काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई चितवन राइनोजले १३४ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको हो। चितवनका लागि इंग्लिस ब्याटर डेभिड मलानले अर्धशतकीय इनिङ्स खेले। उनले ३८ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए।
मलानको अर्धशतकसँगै यस सिजन एनपीएलमा अर्धशतकको संख्या २६ पुगेको छ। प्रतियोगितामा अहिलेसम्म दुई शतकसमेत प्रहार भएका छन्।
यस सिजन सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक तीन अर्धशतक बनाएका छन्। पोखरा एभेन्जर्सका कुशल भुर्तेल, युवराज सामरा, चितवनका रवि बोपारा, काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले समान दुई–दुई अर्धशतक प्रहार गरेका छन्।
त्यस्तै विराटनगरका इमरान शेख, आन्द्रे रसेल र चरिथ असलंकासहित विभिन्न टोलीका खेलाडीले एक–एक अर्धशतक बनाएका छन्।
यस सिजन शतक प्रहार गर्ने खेलाडीमा पोखरा एभेन्जर्सका युवराज सामरा र चितवन राइनोजका कामिल मिशारा रहेका छन्।
अब १३४ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिने सुदूरपश्चिमसामु चितवनले दिएको लक्ष्य पूरा गर्दै फाइनल यात्रा सुरक्षित गर्ने चुनौती छ।

