काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप र निजी क्षेत्रमा प्रवाहित कर्जा दुवै बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप २.८ प्रतिशत वृद्धि भई ८५ खर्ब ९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा निक्षेप २ खर्ब ३२ अर्ब ८९ करोड रुपैयाँ बढेको हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ३ प्रतिशत अर्थात् २ खर्ब १८ अर्ब ७२ करोड रुपैयाँ बढेको थियो। वार्षिक विन्दुगत आधारमा भने २०८३ असोजमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३.७ प्रतिशत वृद्धि भएको छ।
निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा पनि बढेको छ। समीक्षा अवधिमा निजी क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशत अर्थात् १ खर्ब ८४ अर्ब १९ करोड रुपैयाँले वृद्धि भई ६० खर्ब ४१ अर्ब २५ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।
चालू आर्थिक वर्षमा राष्ट्र बैंकले ११ प्रतिशत कर्जा विस्तार हुने प्रक्षेपण गरेको छ।
अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फको कर्जा १.५ प्रतिशत अर्थात् ८२ अर्ब ९३ करोड रुपैयाँले मात्रै बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८३ असोज मसान्तमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.३ प्रतिशतले बढेको छ।
निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रले ६२.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रले ३७.१ प्रतिशत हिस्सा ओगटेका छन्। अघिल्लो वर्षको सोही महिनामा यी क्षेत्रको हिस्सा क्रमशः ६२.८ प्रतिशत र ३७.२ प्रतिशत थियो। यसले कर्जाको क्षेत्रगत संरचनामा खासै ठूलो परिवर्तन नभएको देखाउँछ।
बैंक तथा वित्तीय संस्थाको प्रकारअनुसार समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा ३.२ प्रतिशत र विकास बैंकहरूको कर्जा ३.१ प्रतिशतले बढेको छ। तर, वित्त कम्पनीहरूको कर्जा भने १.२ प्रतिशतले घटेको छ।
घरजग्गा धितोमा ६२.७ प्रतिशत कर्जा
बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जाको ठूलो हिस्सा अझै पनि घरजग्गा धितोमा केन्द्रित रहेको छ। २०८३ असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जामध्ये घरजग्गा धितो सुरक्षणमा प्रवाहित कर्जाको हिस्सा ६२.७ प्रतिशत रहेको छ।
चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा प्रवाहित कर्जाको हिस्सा १५.५ प्रतिशत छ।
अघिल्लो वर्षको सोही अवधिमा घरजग्गा धितोमा आधारित कर्जाको हिस्सा ६४.३ प्रतिशत र चालु सम्पत्तिको सुरक्षणमा आधारित कर्जाको हिस्सा १५ प्रतिशत थियो। यसअनुसार घरजग्गा धितोमा आधारित कर्जाको हिस्सा घटेको देखिए पनि कुल कर्जामा यसको हिस्सा अझै उच्च छ।
क्षेत्रगत रूपमा समीक्षा अवधिमा खनिज क्षेत्रमा प्रवाहित कर्जा सबैभन्दा बढी १७.८ प्रतिशत बढेको छ। त्यस्तै, यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रमा १२.४ प्रतिशत र धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रमा १०.७ प्रतिशत कर्जा वृद्धि भएको छ।
सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ५.४ प्रतिशत, सेवा उद्योगमा ३.९ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ३.९ प्रतिशत, यातायात तथा निर्माण क्षेत्रमा ३.८ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रमा २.३ प्रतिशतले कर्जा बढेको छ। उपभोग्य क्षेत्रमा पनि कर्जा २.३ प्रतिशतले वृद्धि भएको छ।
तर, कृषि क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा प्रवाहित कर्जा ०.७ प्रतिशतले घटेको छ।
कर्जाको प्रकृतिअनुसार विपन्न वर्ग कर्जा १५.१ प्रतिशतले बढेको छ। त्यस्तै, माग तथा अन्य चालू पुँजी कर्जा ५.२ प्रतिशत, रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.५ प्रतिशत, ट्रस्ट रिसिट (आयात) कर्जा २.९ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा २.९ प्रतिशत र आवधिक कर्जा २.६ प्रतिशतले बढेको छ। अधिविकर्ष कर्जा १.५ प्रतिशत र हायर पर्चेज कर्जा १.२ प्रतिशतले बढ्दा क्यास क्रेडिट कर्जा भने १.८ प्रतिशत घटेको छ।
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप र कर्जा दुवैको ब्याजदर अघिल्लो वर्षको तुलनामा घटेको छ। २०८३ असोज मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ६.३१ प्रतिशत कायम भएको छ। अघिल्लो वर्षको असोजमा यस्तो ब्याजदर ७.५० प्रतिशत थियो।
त्यस्तै, विकास बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.५९ प्रतिशत र वित्त कम्पनीहरूको ८.३७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा विकास बैंकहरूको कर्जाको ब्याजदर ८.७७ प्रतिशत र वित्त कम्पनीहरूको १०.१८ प्रतिशत थियो।
निक्षेपको ब्याजदर पनि घटेको छ। समीक्षा अवधिमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.०७ प्रतिशत रहेको छ।
अघिल्लो वर्ष यस्तो ब्याजदर ३.८५ प्रतिशत थियो। विकास बैंकहरूको निक्षेपको ब्याजदर ४.४५ प्रतिशतबाट घटेर ३.४४ प्रतिशत र वित्त कम्पनीहरूको ५.६२ प्रतिशतबाट घटेर ३.९७ प्रतिशतमा झरेको छ।
बैंकहरूको आधार दरमा पनि गिरावट आएको छ। २०८३ असोज मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ४.६९ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर ५.५६ प्रतिशत थियो। विकास बैंकहरूको आधार दर ७.९२ प्रतिशतबाट घटेर ६.६५ प्रतिशत र वित्त कम्पनीहरूको ८.४८ प्रतिशतबाट घटेर ६.७४ प्रतिशतमा झरेको छ।
सरकारी ऋणपत्रअन्तर्गत ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर पनि घटेको छ। २०८२ असोज मसान्तमा १.९१ प्रतिशत रहेको यस्तो ब्याजदर २०८३ असोज मसान्तमा १.०१ प्रतिशतमा झरेको छ।
त्यस्तै, अघिल्लो वर्षको असोज मसान्तमा २.५८ प्रतिशत रहेको भारित औसत अन्तरबैंक दर समीक्षा अवधिमा २.७५ प्रतिशत पुगेको छ।

