२०८३ कार्तिक ११ गते मङ्गलबार

जहाँ संकट, त्यहाँ अम्बिका

 |  काशीराम बजगाई
Sanket

काशीराम बजगाई

काठमाडौँ, कार्तिक ११
ambika

तीन दशकअघि भारतको गोरखपुरमा तनक्क तन्किएर नापिँदा उनको छाती केही इन्च फराकिलो भइदिएको भए वा काठमाडौँमा प्रहरीको बेरिङ परीक्षामा जोखिँदा शरीरको तौल ५० पार भइदिएको भए, आज नेपाली पुँजी बजार र व्यावसायिक वृत्तले अम्बिकाप्रसाद पौडेल नामको साहसी हस्ती पाउने थिएन।

पौडेल दुईपटक भारत पुगे, पहिलोपटक इन्डियन आर्मीको सिपाही बन्न र दोस्रोपटक क्लर्क। तर दुवैपटक उनको छाती नापेर भनियो, ‘अनफिट !’ प्रवीणता प्रमाणपत्र तह पढेर भारतीय आर्मीमा भर्ती हुन पुगेका उनी असफल भएर काठमाडौँ फर्किए। सेना र नेपाल प्रहरीमा भर्ती हुने तयारी गरे। त्यहाँ पनि उनी तौल नपुगेर ‘फिट’ भएनन्।

युवावस्थामा अम्बिका

यदि उनी त्यसवेला ‘फिट’ भइदिएको भए उनको जीवनले कता कुन मोड लिन्थ्यो उनलाई थाहा छैन। तर ‘अनफिट’ भनेर अस्वीकृत भएकै कारण उनको जीवन अहिले ‘फिट’ भएको छ। भन्छन्, ‘म छातीले धोका दिएको मान्छे हुँ। तर सानो छाती भएकैले आज म अम्बिकाप्रसाद भएँ। जीवनमा केही बन्न ठूलो सोच राख्नुपर्ने रहेछ, ठूलो छाती नचाहिने रहेछ।’

सुरक्षित जागिरको खोजीमा सरकारी सेवा प्रवेश गरेका उनको मन भने त्यहीँ थामिएन। सेयर बजारको खेलाडी बन्ने आधारशिलाबारे सम्झिँदै उनी भन्छन्, ‘मेरो आधार बचेको सेभिङ मनी हो, व्यावसायिक फाउन्डेसन त होइन नि। जागिर गर्दै २–५ हजार बचाएर आईपीओ भर्न थालेँ।’

तर अम्बिकाप्रसादको व्यवसायतर्फको रुचि गोरखपुरको रेल र काठमाडौँको ‘ट्रली’ बस चढेर होइन, त्योभन्दा धेरै पहिले स्याङ्जाको दरौँ सिरुबारीमा ‘डेबिट–क्रेडिट’को हिसाब सिक्दै सुरु भइसकेको थियो। ९–१० कक्षामा पढेको ‘कार्यालय सञ्चालन’, ‘लेखा’, ‘ग्रामीण अर्थशास्त्र’ले उनी वित्त क्षेत्रतर्फ आकर्षित भएका थिए। कतिपय अग्रज दाइहरू यो क्षेत्रतर्फ पाइला चाल्नका लागि उनका मार्गदर्शक बने।

४६ सालको आन्दोलनताका उनी एसएलसी सकेर पोखरामा आईकम प्रथम वर्षमा भर्ना भएका थिए। गाउँमा बुझेर म्यानेजमेन्ट पढ्ने र विषय छान्ने भन्ने थिएन। सिनियर दाइहरूकै संगतले उनलाई पनि काठमाडौँ गएर ब्याचलर्स पढ्नुपर्छ भन्ने हुटहुटी लाग्यो। अनि काठमाडौँ आइपुगे उनी। त्यसवेला घरबाट पैसा मागेर आईकम पढ्दा ठूलो प्रेसर थियो अम्बिकालाई। अनि, काठमाडौँ आएर जागिर पनि गर्ने र सँगै पढाइ पनि जारी राख्ने सोचसहित उनी काठमाडौँ आएका रहेछन्।

