा छिटो निर्माण गर्न सकिने भएकाले यस्ता आयोजनालाई प्राथमिकता दिइँदै आएको उनले बताए।

यस आयोजनाको ग्रस ४३०.२० मिटर र हेडरेस टनेल ६.०७५ किलोमिटर रहेको निर्माण भएको बुटवल पावर कम्पनीले जनाएको छ। आयोजनामा २० प्रतिशत बिपिसी र चिनियाँ कम्पनीको ८० प्रतिशत लगानी रहेको छ। आयोजनामा नेपाली साझेदार बिपीसीले २० प्रतिशत र तीन चिनियाँ कम्पनी एससीआइजी इन्टरनेसनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्तामा क्युवाइसी इन्टरनेसनलले संयुक्त रूपमा ८० प्रतिशत सेयर स्वामित्व रहने गरी लगानीकर्ताबीच समझदारी भएको छ।

मनाङ मर्स्याङ्दी जलविद्युत्‌‌ आयोजनाको विकासका लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच चार वर्षमा आयोजना विकास तथा निर्माण सम्पन्न गर्ने गरी २०७९ पुस ३ गते सम्झौता भएको थियो। आयोजनाको कूल लागत रु ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ। आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिब रु एक अर्ब ३३ करोड स्वपुँजी लगानी गर्नेछ। आयोजनाले वार्षिक ७५ करोड नौ लाख ४८ हजार ८७५ युनिट विद्युत्‌ उत्पादन गर्ने लक्ष्य लिएको छ।

आयोजनाको एक प्रमुख कोशेढुङ्गा मानिने मर्स्याङ्दी नदी फर्काउने कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ। बाँध र संरचना निर्माण: चामे गाउँपालिका-३ कोतोमा मुख्य बाँध र जलाशय निर्माणको काम भइरहेको छ, जसको भौतिक प्रगति सन्तोषजनक रूपमा अघि बढेको छ।

बाह्य पहुँच मार्ग (सडक) निर्माण, बेँसीसहर-चामे सडक खण्डको ५० किमी स्तरोन्नति र आवश्यक पुलहरू राख्ने काम मुख्य रूपमा अघि बढाइएको छ। ६.०७५ किलोमिटर लामो हेडरेस सुरुङ खन्ने र अन्य हाइड्रो-मेकानिकल कामहरू विभिन्न चरणमा सञ्चालन भइरहेका छन्।

मर्स्याङ्दी नदीमा यसअघि पनि विभिन्न जलविद्युत्‌‌ आयोजना निर्माण भएका छन्। जसबाट तनहुँअन्तर्गत ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत्‌‌ आयोजना, लमजुङअन्तर्गत ७० मेगावाटको मध्य मर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जस्ता आयोजनाले यस नदीको ऊर्जा सम्भावना प्रमाणित गरिसकेका छन्। त्यही सम्भावनालाई थप उपयोग गर्दै मनाङ मर्स्याङ्दी जलविद्युत्‌‌ आयोजना विकास गरिएको छ।

निर्माण कार्य प्रारम्भ भएपछि पहुँच मार्ग निर्माण, सुरुङ खन्ने, बाँध संरचना बनाउने, विद्युत्‌गृह निर्माण गर्ने तथा प्रसारण लाइन विस्तार गर्ने काम एकसाथ सञ्चालन भइरहेको निर्देशक प्रधानले बताए। ‘हिमाली भूभागमा आयोजना निर्माण गर्नुपर्ने भएकाले प्राविधिक तथा भौगोलिक चुनौतीहरू प्रशस्त रहेका छन्। तर, चुनौतीको सामना गर्दै ऊर्जा उत्पादनलाई अगाडि बढाइएको हो,’ उनले भने।

नेपालको दुर्गम हिमाली जिल्ला मनाङको भौगोलिक बनोट जटिल छ। साँघुरा पहाडी सडक, पहिरोको जोखिम, हिमपात तथा कठोर मौसमले आयोजना निर्माणलाई कठिन बनाए पनि त्यसको सामना गर्दै कामलाई तीव्र बनाइएको उनको भनाइ छ।

