२०८३ असोज ३० गते शुक्रबार

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

 |  अन्जन श्रेष्ठ
Sanket

अन्जन श्रेष्ठ

काठमाडौँ, असोज २९
anjan

मुलुकमा लगानीका लागि पुँजी, ऊर्जा र उद्यमीको कमी छैन। बैंकमा १२ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता छ। वार्षिक २३ खर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिन्छ र विद्युत उत्पादन तीव्र रूपमा बढिरहेको छ।

अहिलेको चुनौती यही तरलता, रेमिट्यान्स, ऊर्जा र निजी क्षेत्रको उद्यमशीलतालाई उत्पादनशील लगानी, निर्यात र रोजगारीमा रूपान्तरण गर्नु हो।

उद्यमीसँग लगानीका अवसर छन्। तर, उनीहरूलाई ढुक्कसँग लगानी गर्न, व्यवसाय विस्तार गर्न र रोजगारी दिन सक्ने स्थिर नीति तथा भरपर्दो कानुनी र प्रशासनिक वातावरण चाहिएको छ।

छिमेकको तुलनामा हाम्रो आर्थिक गति सुस्त छ

विश्व बैंकको सन् २०२६ को तथ्यांकअनुसार नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र छ। जबकि, दक्षिण एसियाको औसत ६.९, भारतको ७.१ र चीनको ४.५ प्रतिशत छ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा वृद्धिदर ३.८५ प्रतिशत रह्यो। अघिल्लो वर्ष ४.४३ प्रतिशत थियो।

चालू वर्षका लागि अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक र एसियाली विकास बैंकले ३.६ देखि ४.१ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेका छन्। जुन सरकारको ७ प्रतिशत लक्ष्यको करिब आधा हो।

आर्थिक वर्ष २०८२/०८३ को अन्त्यमा देशसँग २५ अर्ब ३० करोड अमेरिकी डलरको विदेशी मुद्रा सञ्चिति छ। जसले १९.६ महिनाको आयात धान्न पुग्छ।

रेमिट्यान्स ३७.१ प्रतिशत बढेर २३ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ३३ प्रतिशत हो। चालू खाता ६ अर्ब ३० करोड डलर बचतमा छ। विद्युत उत्पादन बढेसँगै औद्योगिक वृद्धि ५.७ प्रतिशत पुगेको छ भने ऊर्जा क्षेत्र २०.९ प्रतिशत बढेको छ। यी हाम्रा बलिया पक्ष हुन्।

तर, बाह्य क्षेत्रको यो बलियोपन उत्पादनमा रूपान्तरण हुन सकेको छैन। गत वर्ष २० खर्ब ९६ अर्ब रुपैयाँको आयात हुँदा निर्यात ३ खर्ब १५ अर्ब रुपैयाँमा सीमित रह्यो।

निर्यातले आयातको करिब १५ प्रतिशत मात्र धान्छ भने रेमिट्यान्स वस्तु निर्यातको साढे सात गुणा छ। रेमिट्यान्सले निक्षेप र आयात धानेको छ, स्वदेशी उत्पादन होइन।

तरलता प्रशस्त, तर कर्जा लगानी बढ्न नसकेको अवस्था

आर्थिक वर्ष २०८२/०८३ मा बैंक तथा वित्तीय संस्थाको निक्षेप १३.९ प्रतिशतले बढ्दा निजी क्षेत्रतर्फको कर्जा ६.६ प्रतिशत मात्र बढ्यो। जबकि, नेपाल राष्ट्र बैंकले १२ प्रतिशत लक्ष्य राखेको थियो। मूल्यवृद्धि घटाएर हेर्दा कर्जा वृद्धि ३.४ प्रतिशतमा सीमित छ।

कुल गार्हस्थ्य उत्पादनको तुलनामा कर्जाको अनुपात ९५.७ प्रतिशतबाट ९५.९ प्रतिशत मात्र पुग्यो। अर्थात केवल ०.२ प्रतिशत बिन्दुको वृद्धि।

कर्जाको औसत ब्याजदर ६.५५ प्रतिशतमा झरेको र बैंकमा प्रशस्त पैसा भएको बेला पनि कर्जा नबढ्नुले बजारमा माग कमजोर रहेको देखाउँछ।

कर्जाको प्रवाह पनि उत्पादनभन्दा उपभोगतर्फ बढी छ। गत आर्थिक वर्षको पहिलो नौ महिनामा उपभोग कर्जा ११.७ प्रतिशत बढ्दा औद्योगिक उत्पादन कर्जा ६.५ प्रतिशत मात्र बढ्यो भने कृषि कर्जा २.३ प्रतिशत घट्यो।

