काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘फ्रि हेल्थ पोर्टल’ सञ्चालनमा ल्याएको छ। जसमा विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि अस्पतालहरूले छुट्याउनुपर्ने १० प्रतिशत शैय्या(बेड) निःशुल्क उपलब्ध हुने भएका छन्।
यो सेवा निजी अस्पतालमा पनि उपलब्ध हुनेछ। सेवा लिनका लागि विवरण पनि सजिलै हेर्न सकिन्छ। जसमा हरेक प्रदेशमा रहेका अस्पताल, त्यहाँ उपलब्ध कुल शैय्या, त्यसमध्ये नि:शुल्क उपचारका लागि उपलब्ध शैय्या छुट्याइएको हुन्छ। नि:शुल्क शैय्यामध्ये कतिवटामा अन्य व्यक्तिले सुविधा लिइरहेका छन् र कति खाली छन् भन्ने पनि अनलाइनबाटै हेर्न सकिन्छ।
नेपालको संविधान २०७२ को धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने संवैधानिक व्यवस्था रहेको छ। साथै नेपाल सरकारको स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ को दफा ७० घ मा ‘अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, वेवारिसे विरामीका लागि कुल शैय्याको १० प्रतिशत शैय्या छुट्याई नि:शुल्क उपचार अनिवार्य रुपमा उपलव्ध गराउनु पर्नेछ’ भन्ने व्यवस्था रहेको छ।
उक्त व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने उद्देश्यले अस्पतालहरुमा निःशुल्क उपचार सेवा प्रभावकारी, पहुँच योग्य र पारदर्शी बनाउने उद्देश्यले अनलाइन प्रणालीको विकास गरिएको हो। उक्त प्रणालीमा अनिवार्य जोडिन अस्पतालहरूलाई मन्त्रालयले निर्देशन दिएको छ।
हालसम्म उक्त अनलाइन प्रणालीमा देशभरका ४५ अस्पताल जोडिएका छन्।
ती अस्पतालहरूमा कुल ६ हजार ७०४ वटा शैय्या रहेकोमा ७६२ शैय्या विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि छुट्याइएको छ। हाल ७ वटा शैय्यामा मात्रै विपन्न, असहाय तथा बेवारिसे बिरामीको उपचार भैरहेकोमा ७५५ वटा शैय्या खाली छन्।
उक्त सेवा विपन्न बिरामीले अस्पतालमा रहेको सामाजिक सेवा इकाइमार्फत सेवा लिन सक्छन्। उपचार सेवा लिनका लागि विपन्न भएको सिफारिस स्थानीय तहबाट बनाउनुपर्ने हुन्छ। त्यसैको आधारमा स्वास्थ्य संस्थाबाट विपन्न र असहायले स्वास्थ्य सेवा पाउने छन्।
सेवा लिनका लागि कुन अस्पतालमा कति शैय्या खाली छन् भनेर https://freehealth.mohp.gov.np/ बाट हेर्न सकिन्छ।