त्यसवेला स्याङ्जाबाट मान्छेहरू कि पढेर सरकारी पेसामा लाग्थे, कि जुम्ला–मुस्ताङतिर काम खोज्न जान्थे। ६ दिदीबहिनी र ३ दाजुभाइसहितको ठूलो परिवारमा हुर्किएका उनलाई पनि जागिर खान दबाब त थियो। त्यसैले पनि उनी अवसरको खोजीमा काठमाडौँ हान्निएका थिए। ‘मास्टरभन्दा आर्मी हुन्छु भनेर भारत गएँ, तर अस्वीकृत भएँ। बुवासँग ५ हजार रुपैयाँ मागेर काठमाडौँ छिरेँ। काठमाडौँ आएको तीन–चार महिनामा एउटा कार्पेट गार्मेन्टमा अकाउन्टेन्टको जागिर पाएँ,’ उनी सम्झिन्छन्, ‘५०–५१ सालतिर कार्पेट गार्मेन्टमा ठूलो अवसर थियो। जागिर खाएपछि मेरो जीवन स्थिर भयो। मलाई खान बस्न पुग्ने पैसा भयो।’

उनी बिहान कलेज जान्थे। दिउँसो काममा जान्थे। यसरी अन्त कतै नअल्झिइकन उनले त्यसपछि जागिर गर्दै बीकम र त्यसपछि एमबीए गरे।

सिनियर दाइहरू कोही राष्ट्र बैंक त कोही कता जागिरे भइसकेका थिए। गार्मेन्टमा राम्रो कमाइ भए पनि जिन्दगीमा सुरक्षित पेशा चाहिन्छ, त्यो भनेको सरकारी जागिर नै हो भन्ने आम मानसिकताजस्तै सोच उनमा पनि आयो। उनी लोकसेवा पढ्न थाले। २०५५ सालमा लेखा अधिकृतमा नाम निकाले। काभ्रेमा पोस्टिङ भयो। कान्छो अफिसरका रूपमा साढे ४ वर्ष कोलेनिकामा काम गरे। आरोह अवरोहका चक्रहरू चले। पछि शिक्षा विभागमा रहेर काम गरे।

सुरक्षित जागिरको खोजीमा सरकारी सेवा प्रवेश गरेका उनको मन भने त्यहीँ थामिएन। सेयर बजारको खेलाडी बन्ने आधारशिलाबारे सम्झिँदै उनी भन्छन्, ‘मेरो आधार बचेको सेभिङ मनी हो, व्यावसायिक फाउन्डेसन त होइन नि। जागिर गर्दै २–५ हजार बचाएर आईपीओ भर्न थालेँ।’

आईपीओ भर्दै जाँदा अलिअलि बचत हुँदै गएपछि उनी दोस्रो बजारमा पनि प्रवेश गरे। कार्पेट गार्मेन्टमा काम गर्दा तिब्बती मूलका आफ्ना साहूले ठमेलमा जमाएको व्यावसायिक वर्चस्व देखेर उनलाई व्यापार गर्नुपर्छ भन्ने लागेको थियो। तर जागिरे भएपछि क्यापिटल मार्केटले ज्यादा आकर्षित गर्‍यो।

अध्ययन सँगै स्रोतले मान्छेलाई अझ ज्यादा दूरदर्शी बनाउने विश्वास उनी राख्छन्। ‘त्यसवेला त मैले दायरा बढाउनै सकेको रहेनछु नि,’ उनी आफ्नो दायरा दोस्रो बजारमा छिरेपछि परिपक्व हुँदै गएको ठान्छन्, ‘११ वर्ष जागिर खाएपछि ०६५ सालमा सेवा अवधि नपुगी उपदानमा निस्किएँ, मैले पेन्सन खाइनँ।’