कुल कर्जाको ६३ प्रतिशत घरजग्गा धितोमा प्रवाह भएकाले नगद प्रवाह भए पनि धितो नहुने साना तथा मझौला उद्यम कर्जाको पहुँचबाट वञ्चित छन्।

२०२६ जुलाईको मध्यसम्म समग्र निष्क्रिय कर्जा ५.७ प्रतिशत पुगेको छ। पुँजीगत खर्च विनियोजनको ४६.८ प्रतिशतमा सीमित भएको छ। सरकारी लगानी नबढ्दा निर्माण, उद्योग र आपूर्ति क्षेत्रको माग पनि खुम्चिएको छ।

पुँजी बजारले पनि उद्योगलाई दीर्घकालीन पुँजी जुटाउन सकेको छैन। सूचीकृत ३०५ कम्पनीमध्ये उत्पादनमूलक उद्योग ३१ वटा मात्र छन भने बजार पुँजीकरणको करिब ५१ प्रतिशत हिस्सा बैंक तथा बीमा कम्पनीको छ।

जलवायु परिवर्तनले व्यवसायमा थपेको जोखिम

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले मानव जीवन, ऊर्जा, यातायात र पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। सरकारी द्रुत क्षति मूल्यांकनअनुसार कुल क्षति ४ खर्ब ८ अर्ब रुपैयाँ छ। यो जीडीपीको ६ प्रतिशत हो।

४ हजार ८ सय व्यवसायमा १ खर्ब ४६ अर्ब रुपैयाँबराबरको क्षति पुगेको छ। ७५९ मेगावाट क्षमताका १३ जलविद्युत आयोजना प्रभावित भएका छन्।

चीनसँग जोडिने रसुवा व्यापारिक नाका अवरुद्ध भएको छ र पर्यटन मौसमको सुरुमै दुई सयभन्दा बढी होटल तथा रेस्टुरेन्ट प्रभावित भएका छन्।

पुनर्निर्माणका लागि करिब ७ खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान छ। यसले व्यवसाय र पुनर्निर्माणमा थप जोखिम थपेको छ।
बजारमा क्रयशक्ति घट्दा औद्योगिक गतिविधि सुस्त

आर्थिक वर्ष २०८२/०८३ मा औसत मुद्रास्फीति ३.०८ प्रतिशत रह्यो। सरकारले ५.५ प्रतिशत अनुमान गरेको थियो। मूल्य स्थिर रहनु राम्रो हो।

मूल्य कम बढ्नुलाई मात्र अर्थतन्त्र बलियो भएको प्रमाण मान्न मिल्दैन। विकासशील मुलुकमा लामो समय मूल्य सुस्त रूपमा बढ्नुको अर्थ मानिसले खर्च घटाएको, बजार चलायमान नभएको र उद्योगको गति सुस्त भएको पनि हुन सक्छ।

यसको प्रमाण उद्योगमा देखिन्छ। उद्योगहरू औसतमा ४४.५ प्रतिशत क्षमतामा मात्र चलिरहेका छन् भन् तेल, आयात मूल्य र बाढीका कारण लागत बढ्न थालेको छ।

साउनमा उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत र थोक मुद्रास्फीति ८.२७ प्रतिशत पुगेको छ। हामीलाई मूल्य स्थिरतासँगै मानिसको क्रयशक्ति, उत्पादनशील लगानी, औद्योगिक वृद्धि र रोजगारी चाहिएको छ।

यो सुस्तता व्यवसायीको मनोबलमा पनि देखिएको छ। हाम्रो अनुभवमा व्यावसायिक आत्मविश्वास पछिल्ला ३६ वर्षयताकै सबैभन्दा न्यून स्तरमा छ।

रोजगारीको अवस्था पनि चिन्ताजनक छ। अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार सन् २०२५ मा नेपालको बेरोजगारी दर १०.५ प्रतिशत थियो। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार ३० प्रतिशतभन्दा बढी युवा न रोजगारीमा, न शिक्षा वा तालिममा छन्। यो अत्यन्त निराशाजनक अवस्था हो।

निजी क्षेत्रका सम्भावना

स्वच्छ ऊर्जाः बढ्दो विद्युत उत्पादनलाई उद्योग, विद्युतीय यातायात र शीत भण्डारणमा प्रयोग गर्न सके उत्पादन लागत घट्छ र आयात प्रतिस्थापन हुन्छ।