विशाल आकारका टर्बाइन, जेनेरेटर तथा अन्य उपकरणहरू आयोजनास्थलसम्म पुर्‍याउन निकै चुनौतीपूर्ण रहेको र कतिपय अवस्थामा सडक स्तरोन्नति गरेर मात्र उपकरण ढुवानी गर्न सम्भव भएको प्रधानले जानकारी दिए। ‘सुरुङ निर्माणका क्रममा पनि भौगर्भिक जटिलता देखिएका थिए। कमजोर चट्टान, पानी चुहिने समस्या तथा पहिरोका कारण निर्माण अवधि लम्बिने जोखिम थियो। यद्यपि प्राविधिक टोलीले यी समस्याहरू समाधान गर्दै आयोजना निर्माणलाई निरन्तरता दिएका छन्,’ उनले भने।

जलविद्युत्‌‌ आयोजना निर्माणको प्रत्यक्ष प्रभाव स्थानीय अर्थतन्त्रमा पर्नेछ। आयोजना निर्माणका क्रममा सयौँ स्थानीयले रोजगारी पाएका छन् भने यहाँको यातायात, होटल, रेष्टुराँ तथा अन्य सेवा व्यवसायमा पनि आर्थिक गतिविधि बढेको छ। पर्यटकीय क्षेत्रको रूपमा रहेको मनाङमा जलविद्युत्‌‌ निर्माण अवधिमा स्थानीय बजारमा वस्तु तथा सेवाको माग बढेकाले व्यवसायीले लाभ लिन सकेका छन्। सडक पहुँच विस्तार भएसँगै स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन सहज भएको नासोँ गाउँपालिका–८ का वडाध्यक्ष याद घलेले बताए।

मनाङ मर्स्याङ्दी आयोजनाबाट स्थानीयवासीले आयोजना प्रभावित क्षेत्रका लागि थप पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी, स्थानीय युवालाई प्राथमिकताका साथ रोजगारी तथा स्थानीय उत्पादनको बजारीकरणमा सहयोगको अपेक्षा राखेका छन्।

जलविद्युत्‌‌ आयोजनाबाट प्राप्त रोयल्टी स्थानीय तहसम्म पुग्ने भएकाले दीर्घकालीन विकासका लागि त्यसको प्रभावकारी उपयोग पनि उत्तिकै महत्वपूर्ण रहेको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए। स्थानीय सरकारले रोयल्टीलाई शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन विकासमा लगानी गर्न सकेमा आयोजनाको लाभ अझ व्यापक बन्न सक्ने उनको भनाइ छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङ एकाइका प्रमुख ढकबहादुर भुजेलले भने, ‘स्थानीय सरकारसँगको समन्वयमा जलविद्युत्‌‌ आयोजना स्वच्छ ऊर्जा उत्पादनको स्रोत मानिए पनि यसका वातावरणीय प्रभाव पूर्ण रूपमा शून्य हुँदैनन्। नदीको प्राकृतिक बहावमा परिवर्तन आउँदा जलीय जैविक विविधतामा असर पर्न सक्छ।’

मर्स्याङ्दी नदीमा पानी मोडिएपछि केही खण्डमा नदीको बहाव कम हुने अवस्था आउन सक्छ। आयोजना निर्माणका क्रममा वन क्षेत्र, जैविक विविधता तथा स्थानीय पारिस्थितिक प्रणालीमा पर्ने असर न्यूनीकरणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनअनुसार विभिन्न उपाय अवलम्बन गरिएको उनको भनाइ छ।

प्रकाशित: २०८३ जेठ २० गते बुधबार ०३:४५
प्रतिक्रिया

थप समाचार

बाजुराको अपि गाउँपालिको सडक सञ्जालमा जोडियो

दार्चुला। अपि हिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ। खलङ्गाबाट २३ कोष उत्तर पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो। सडक सञ्जालबाट अझै नजोडिएका पालिकालाई जोड्ने उद्देश्यसहित...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब, ऊर्जा तथा उत्पादनमूलक क्षेत्रमा लगानीको दायरा बढाउँदै

काठमाडौं। जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने गरी प्राथमिकताका...