स्याङ्जाली समाजमा सरकारी जागिरको सम्मोहन र आकर्षणका कारण पनि उनले जागिर छाड्दा आफन्त÷साथीभाइ सबैले तत्काल जागिर नछाडिहाल्न सुझाव दिएका थिए। अध्ययन बिदा लिन अग्रजले सुझाएका थिए। तर सेयर बजारमा उनी स्थापित भइसकेका थिए। सेयर बजारका चर्चित हस्तीहरूसँग उठबस हुन थालिसकेकोे थियो। आत्मविश्वास थियो। अनि दुई डुङ्गामा खुट्टा राखेर यात्रा गर्नुभन्दा सरकारी जागिरको च्याप्टर क्लोज गरेर सम्पूर्ण ऊर्जा पुँजीबजारमा लगाउनु उत्तम हुने ठाने।

पुँजीबजारका चर्चित खेलाडी, अनुभवी उद्यमी, बैंकर, व्यावसायिक व्यक्तित्वहरू मिलेर सञ्चालन गरेको संस्था अढाई–तीन वर्षमै कसरी असफल भयो ? यसको कारण विविधीकरण गर्न नसक्नु बताउँछन् उनी।

‘पुँजीबजारमा म स्थापित भइसकेको थिएँ। दुई चार करोड लगानी गर्ने हैसियत आफैँले पनि बनाइसकेको थिएँ, अग्रजहरूले पनि तँ नेतृत्व गर्छस् भने एउटा इन्भेष्टमेन्ट कम्पनी खोलौँ भनेर हौसला दिनुभयो। स्थापित व्यक्तिहरू नै ममाथि लगानी गर्न तयार भएका थिए,’ उनी सम्झिन्छन्, ‘सरकारी जागिरको आम्दानीले सामान्य दैनिक खर्च त चलेको थियो, तर त्यसैवेला पुँजीबजारबाट आर्थिक आत्मविश्वास कमाइसकेकाले पनि होला, मलाई यतैतर्फ ज्यादा सक्रिय बन्न उपयुक्त लाग्यो।’

०००

अम्बिकाप्रसादसहित त्यो समयका पायोनियर व्यक्तित्वहरू चन्द्र ढकाल, हेमराज ढकाल, कमल ज्ञवाली, देवीप्रसाद भट्टचन, मनोज ज्ञवाली, ज्ञानबहादुर जिसी (स्व.), सचिनजंग रायमाझी, तुलसीराम ढकाल, गौतम खनाल, रमेश भट्टराई लगायत मिलेर खोले– हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड। १४ करोड लगानीमा भव्य कम्पनी स्थापना भयो। त्यसवेला कम्पनीको अध्यक्ष थिए हेमराज अनि अम्बिकाप्रसाद प्रबन्ध निर्देशक।

तर सोचेजस्तो सरल रेखामा पनि हिँड्दैन मान्छेको जीवन। सरकारी जागिर छाडेर पुँजीबजारमा पूर्णकालीन रूपमा सक्रिय त भए, तर दुई वर्षमै कम्पनी कोल्पाप्स भयो। १४ करोडको कम्पनी ५ करोडमा संकुचन भयो। अम्बिकाप्रसादको नेटवर्थ सबै सक्कियो। ‘जागिर नछाडेको भए सेयर बजारलाई चटक्कै छाडेर उनी सरकारी जागिरतिरै फर्किन्थेँ,’ उनी सम्झिन्छन्, ‘तर त्यो ढोका मैले आफैँ बन्द गरिसकेको थिएँ।’

त्यसवेला उनलाई बडो चुकचुक लाग्यो। आफूभन्दा जुनियरहरू उपसचिव भइसकेका थिए। अध्ययन बिदा लिएको भए उपसचिव बन्थेँ, जागिरमा फर्किन्थेँ भन्ने लागिरह्यो। ‘म त्यतै मख्ख पर्थेँ, पुँजीबजारमा फर्किने थिइनँ सायद। एउटा घेरा हुन्थ्यो। सेयर बजारमा नहुने रहेछ भन्ने लाग्थ्यो होला। डर हुन्थ्यो। तर जागिर छाडिसकेकाले यतै संघर्ष गरेँ,’ उनी भन्छन्।