स्वदेशी बजारः २१ खर्ब रुपैयाँको आयात आफैंमा एउटा ठूलो बजार हो। उद्योगहरूमा आधाभन्दा बढी क्षमता खाली रहेकाले थप लगानीबिनै उत्पादन बढाउन सकिन्छ।

सेवा र पर्यटनः सन् २०२५ मा ११ लाख ६० हजार पर्यटक आए र औसत १६ दिन बसे। सूचना प्रविधि र डिजिटल सेवा नेपालबाटै विश्व बजारमा बेच्न सकिन्छ।

क्षेत्रीय आपूर्ति श्रृङखला तीव्र गतिमा बढिरहेका भारत र चीनको बीचमा रहेको नेपालले उनीहरूको मूल्य श्रृङखलामा पार्टपुर्जा र प्रशोधित वस्तु आपूर्ति गर्न सक्छ। यदि नाका र व्यापार प्रक्रिया भरपर्दो भए।

रेमिट्यान्सलाई लगानीमाः वार्षिक २३ खर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्सको एउटा हिस्सा सेयर, बन्ड र विदेशबाट फर्केका युवाका उद्यममा लगाउन सके त्यो उत्पादनशील पुँजी बन्छ।

साना तथा मझौला उद्यम

नेपालको अर्थतन्त्र साना उद्यमको काँधमा छ। राष्ट्रिय आर्थिक गणनाअनुसार देशभर ९ लाख २३ हजारभन्दा बढी प्रतिष्ठान सञ्चालनमा छन्।

जसमा ३२ लाखभन्दा बढी व्यक्ति संलग्न छन्। यीमध्ये ९५ प्रतिशतभन्दा बढी प्रतिष्ठानमा १० जनाभन्दा कम कामदार छन् र ७३ प्रतिशत प्रतिष्ठान एक वा दुई जनाले मात्र चलाएका छन्।

प्रतिष्ठानमा संलग्न कुल जनशक्तिको करिब ५९ प्रतिशतले यस्तै साना प्रतिष्ठानमा रोजगारी पाएका छन्। गणनाअनुसार करिब ३० प्रतिशत प्रतिष्ठान महिलाले व्यवस्थापन गरेका छन्।

यसको अर्थ हो, गाउँ र साना सहरमा रोजगारी, स्वरोजगारी र महिला उद्यमशीलताको मुख्य आधार नै साना तथा मझौला उद्यम हुन्।

किन महत्वपूर्ण छन्? ठूला उद्योगले पुँजी र प्रविधि ल्याउँछन्। तर व्यापक रोजगारी र स्थानीय आयको स्रोत साना तथा मझौला उद्यम हुन्।

यिनले थोरै पुँजीमा धेरै रोजगारी दिन्छन्। स्थानीय कच्चा पदार्थ र सीपको उपयोग गर्छन र ठूला उद्योगका लागि आपूर्तिकर्ता तथा वितरकको काम गर्छन् ३० प्रतिशतभन्दा बढी युवा रोजगारी, शिक्षा वा तालिमबाहिर रहेको र वार्षिक लाखौं युवा विदेशिने अवस्थामा स्वदेशमै रोजगारी सिर्जना गर्ने सबैभन्दा छिटो बाटो यही क्षेत्र हो।

विदेशबाट फर्केका युवाको सीप र बचतलाई उत्पादनमा लगाउने माध्यम पनि यिनै उद्यम हुन्। तर, यिनै उद्यम सबैभन्दा बढी समस्यामा छन्।

कुल कर्जाको ६३ प्रतिशत घरजग्गा धितोमा प्रवाह हुने र चालू पुँजी (मौज्दात तथा कारोबार) को आधारमा १५ प्रतिशतजति कर्जा मात्र जाने भएकाले नियमित कारोबार भए पनि धितो नहुने उद्यमी बैंकको ढोकाबाटै फर्किनुपर्छ।

चालू आर्थिक वर्षको पहिलो महिनामा विपन्न वर्ग कर्जा ७.३ र ओभरड्राफ्ट कर्जा २.६ प्रतिशत घटेको छ। बजारमा माग घट्दा, ठूला ग्राहक र सरकारी निकायबाट भुक्तानी ढिला हुँदा र लागत बढ्दा पहिलो र सबैभन्दा ठूलो चोट यिनै उद्यमले खेप्छन्।

