काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्।
एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य लिलेन्द्र प्रसाद प्रधानको सभापतित्वमा गठन गरेको समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरेको हो। महासंघले यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा निजी क्षेत्रका मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउन पौडेलको अनुभव उपयोगी हुने जनाएको छ।
पौडेल हाल नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव तथा अल्फा अटोमोटिभ प्रालिका निर्देशकका रूपमा अटोमोबाइल क्षेत्रमा सक्रिय छन्। उनी लामो समयदेखि अटोमोबाइल व्यवसाय, बजार विस्तार तथा नीतिगत विषयमा संलग्न रहँदै आएका छन्।
नेपालमा रोयल इन्फिल्डको बजार विस्तारको सुरुवाती चरणदेखि नै जोडिएका पौडेलले एउटा सोरुमबाट वार्षिक करिब ५० वटा मोटरसाइकल बिक्री हुने अवस्थादेखि हालको विस्तारित बजारसम्मको यात्रा नजिकबाट अनुभव गरेका छन्।
व्यवसायसँगै उनी अटोमोबाइल क्षेत्रका नीतिगत विषयमा समेत सक्रिय छन्। नाडामार्फत उनले कर तथा राजस्व नीति, एसेम्बली उद्योग, एमआरपी, व्यवसाय सञ्चालनको वातावरण, स्थानीय उत्पादन तथा पार्टपुर्जाको प्रयोगलगायतका विषयमा सरकार र सम्बन्धित निकायसँग हुने छलफलमा सहभागिता जनाउँदै आएका छन्।
नेपालको अटोमोबाइल उद्योगलाई दीर्घकालीन रूपमा विकास गर्न स्थानीय उत्पादन र एसेम्बली उद्योगको विस्तार, अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने स्वदेशी पार्टपुर्जाको प्रयोग तथा व्यवसायमैत्री नीतिगत वातावरण आवश्यक रहेको धारणा पौडेलले राख्दै आएका छन्।
नयाँ जिम्मेवारीसँगै पौडेलको भूमिका कम्पनी तथा ब्रान्डको व्यावसायिक गतिविधिमा मात्र सीमित नभई समग्र यातायात तथा पारवहन क्षेत्रका नीतिगत र व्यावसायिक विषयमा समेत केन्द्रित हुने भएको छ।
एफएनसीसीआईको यातायात तथा पारवहन समितिले यातायात व्यवसाय, पारवहन, व्यापार सहजीकरण तथा यस क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा निजी क्षेत्रको धारणा प्रस्तुत गर्दै आएको छ।