तर सत्कार्य गरेर, राम्रो सोचेर, समर्पित भएर गरिएको काममा नोक्सानी हुन्छ भने त्यो आफैँमा नोक्सानी नहुने विश्वास उनी गर्छन्। ‘असाध्यै राम्रो गर्दा पनि नोक्सान हुन्छ भने, त्यसबाट कुनै युनिभर्सिटीमा भन्दा ज्यादा सिक्ने अवसर मिल्छ,’ उनी भन्छन्, ‘म अलमोस्ट जिरोमा पुगेँ। मैले सब गुमाएँ। तर अहिले लाग्छ, त्यो मेरो जिन्दगीको सिकाइका लागि मैले तिरेको ट्युसन फी थियो। त्यसैले पराजित हुँदैमा आत्तिनु हुन्न। त्यो जिन्दगीको लेसनका लागि तिरेको शुल्क मात्रै हो सम्झेर अघि बढ्नुपर्छ।’

काठमाडौँको चन्द्रागिरी डाँडालाई राजधानीसँग जोड्ने प्रमुख पर्यटन पूर्वाधारको खाका तयार भयो। थानकोटबाट चन्द्रागिरी डाँडासम्म २५ सयभन्दा माथिको उचाइमा केबलकार निर्माणको परियोजना बनाए, जुन धार्मिक, प्राकृतिक र मनोरञ्जनात्मक गन्तव्य बन्न पुग्यो। चन्द्रागिरी केबलकारसँगै होटल, रेस्टुरेन्ट, भ्यु टावर, मन्दिर र बाल उद्यानलगायतका संरचना निर्माण भए।

हाथवे इन्भेष्टमेन्टजस्तो राम्रो संयोजनको अर्को कम्पनी त्यस समयमा सम्भवतः अर्को थिएन। पुँजीबजारका चर्चित खेलाडी, अनुभवी उद्यमी, बैंकर, व्यावसायिक व्यक्तित्वहरू मिलेर सञ्चालन गरेको संस्था अढाई–तीन वर्षमै कसरी असफल भयो ? यसको कारण विविधीकरण गर्न नसक्नु बताउँछन् उनी।

‘हामी सबै पुँजीबजारमा काम गर्नेहरू थियौँ। म त्यसवेला सेयर बजारमा अत्यन्तै स्थापित, अम्बिकाले छोएपछि फलाम पनि सुन बन्छ भन्ने मनोविज्ञान सबैमा थियो। मैले यहाँ लगानी गर भन्दा १ करोड लगानी गरेर ५ करोड बनाएका उदाहरण पनि थिए। त्यसअघि सबैतिर राम्रो थियो। त्यसकारण पनि सबैले मलाई विश्वास गर्नुभयो,’ उनी भन्छन्, ‘लगानी क्यापिटल मार्केट र रियल स्टेट मात्रै हो, अरू क्षेत्र त लगानी गर्ने ठाउँ नै होइन भन्ने लाग्यो त्यसवेला। पोर्टफोलियोको एउटै क्षेत्रमा केन्द्रित भयौँ। जहाँ आफू बसियो, त्यहीँ भासियो। जहाँ बसेको छ, त्यो धरातल जगैदेखि गएपछि के हुन्छ ? टेक्ने खुट्टा एक ठाउँमा मात्रै टेक्यौँ र त्यही ठाउँ भासियो। आफैँ जलेपछि मात्र थाहा भयो फरक क्षेत्रमा पनि खुट्टा टेक्नुपर्थ्यो। लगानीलाई विविधीकरण गर्नुपर्दथ्यो।’

विज्ञहरू व्यवस्थापक रहेको र सम्पूर्ण पूर्वतयारीसहित खुलेको कम्पनी ‘पोर्टफोलियो म्यानेजमेन्ट’ गर्न नसक्दा धराशयी बन्न पुग्यो। लगानीका सन्दर्भमा पोर्टफोलियो म्यानेजमेन्ट अत्यन्तै जरुरी हुन्छ। कम्पनी डुबेपछि मात्रै आफूहरू कसैलाई पोर्टफोलियो कसरी व्यवस्थापन गर्ने भन्ने थाहा नभएको कुरा थाहा हुन पुगेको उनी बताउँछन्।