गणनाअनुसार करिब आधा प्रतिष्ठान दर्ताबाहिर छन्। जसले गर्दा उनीहरू औपचारिक कर्जा, बीमा र सरकारी सहुलियतको पहुँचबाट वञ्चित छन्। हालको बाढीले प्रभावित गरेका करिब ४ हजार ८ सय व्यवसायमध्ये ठूलो हिस्सा पनि साना होटल, पसल र स्थानीय उद्यम हुन्।

किन तत्काल सम्बोधन जरुरी छ? साना तथा मझौला उद्यम बन्द हुँदा त्यसको असर रोजगारी, स्थानीय माग र बैंकको कर्जा गुणस्तरमा एकैसाथ पर्छ। यसले माग घट्ने, उद्योग सुस्त हुने र कर्जा नबढ्ने दुष्चक्रलाई अझ गहिरो बनाउँछ।

यसको विपरीत, यिनीहरूलाई सहज वित्त, सरल प्रक्रिया र बजार पहुँच दिन सके बैंकमा थुप्रिएको तरलता सिधै उत्पादन र रोजगारीमा पुग्छ। त्यसैले महासंघ निम्न विषयमा तत्काल पहल गर्न आग्रह गर्दछ।

धितोभन्दा कारोबार, नगद प्रवाह र बिलको आधारमा कर्जा दिने व्यवस्था, कर्जा सुरक्षण कोषको विस्तार र चल सम्पत्ति धितो रजिस्ट्रीको प्रभावकारी प्रयोग।

सरकारी निकाय र ठूला खरिदकर्ताबाट साना आपूर्तिकर्तालाई तोकिएको समयभित्र भुक्तानी गर्ने अनिवार्य व्यवस्था।

दर्ता, नवीकरण, कर र लेखासम्बन्धी प्रक्रियालाई एकद्वार र डिजिटल बनाई अनौपचारिक उद्यमलाई औपचारिक दायरामा ल्याउन प्रोत्साहन।

बाढी तथा विपद्प्रभावित साना व्यवसायका लागि छिटो कर्जा पुनर्संरचना, सहुलियतपूर्ण पुनस्र्थापना कर्जा र सरल बीमा दाबी प्रक्रिया।
सार्वजनिक खरिदमा स्वदेशी साना तथा मझौला उद्यमलाई प्राथमिकता र ठूला उद्योगसँगको आपूर्ति श्रृङखलामा जोड्ने कार्यक्रम।यी

चासोहरूलाई बेलैमा सम्बोधन गर्न महासंघका मुख्य सुझाव

१. कानुनी तथा प्रशासनिक झन्झट हटाऔं

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, विदेशी विनिमय नियमन, उद्योग र जग्गासम्बन्धी व्यवस्था, वन तथा वातावरणीय स्वीकृति, सार्वजनिक खरिद, श्रम पालना, कर प्रशासन र कम्पनी दर्ता तथा विवरण बुझाउने व्यवस्थाको व्यवस्थित समीक्षा गर्न जरुरी छ।

सरकारले महासंघ र सम्बन्धित पेसागत तथा क्षेत्रगत संस्थासँग मिलेर यी व्यवस्थाको समीक्षा गर्नुपर्छ, प्रक्रिया सरल बनाउनुपर्छ, सरकारी निकायबीच प्रभावकारी समन्वय गर्नुपर्छ र सेवा दिने समयसीमा पारदर्शी रूपमा तोक्नुपर्छ।

यसको अर्थ कानून खुकुलो बनाउने वा आवश्यक सुरक्षा हटाउने होइन।अनावश्यक अवरोध हटाएर कानून निष्पक्ष र पूर्वानुमानयोग्य ढंगले लागू होस भन्ने हो।

२. व्यापार सहजीकरण कागजमा होइन, व्यवहारमा देखियो

भन्सार प्रणाली आधुनिक बनाउने, डिजिटल प्रणालीमा आधारित एकीकृत व्यापार प्रक्रिया लागू गर्ने, भरपर्दाे लजिस्टिक्स पूर्वाधार बनाउने र सीमापार ढुवानी भरपर्दो बनाउने काम सरकारको प्राथमिकतामा पर्नुपर्छ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, द्विपक्षीय लगानी सम्झौता, साफ्टा, बीबीआईएन र बिमस्टेकजस्ता लगानी, व्यापार र पारवहनसम्बन्धी सम्झौताले लागत घटाउने, भन्सार छिटो हुने, बजार पहुँच सहज हुने र लगानी भित्रिने नतिजा दिनुपर्छ।

