काठमाडौँ: विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले आफ्ना सबै बजारमा मोबिलिटी सेवाको सुरक्षा रणनीतिलाई एकीकृत र प्रभावकारी बनाउन रोमन जेम्ल्यान्स्कीलाई ग्लोबल हेड अफ सेफ्टी नियुक्त गरेको छ।
नवनियुक्त जेम्ल्यान्स्कीले कम्पनीका विभिन्न बजारमा सुरक्षा प्रविधिको विकास, सञ्चालन मापदण्डको सुधार तथा प्रभावकारी सुरक्षा अभ्यासको विस्तार गर्ने जिम्मेवारी सम्हाल्नेछन्। उनले कम्पनीका व्यावसायिक, उत्पादन तथा सञ्चालन टोलीसँगै सडक सुरक्षा संस्था र स्थानीय निकायहरूसँग समन्वय गरेर काम गर्नेछन्।
याङ्गो ग्रुपका अनुसार, नयाँ नियुक्तिसँगै जोखिमको पूर्वपहिचान, दुर्घटना रोकथाम र सुरक्षा प्रक्रियालाई थप व्यवस्थित बनाउने रणनीतिलाई प्राथमिकता दिइनेछ। विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, रुट निगरानी प्रणाली र चालकको पहिचान प्रमाणीकरण प्रक्रियालाई थप प्रभावकारी बनाइने कम्पनीले जनाएको छ।
याङ्गो ग्रुपका सीईओ तथा याङ्गो राइडटेकका सीबीओ एडेनीयी एडेबायोले जेम्ल्यान्स्कीको नियुक्तिले कम्पनीको दीर्घकालीन व्यावसायिक विकासमा सुरक्षाको महत्त्व थप बलियो बनाउने बताए। उनका अनुसार, प्रत्येक बजारमा उत्पादन विकासदेखि दैनिक सञ्चालनसम्म सुरक्षालाई प्राथमिकतामा राख्न नयाँ नेतृत्वले सहयोग पुर्याउनेछ।
कम्पनीले सुरक्षा सुधारको प्रभाव मापन गर्न गत सेप्टेम्बरमा आफ्नो पहिलो याङ्गो राइड सुरक्षा प्रतिवेदन सार्वजनिक गरेको थियो। उक्त प्रतिवेदनअनुसार विश्वभर प्रति १० लाख यात्रामा रिपोर्ट गरिएका गम्भीर ट्राफिक नियम उल्लङ्घनका घटना ३१ प्रतिशतले घटेका छन्। यसअघि ९.८३ रहेको उक्त संख्या घटेर ६.७६ मा पुगेको कम्पनीले जनाएको छ।
याङ्गोले सुरक्षा रणनीतिअन्तर्गत चालक तथा कुरियरलाई तालिम दिने, मोटरसाइकल सेवाका लागि हेल्मेट र सुरक्षात्मक सामग्री उपलब्ध गराउने तथा स्थानीय निकायसँग सहकार्य गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ। पाकिस्तान, नेपाल, सेनेगल, कोलम्बिया र भेनेजुएलालगायतका देशमा सयौँ हेल्मेट वितरण गरिएको कम्पनीको भनाइ छ।
त्यसैगरी, जाम्बियाको लुसाकामा जाम्बिया रोड सेफ्टी ट्रस्टसँगको सहकार्यमा सञ्चालन गरिएको ‘सेफर जर्नीज टु स्कुल’ कार्यक्रममार्फत २० विद्यालयका ३२ हजार विद्यार्थीलाई सडक सुरक्षा शिक्षा प्रदान गरिएको छ। कार्यक्रमलाई सेनेगलसम्म विस्तार गरिएको छ भने अफ्रिकाका अन्य देशमा समेत सञ्चालन गर्ने तयारी भइरहेको छ।
नवनियुक्त ग्लोबल हेड अफ सेफ्टी जेम्ल्यान्स्कीले सम्भावित जोखिमको पूर्वपहिचानका लागि प्रविधिको प्रयोग, सुरक्षा प्रक्रियाको सुदृढीकरण र सडक सुरक्षामा स्थानीय निकाय तथा संस्थासँगको सहकार्यलाई मुख्य प्राथमिकता बनाउने बताएका छन्।
जेम्ल्यान्स्कीले विगत पाँच वर्षदेखि राइड हेलिङ सेवामा सुरक्षा प्रविधिसम्बन्धी काम गर्दै आएका छन्। उनले टेक्निकल प्रोडक्ट म्यानेजरबाट करियर सुरु गरी हेड अफ सेफ्टी टेक्नोलोजीजसम्मको जिम्मेवारी सम्हालेका छन्। चालक तथा कुरियरको पहिचान प्रमाणीकरण, खाता सुरक्षा र सुरक्षा मापदण्डको मूल्याङ्कनमा समेत उनीसँग अनुभव छ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा मुख्यालय रहेको याङ्गो ग्रुप विश्वव्यापी प्रविधि कम्पनी हो। कम्पनीले मोबिलिटी, डेलिभरी, फुडटेक, मनोरञ्जनलगायतका डिजिटल सेवा अफ्रिका, ल्याटिन अमेरिका, युरोप, मध्यपूर्व र दक्षिण एसियासहित ३५ भन्दा बढी देशमा सञ्चालन गर्दै आएको छ।