‘आरोह अवरोहका बीच तीन वर्ष समय पनि लागेन, हामीले लगभग सबै गुमायौँ। अरूले मलाई विश्वास गरेर तँ गर् भने, तर त्यो विश्वास सबभन्दा महँगो पर्‍यो,’ उनी भन्छन्, ‘अनि त्यहाँबाट युनिभर्सिटीबाट, पुस्तक, विज्ञबाट नपाउने शिक्षा म आफैँले पाएँ। मलाई के–के कमजोरीले यहाँ पुर्‍यायो भन्ने मैले जब थाहा पाएँ, त्यसपछि पोर्टफोलियो विविधीकरण गर्नुपर्छ, एकै ठाउँ राख्नुहुँदैन, फरक–फरक क्षेत्रमा जानुपर्छ भन्ने भयो।’

०००

त्यसपछि अम्बिकाप्रसाद पोर्टफोलियो विविधीकरण गर्नुपर्छ भन्ने निष्कर्षसहित अन्य क्षेत्रतर्फ लगानी बढाउन लागे। काठमाडौँको चन्द्रागिरी डाँडालाई राजधानीसँग जोड्ने प्रमुख पर्यटन पूर्वाधारको खाका तयार भयो। थानकोटबाट चन्द्रागिरी डाँडासम्म २५ सयभन्दा माथिको उचाइमा केबलकार निर्माणको परियोजना बनाए, जुन धार्मिक, प्राकृतिक र मनोरञ्जनात्मक गन्तव्य बन्न पुग्यो। चन्द्रागिरी केबलकारसँगै होटल, रेस्टुरेन्ट, भ्यु टावर, मन्दिर र बाल उद्यानलगायतका संरचना निर्माण भए।

‘मेरो पहलमा चन्द्रागिरिमा लगानी गर्नेगरी कम्पनी गठन गर्‍यौँ। चन्द्रागिरि हिल्सको प्रबन्धपत्र, नियमावली, कम्पनी दर्ता सबै प्रक्रिया अगाडि बढाइयो, हाथवेपछि चन्द्रागिरी हिल्स मेरै इनिसिएटमा अघि बढेको प्रोजेक्ट हो,’ उनी भन्छन्।

अम्बिकाप्रसादसहित चन्द्र ढकाललगायत लगानीकर्ताहरूले सामूहिक रूपमा ६६ सालदेखि दोस्रो परियोजनाका रूपमा चन्द्रागिरी हिल्सलाई अघि बढाए। उतारचढावका बीच कानुनी प्रक्रियाहरू पूरा भए। उत्तम नेपाल, नवराज नेपाललगायत पार्टनरहरू जोडिए। सुरुमा चन्द्रागिरीमा कमल ज्ञवालीको पनि लगानी थियो। तर ज्ञवाली आर्थिक रूपमा अप्ठ्यारोमा परेपछि उनले त्यो सेयर बिक्री गरे, र भित्रिए मिनबहादुर गुरुङ। पौडेल भन्छन्, ‘मीनबहादुर दाइसँग त्यहीँबाट मेरो व्यक्तिगत कनेक्सन भएको हो।’

चन्द्रागिरी केबलकार सुरु भएपछि छोटो समयमै उक्त परियोजनाले गति लियो। त्यसपछि सानि सेक्युरिटिज सञ्चालनमा आयो। उनी भन्छन्, ‘अहिले पनि आईएमईको ८० प्रतिशत सेयर त्यसमा छ। राम्रो लाभांश दिने कम्पनी हो। त्यो कम्पनी पनि मैले आफ्नै हातले प्रबन्धपत्र बनाएर सुरु गरेको हो।’

सानि सेक्युरिटीपछि अम्बिकाप्रसादले गैरजीवन बीमा कम्पनी एनबी इन्स्योरेन्स खरिद गरे। त्यसबेला एनबी इन्स्योरेन्सको सेयर प्रतिकित्ता १७ रुपैयाँमा झरेको थियो। अम्बिकाप्रसादले आफ्नो र परिवारको नाममा सेयर लिएपछि केही सुधार भयो। पछि आईएमई पनि प्रवेश गर्‍यो। समस्याग्रस्त भएर खारेजीमा जान लागेको उक्त कम्पनीले सेयर मूल्य बढ्दै गयो। पछि उक्त कम्पनी प्रुडेन्सियल इन्स्योरेन्सका नाममा अघि बढाइयो।