छिमेकी मुलुकसँग मिलेर क्वारेन्टाइन र प्रमाणीकरण प्रक्रिया सरल बनाउने, भरपर्दो परीक्षण मापदण्डलाई पारस्परिक मान्यता दिने, रेल र सडक जोडान सुधार्ने र अनावश्यक गैरभन्सार अवरोध हटाउने काम पनि जरुरी छ। हालै रसुवा नाका अवरुद्ध हुँदा देखिएझैं वैकल्पिक व्यापार मार्गको तयारी पनि उत्तिकै आवश्यक छ।

यसका लागि महासंघले सरकार र निजी क्षेत्र सम्मिलित स्थायी व्यापार सहजीकरण परिषद् गठन गरी भन्सार जाँचपास, ढुवानी लागत, निर्यातका अवरोध र लगानी स्वीकृतिमा हरेक तीन महिनामा लक्ष्य तोक्न प्रस्ताव गरेको छ।

व्यापारको सफलता कतिवटा सम्झौता भए भन्नेले होइन, नेपाली व्यवसायले कति प्रतिस्पर्धी भएर निर्यात गर्न, उत्पादन बढाउन र सम्मानजनक रोजगारी दिन सके भन्नेले नापिनुपर्छ।

३. राज्य र निजी क्षेत्रबीच सहकार्य

आपसी विश्वास, उत्तरदायित्व, निष्पक्षता र साझा जिम्मेवारीमा आधारित सम्बन्ध आजको आवश्यकता हो। भ्रष्टाचारविरुद्धको सरकारी अभियानलाई महासंघको पूर्ण समर्थन छ। कुनै पनि व्यवसायी वा कम्पनी कानुनभन्दा माथि हुँदैन।

तर निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।

पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा अनावश्यक डर र अन्योल सिर्जना हुने गरी प्रयोग गर्नु हुँदैन। वास्तविक व्यावसायिक विवाद, व्यवसायको असफलता र प्रक्रियागत त्रुटिलाई जानीजानी गरिएको ठगी, भ्रष्टाचार र आपराधिक कार्यबाट छुट्याउनुपर्छ।

कानून लागू त गर्नैपर्छ। प्रश्न कसरी लागू गर्ने भन्ने हो। नयाँ सरकारसँग हाम्रो आग्रह छ। शंकामा आधारित सम्बन्धबाट माथि उठौं र पारदर्शी नियम, संस्थागत उत्तरदायित्व र नतिजामा आधारित साझेदारीतर्फ अघि बढौं।

प्रकाशित: २०८३ असोज २९ गते बिहिबार ०८:१९
प्रतिक्रिया

थप समाचार

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

‘सेयर बजारलाई खरिदबिक्रीमा मात्रै सीमित राख्न हुन्न, व्यापक सुधार आवश्यक छ’

बजारको बदलिँदो स्वरूपअनुसार कानुनी संरचना पनि समयानुकूल हुनुपर्छ।

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...

यस कारण कांग्रेसको उपाध्यक्षमा मेरो उम्मेदवारीः विनोद चौधरी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सक्रिय रूपमा सहभागी हुनुभएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूमा हार्दिक शुभकामना एवं जय नेपालको अभिवादन। देशले अहिले युवा नेतृत्वको खोजी गरिररहेको...

निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग खुलाः जलविद्युत विकासमा सरकारको दूरगामी कदम

राष्ट्रिय प्रसारण ग्रिडमा निजी क्षेत्रलाई खुला पहुँच दिने सरकारको नीतिले मुलुकको जलविद्यत विकासमा ठूलो फड्को मार्ने देखिएको छ। सरकारको यो महत्त्वपूर्ण निर्णय मुलुकको ऊर्जा तथा जलविद्युत्...
46174be9-0cb1-4503-94ca-b420b8b3b675
अन्तर्वार्ता

अर्थतन्त्र र अहिलेको सरकारबारे रामेश्वर खनालको ‘क्लोज सट’: ‘अब सानो सुधारले पुग्दैन’

अहिलेको सरकारको शक्ति कहाँ छ भन्ने कुरा लगानीकर्ताले बुझ्न सकेका छैनन्। शक्ति कहाँ छ भन्ने थाहा भए त्यहीँ गएर कुरा गर्थे। जहाँ गएर कुरा गर्छन्, त्यहाँबाट कुनै सहारा प्राप्त नहुने र कहाँ गएर...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना