काठमाडौँः नेपाली बजारमा संख्याका हिसाबले सबैभन्दा धेरै ५ रुपैयाँका नोट चलनचल्तीमा छन्। तर बजारमा रहेको कुल नगद रकमको झन्डै ७० प्रतिशत हिस्सा भने १ हजार रुपैयाँ दरका नोटले ओगटेको छ।
नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापनसम्बन्धी तथ्यांकअनुसार २०८३ असार मसान्तसम्म ३ अर्ब ५६ करोड २ लाख ५१ हजार ३५२ थान बैंकनोट चलनचल्तीमा छन्। यी नोटको कुल मूल्य ८ खर्ब ७ अर्ब ६९ करोड रुपैयाँ बराबर छ।
चलनचल्तीमा रहेका नोटमध्ये ५ रुपैयाँ दरका नोट सबैभन्दा धेरै ७९ करोड ४६ लाख ८० हजार २८४ थान छन्। कुल नोट संख्याको २२.३२ प्रतिशत हिस्सा पाँच रुपैयाँका नोटले ओगटेका छन्।
त्यस्तै, १० रुपैयाँ दरका ५९ करोड ५४ लाख ६८ हजार ८६ थान नोट चलनचल्तीमा छन्। कुल संख्याको १६.७३ प्रतिशत हिस्सा १० रुपैयाँका नोटले ओगटेका छन्।
संख्याका हिसाबले तेस्रो स्थानमा १ हजार रुपैयाँ दरका नोट छन्। बजारमा ५५ करोड ४६ लाख ५४ हजार ६१४ थान हजारका नोट चलनचल्तीमा छन्। कुल नोट संख्याको १५.५८ प्रतिशत हिस्सा हजारका नोटले ओगटेका छन्।
नगद मूल्यको ९२ प्रतिशत हिस्सा ठूला नोटमा
नोटको संख्या र कुल रकमलाई तुलना गर्दा बजारमा ठूला दरका नोटको प्रभाव देखिन्छ। चलनचल्तीमा रहेको कुल ८ खर्ब ७ अर्ब ६९ करोड रुपैयाँमध्ये १ हजार दरका नोटको मूल्य ५ खर्ब ५४ अर्ब ६५ करोड रुपैयाँ छ। यो कुल नगद मूल्यको ६८.६७ प्रतिशत हो।
त्यस्तै, ५०० रुपैयाँ दरका नोटको मूल्य १ खर्ब ८८ अर्ब १६ करोड रुपैयाँ छ। कुल नगद मूल्यको २३.३० प्रतिशत हिस्सा पाँच सयका नोटले ओगटेका छन्।
हजार र पाँच सय दरका नोट मात्रै जोड्दा चलनचल्तीमा रहेको कुल नगद मूल्यको ९१.९७ प्रतिशत हिस्सा हुन्छ। अर्थात् बजारमा नोटको संख्या धेरै साना दरका भए पनि कुल रकमको अधिकांश हिस्सा ठूला दरका नोटमा केन्द्रित छ।
बाँकी रकममा १०० रुपैयाँ दरका नोटको हिस्सा ४.१७ प्रतिशत, ५० रुपैयाँ दरका नोटको १.६२ प्रतिशत, २० रुपैयाँ दरका नोटको ०.९५ प्रतिशत र १० रुपैयाँ दरका नोटको ०.७४ प्रतिशत छ।
एक वर्षमा ४६ अर्बभन्दा बढीका नयाँ नोट बजारमा
बजारमा नगदको माग व्यवस्थापन गर्न राष्ट्र बैंकले आर्थिक वर्ष २०८२÷८३ मा ४६ अर्ब १० करोड १५ लाख रुपैयाँ बराबरका नयाँ नोट चलनचल्तीमा पठाएको छ। विभिन्न दरका ८ करोड ४२ लाख ५० हजार थान नयाँ नोट निष्कासन गरिएको राष्ट्र बैंकले जनाएको छ।
नयाँ नोट निष्कासनमा रकमका हिसाबले ५०० रुपैयाँ दरका नोट अग्रस्थानमा छन्। ५०० दरका १ हजार २१० बाकस अर्थात् ३० अर्ब २५ करोड रुपैयाँ बराबरका नोट बजारमा पठाइएको छ।
त्यस्तै, १ हजार दरका २१४ बाकस अर्थात् १० अर्ब ७० करोड रुपैयाँ बराबरका नोट बजारमा पठाइएको छ।
तर, बाकस संख्याका हिसाबले ५ रुपैयाँ दरका नोट सबैभन्दा बढी पठाइएको छ। ५ रुपैयाँ दरका १ हजार २४२ बाकस अर्थात् ३१ करोड ५ लाख रुपैयाँ बराबरका नोट बजारमा पठाइएको हो।
ढुकुटीमा ८८ अर्बका नयाँ नोट मौज्दात
नोट बजारमा पठाउने क्रमसँगै राष्ट्र बैंकले नयाँ नोटको मौज्दात पनि कायम राखेको छ। २०८३ असार मसान्तमा राष्ट्र बैंकको ढुकुटीमा ८८ अर्ब १४ करोड ८ लाख ५० हजार रुपैयाँ बराबरका नयाँ नोट मौज्दात छन्।
यसअघि २०८२ असार मसान्तमा यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख रुपैयाँ थियो। २०८१ असार मसान्तमा भने १ खर्ब ४५ अर्ब ७ करोड रुपैयाँ बराबरका नयाँ नोट मौज्दात थिए।
बजारमा नयाँ नोट पठाउने मात्रै होइन, चलनचल्तीका लागि अयोग्य बनेका नोट हटाउने प्रक्रिया पनि राष्ट्र बैंकले निरन्तर गर्दै आएको छ।
आर्थिक वर्ष २०८२/८३ मा मात्रै १६ करोड २ लाख ६१ हजार ३२४ थान नोट धुल्याइएको छ। यी नोटको मूल्य २० अर्ब ७ करोड ४ लाख रुपैयाँभन्दा बढी छ।
संख्याका हिसाबले १० रुपैयाँ दरका नोट सबैभन्दा धेरै धुल्याइएको छ। रकमका हिसाबले भने ५०० रुपैयाँ दरका नोट सबैभन्दा धेरै धुल्याइएको छ।
राष्ट्र बैंकले सफा नोट नीति कार्यान्वयन गर्दै चाडपर्वमा समेत नयाँ नोटको सट्टा सुकिलो नोट व्यवस्थापन गर्ने नीति अपनाएको छ। नोटको गुणस्तर, सुरक्षा र आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन नोटकोष व्यवस्थापन निर्देशिका, २०८२ जारी गरी नोटकोषहरूको निरीक्षण तथा अनुगमनसमेत गर्दै आएको छ।