नेपाल राष्ट्र बैंकले अरुण फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको थियो। कम्पनी बन्द भइसकेको थियो। अम्बिकाप्रसादले लिएपछि त्यो कम्पनी पनि ६ महिनामै पुनर्जीवित भयो। पछि ग्लोबल आईएमई बैंकसँग मर्ज भयो। यसरी समस्याग्रस्त भएर वित्तीय रूपमा अचेत अवस्थामा पुगेका संस्थाहरूलाई लिएर उनले सुरक्षित अवतरण गराए।

‘सञ्चालनको ३ वर्ष नपुग्दै धराशयी भएको हाथवे इन्भेष्टमेन्टलाई पनि पछि हामीले उठायौँ। समस्याग्रस्त अवस्थाबाट ५० रुपैयाँको सेयर २५ रुपैयाँमा डिस्काउन्ट दिएर राइट सेयर जारी गरी पुनर्जागरण गराएँ,’ उनी भन्छन्, ‘दुई वर्षमै कम्पनी ५० प्रतिशतसम्म लाभांश बाँड्न सक्ने भयो।’

अम्बिका प्रयोगशील र सृजनशील मात्र नभएर चुनौतीसँग जुधिरहने निरन्तर रूपमा व्यावसायिक यात्रु न परे। आईएमई समूहसँग झन्डै १२ वर्ष अनवरत एकाकार सहकर्म पछि उनलाई के लाग्यो भने— ‘म त अम्बिका नै भइनछु ! ठूलो रुखको छायाँमुनि परेपछि सानो रुख त देखिँदै देखिँदैन।’ उनले यो विषयलाई सकारात्मक र अलिक फराकिलो उडानका हिसाबले लिए। त्यसैले उनी व्यावसायिक र हार्दिकतापूर्वक बिस्तारै आईएमईबाट अलग्गिएर उनले गौरा कन्स्ट्रक्सन सुरु गरे।

गौरा कन्स्ट्रक्सनको वार्षिक कारोबार अहिले १ अर्बभन्दा धेरै छ। त्यसपछि समस्याग्रस्त अवस्थामा पुगेको डन बस्को स्कुललाई लिए, कान्जीरोवा नेसनल स्कुलका रूपमा सञ्चालन गरे। अहिले काठमाडौँको नाम चलेको स्कुलमा पर्छ कान्जीरोवा। १५ सयभन्दा बढी विद्यार्थी छन्, ‘प्लस टू’ सम्म पढाइ हुन्छ।

आफूलाई नयाँ आविष्कार गर्ने मान्छेका रूपमा होइन, भइरहेका समस्याग्रस्त संस्थालाई व्यवस्थापकीय क्षमता दिएर गति दिने मान्छेका रूपमा चिनाउन रुचाउँछन् उनी।

त्यसपछि अम्बिकाप्रसादले समस्यामै रहेको लेमन ट्री होटल पनि लिए। ६ करोडको कम्पनी ४२ करोड घाटामा पुगेको थियो। अहिले लेमन ट्रीले आफ्नै लय समातिसकेको छ। नाफा कमाइरहेको छ।

‘मैले आफ्नै हातले नयाँ बनाउनुभन्दा पनि समस्यामा परेका, गाह्रो–साह्रो भएका संस्थाहरूलाई व्यवस्थापकीय टेकओभर गरेर, सुशासन कायम गरी सफल बनाउने काम गरेँ,’ उनी भन्छन्, ‘मेरो सिद्धान्त एकदम सरल छ— उस्तै प्रकृतिको एउटा कम्पनी उत्कृष्ट चल्ने र अर्को चाहिँ कोल्याप्स हुने किन हुन्छ ? त्यो व्यवस्थापनको कमजोरीले, सुशासनको कमीले र नेतृत्वको क्षमता नहुनाले हुन्छ। क्षेत्र त एउटै हो, देश एउटै हो, ग्राहक एउटै हुन्। तर एकै प्रकृतिका कुनै व्यवसाय चल्ने, कुनै नचल्ने किन भयो ? त्यसैले जहाँ सफा नियतका साथ सुशासन कायम गरेर व्यवस्थापन गरिन्छ, त्यहाँ असफल संस्था पनि सफल बन्छ।’