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब १० अर्ब लगानी, पीपीए नभए एक खर्ब डुब्ने

काठमाडौं। ऊर्जा उत्पादकहरुले हालसम्म जलविद्युत उत्पादनमा १३ खर्ब १० अर्ब रुपैयाँ बढी लगानी गरिसकेका छन्। यो लगानी स्वपुँजी र बैंक तथा वित्तीय संस्थाहरुबाट भएको हो। हालसम्म जडित क्षमता बढेर...

३० हजार मेगावाट लक्ष्यका लागि पीपीए तत्काल खुलाउन माग

कार्यक्रममा बोल्ने अधिकांश ऊर्जा उद्यमीहरूले इप्पानभित्र देखिएको विवाद समाधान गर्दै संस्थालाई थप एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले नेतृत्व चयन लोकतान्त्रिक प्रक्रियाबाट...

खिम्ती आयोजनाको स्वामित्व लिन प्राधिकरणले गर्यो वार्ता टोली पुनर्गठन

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले ६० मेगावाटको माथिल्लो खिम्ती जलविद्युत् केन्द्रको सेयर स्वामित्व हस्तान्तरण र आगामी दिनमा सञ्चालन तथा व्यवस्थापनका विषयमा छलफल अघि बढाउन बनेको वार्ता...
diwakar_poudel
आर्थिक नीति

मध्यपूर्वमा युद्धको राप र रेमिट्यान्सको भविष्य

मध्यपूर्वमा चुलिएको द्वन्द्वले त्यहाँ पसिना बगाइरहेका लाखौँ नेपालीको सुरक्षामा मात्रै प्रश्न उठाएको छैन, देशको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्समा समेत अनिश्चितताको बादल मडारिदिएको...
narayan_adhikari_poto
बैंकिङ

सस्तो पैसाको मूल्यः घरजग्गामा फसेको लगानी र बैंकिङ भविष्य

बैंकहरूको एनपीएल औसतमा ४–५ प्रतिशत पुग्नु भनेको वित्तीय प्रणालीका लागि चेतावनीको घण्टी मात्र होइन, यो शुद्धीकरणको अनिवार्य अवसर पनि हो । अब लालपुर्जा हेरेर होइन, व्यवसायको वास्तविक नगद प्रवाह...
pradhan
समाज

व्यवसायी ज्ञानेन्द्रलाल प्रधानको सहयोगमा बनेपामा वातावरणमैत्री शवदाह गृहको सञ्चालन

काठमाडौं। व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले बनेपमा सवदाह गृह निर्माण गरेका छन्। बनेपा नगरपालिकामा निर्माण गरिएको ‘रोटरी वातावरणमैत्री शवदाह गृह’ एक विशेष समारोहबीच हस्तान्तरण गरिएको छ।...
atharv
उद्योग

८३ करोड लगानीमा रौतहटमा अथर्व टेक्सटाइल सञ्चालनमा आउँदै, असारदेखि कपडा उत्पादन थाल्ने

रौतहटको हर्सहामा कारखाना रहेको छ। उद्योगको कपडा उत्पादन क्षमता वार्षिक तीन हजार ६०० टन हुनेछ। अथर्वले बुनाई, रंगाई र प्रशोधन एकाइ स्थापना गर्दैछ। जसमा कपडा उत्पादन गर्ने योजना छ।
photo
विचार

युवाहरूको आशा र मुलुकको नयाँ भविष्य

विगतका आन्दोलनहरूले राजनीतिक संरचनामा आमूल परिवर्तन त ल्याए, तर यी परिवर्तनका आर्थिक र सामाजिक फलहरू युवाहरूसम्म पूर्णरूपमा पुग्न सकेनन्। संस्थागत भ्रष्टाचार, कमजोर शासन व्यवस्था र पुरानो...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना