काठमाडौँः तिहार बिदापछि खुलेको सेयर बजारमा लगानीकर्ताको उत्साह कमजोर देखिएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ।
शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २ हजार ६४८.७७ विन्दुमा झरेको छ।
बजारमा परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ। यस दिन ३३५ वटा कम्पनीका ७८ लाख ४४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा कुल ३ अर्ब ५ करोड ४२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ। अघिल्लो शुक्रबार बजारमा ३ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।
यस दिन कारोबारमा आएका कम्पनीमध्ये श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ। उक्त कम्पनीको मूल्य ७.५६ प्रतिशतले वृद्धि भएको हो। यसको विपरीत क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ९.५६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा घोराही सिमेन्ट इन्डस्ट्री शीर्ष स्थानमा रहेको छ। कम्पनीको शुक्रबार ४० करोड ७ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