आफूलाई नयाँ आविष्कार गर्ने मान्छेका रूपमा होइन, भइरहेका समस्याग्रस्त संस्थालाई व्यवस्थापकीय क्षमता दिएर गति दिने मान्छेका रूपमा चिनाउन रुचाउँछन् उनी।

०००

आगामी दिनमा अम्बिकाको सम्पूर्ण ध्यान र सोच नेपालमै उत्पादनमूलक उद्योग विस्तार गर्नेतर्फ छ। क्यापिटल मार्केटमा पैसा कमाउँदा आफूले मात्र कमाइन्छ, राज्यलाई अलिअलि कर जान्छ। तर उद्योग चलाउँदा सयौँ–हजारौँ मान्छेले रोजगारी पाउँछन्। त्यसैले आफूले मात्रै कमाउनेभन्दा पनि समाजमै प्रत्यक्ष प्रभाव पर्ने र अरूले पनि रोजगारी प्राप्त गर्न सक्ने क्षेत्रमा काम गर्न चाहन्छन् उनी। यो उनको बाध्यताभन्दा पनि परोपकारी चिन्तन हो।

उनी भन्छन्, ‘पुँजीबजारमा मैले पैसा त कमाएँ, तर मैले मात्रै कमाएँ। त्यसैले आगामी दिनमा उद्योग विस्तारमै लागेर समाज र राज्यसँग जोडिने कर्ममा लाग्छु।’

‘बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने र समाजसँग प्रत्यक्ष जोडिने उद्योग व्यवसाय नै मेरो अबको मुख्य बाटो हो,’ उनी भन्छन्।

सेयर बजारको खेलाडीका रूमा चिनिए पनि उनी आफैँ भने यस क्षेत्रसँग मात्रै जोडिएर चिनिन चाहन्नन्। बरु आगामी दिनमा उद्योगमा प्रयत्न गर्दै जाने उनको चाहना छ।

‘मैले साथीहरूसँग मिलेर सञ्चालन गरिरहेको हाइलाइफ उद्योगमा ४०० जनाले रोजगारी पाएका छन्। राज्यलाई कर तिर्न पाइएको छ। प्रत्यक्ष÷अप्रत्यक्ष राज्यलाई योगदान गर्न पाइएको छ,’ उनी भन्छन्, ‘पुँजीबजारमा मैले पैसा त कमाएँ, तर मैले मात्रै कमाएँ। त्यसैले आगामी दिनमा उद्योग विस्तारमै लागेर समाज र राज्यसँग जोडिने कर्ममा लाग्छु।’

प्रकाशित: २०८३ कार्तिक ११ गते मङ्गलबार ११:२२
प्रतिक्रिया

थप समाचार

रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी 

धनगढी। धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना। कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि रायो खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको...

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व

काठमाडौँ: नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ, र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा...

महिलाले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोगमा

काठमाडौं। महिला उद्यमी महासंघ नेपाल (एफडब्लुइएएन) ले ‘म उद्यमी’ ट्रेडमार्क (सामूहिक चिन्ह) प्रयोगसँगै उत्पादनहरुको सामूहिक प्रदर्शन सुरु गरेको छ। एफडब्ल्युइएएनले बिहीबार ललितपुरको सानेपास्थित...

एनआरएनए अमेरिकाको क्षेत्रीय सम्मेलनः नेपालमा १० करोड डलर लगानीको एजेन्डा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलनमा १० करोड अमेरिकी डलरबराबरको लगानी सम्भावना र सहकार्यका विषयमा छलफल हुने भएको छ। सन् २०२७ अप्रिल २४ र २५...

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
ncell
सूचना प्रविधि

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।
lAXMIL
साहित्य

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना