काठमाडौं। भारतका सबैभन्दा धनी गौतम अदानीले नेपालमा दर्ता भएको एक भारतीय कम्पनीको स्वामित्व खरिद गरेका छन्। उनले भारतको ठूलो व्यवसायिक समूह जेपी समूहले नेपालमा सञ्चालन गरिरहेको जयप्रकाश एसोसियट्स लिमिटेडको स्वामित्व खरिद गरेका हुन्।
स्वामित्व खरिदसँगै कम्पनीको नाम परिवर्तन गरि अदानी इन्फ्रास्ट्रक्चर इन्ट्रिगेटेड सलुसन्स लिमिटेड राखिएको छ। नेपालका कम्पनी रजिष्टार कार्यालयले कम्पनीको नाम परिवर्तनलाई स्वीकृति दिएको छ।
जयप्रकाश एसोसियट्स नेपालमा जलविद्युत आयोजनामा निर्माण व्यवसायीको रुपमा काम गर्दै आएको थियो। जयप्रकाश एसोसियट २०७४ मंसिर १९ मा नेपालको कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको थियो।
भारतको नेसनल कम्पनी ल ट्रिब्युनल अलाहवाद प्रयागराज वेन्चको आदेशबमोजिम जयप्रकाश एसोसियट्सको सबै स्वामित्व अदानी इन्फ्रास्ट्रक्चरले लिने निर्णय भएपछि नेपालमा पनि स्वामित्व परिवर्तन भएको हो। गत कात्तिक १९ मा साविक कम्पनीको नाम परिवर्तन भई जयप्रकाश एसोसियट्सको सबै दायित्व अदानी इन्फ्रास्ट्रक्चरले सकार्ने जानकारी दिएको छ।
जयप्रकाश एसोसियट्स व्यावसायिक गतिविधिहरू इन्जिनियरिङ तथा निर्माण, सिमेन्ट, रियल इस्टेट, ऊर्जा, हस्पिटालिटी (आतिथ्य सेवा), खानी उत्खनन् र पूर्वाधार विकासजस्ता विविध क्षेत्रमा फैलिएका थिए।
सन् २०२४ जुनमा नेसनल कम्पनी ल ट्रिब्युनलले इन्सोल्भेन्सी एण्ड बैंकरप्सी कोडअन्तर्गत जयप्रकाश एसोसियट्सलाई ‘कर्पोरेट इन्सोल्भेन्सी रिजोलुसन प्रोसेस’मा समावेश गरेको थियो। नोभेम्बर २०२५ मा, कमिटी अफ क्रेडिटर्सले अदानी इन्टरप्राइजेज लिमिटेडद्वारा प्रस्तुत गरिएको रिजोलुसन प्लानलाई अनुमोदन गरेको थियो।
जसलाई पछि मार्च २०२६ मा नेसनल कम्पनी लबाट स्वीकृति प्राप्त भएको अदानीले जनाएको छ। जयप्रकाश एसोसियटद्वारा २०२६ मे २१ मा स्टक एक्सचेन्जमा गरिएको सूचनामार्फत उक्त स्वीकृत रिजोलुसन प्लान कार्यान्वयनमा ल्याइएको जनाएको थियो। सोही योजनाअनुसार नेपालमा पनि कम्पनीको स्वामित्व र नाम परिर्तन भएको हो।
भारतको उत्तरप्रदेशको नोयडामा केन्द्रीय कार्यालयल रहेको छ। जयप्रकाश एसोसियट सन् १९९५ मा स्थापना भएको हो। कम्पनीको चुक्ता पुँजी १ करोड भारु छ।
यसअघि प्रसारण लाइनलगायत अन्य पूर्वाधारमा लगानी गर्न अदानी समूहले चासो देखाएको थियो। नेपालको कानून देखाएर अदानी पन्छिएको थियो। जयप्रकाश एसोसियट कम्पनी खरिद गरेकाले नेपालमा अदानी आउने संभावना बढेको छ।
अदानी समूहको भारतमा एयरपोर्ट, बन्दरगाहलगायत ठूला पूर्वाधारमा लगानी गरिरहेको छ। अदानीको लगानी भारतमा मात्र नभएर विदेशमासमेत ठूलो लगानी रहेको छ। अदानी समूहका अध्यक्ष गौतमको कूल सम्पत्ति १ खर्ब १९ अर्ब डलर छ।

