राष्ट्रिय प्रसारण ग्रिडमा निजी क्षेत्रलाई खुला पहुँच दिने सरकारको नीतिले मुलुकको जलविद्यत विकासमा ठूलो फड्को मार्ने देखिएको छ। सरकारको यो महत्त्वपूर्ण निर्णय मुलुकको ऊर्जा तथा जलविद्युत् क्षेत्रका लागि अत्यन्तै सकारात्मक र दूरगामी महत्त्वको कदम हो।
नेपाल उद्योग वाणिज्य महासंघको नवीकरणीय ऊर्जा समिति सभापति तथा स्वतन्त्र ऊर्जा उत्पादक संस्था(इप्पान) को सल्लाहकारको हैसियतले यस महत्त्वपूर्ण पहलका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, विद्युत् नियमन आयोग, नेपाल विद्युत् प्राधिकरण तथा यस प्रक्रियामा संलग्न सम्पूर्ण पदाधिकारी, प्राविधिक तथा कर्मचारीहरूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।
जलविद्युत् नेपालको सबैभन्दा महत्त्वपूर्ण राष्ट्रिय प्राकृतिक स्रोत र आर्थिक समृद्धिको प्रमुख आधार बन्न सक्छ। डा. हरिमान श्रेष्ठको अध्ययनले नेपालको जलविद्युत् सम्भावना ८३ हजार मेगावाट रहेको देखाएको छ। पछिल्ला तथा निजी क्षेत्रबाट भएका विभिन्न अध्ययनहरूले नेपालको सम्भावना १ लाख ५० हजारदेखि २ लाख मेगावाटभन्दा बढी हुन सक्ने देखाएका छन्।
यति ठूलो सम्भावनाको तुलनामा अहिलेसम्म हामीले उत्पादन गरेको बिजुली अत्यन्तै न्यून छ। हाल ४ हजार ५ सय मेगावट हारहारीमा मात्र बिजुली उत्पादन भएको छ। त्यसैले अब हाम्रो सोच ‘कम उत्पादन र कम खपत’ होइन, ‘बढी उत्पादन बढी खपत’ र बढी निर्याततर्फ हुनुपर्छ।
हामीले विद्युत् उत्पादन मात्र बढाएर पुग्दैन। स्वदेशमै व्यापक खपत बढाउनुपर्छ। नेपालको ऊर्जा भविष्यलाई उद्योग, कृषि, पर्यटन, यातायात, विद्युतीय सवारी साधन, निजी क्षेत्र तथा सरकारी स्तरमा व्यापक रूपमा प्रयोग, डिजिटल अर्थतन्त्र र घरायसी जीवनसँग जोड्न आवश्यक छ।
हामीले नेपालमा डेटा सेन्टर स्थापना, हाइड्रोजन तथा हाइड्रोजनमा आधारित रासयनिक मल उत्पादन, कृषि क्षेत्रको आधुनिकीकरण र कृषि उत्पादन तथा प्रशोधन उद्योगलाई पर्याप्त बिजुली उपलब्ध गराउनुपर्छ।यसले कृषिजन्य वस्तुको आयात घटाउन र स्वदेशी उत्पादन तथा रोजगारी बढाउनसमेत सहयोग गर्न सक्छ।
त्यसैगरी पर्यटन क्षेत्रलाई पनि भरपर्दो र स्वच्छ ऊर्जासँग जोडेर होटल, रिसोर्ट, केबलकार, मनोरञ्जन तथा अन्य पर्यटन पूर्वाधारमा विद्युतीय ऊर्जाको अधिकतम प्रयोग गर्न सकिन्छ।
सबैभन्दा ठूलो सम्भावना भनेको हाम्रो आफ्नै घरबाट विद्युत् खपत बढाउनु हो। अहिले धेरै नेपालीले घरपरिवार खाना पकाउन एलपीजी ग्यास तथा पानी तताउन र अन्य कामका लागि विभिन्न इन्धन प्रयोग गरिरहेका छन्।
विद्युत् खपत बढाउन खान पकाउन विद्युतीय इन्डक्सन चुलो, पानी तताउन इलेक्ट्रिक किट्ली, इलेक्ट्रिक वाटर हिटर र इलेक्ट्रिक कुकिङलगायत अन्य विद्युतीय उपकरणको प्रयोग बढाउन सकेमा आयातित ग्यास तथा अन्य इन्धनमाथिको निर्भरता घटाउन सकिन्छ।
यसरी हेर्दा जलविद्युत् केवल बत्ती बाल्ने साधन मात्र होइन। यो कृषि, पर्यटन, उद्योग, डेटा सेन्टर, ग्रिन हाइड्रोजन, खाद्य तथा मल उत्पादन, यातायात र हरेक नेपालीको दैनिक जीवनसँग जोडिएको राष्ट्रिय आर्थिक स्रोत हो।
त्यसैले राष्ट्रिय प्रसारण ग्रिडमा खुला पहुँचको प्रभावकारी कार्यान्वयनसँगै निजी क्षेत्रलाई थप जलविद्युत् उत्पादन गर्न प्रोत्साहित गर्नुपर्छ। निजी क्षेत्रको साझेदारीमा प्रसारण पूर्वाधार विस्तार गर्नुपर्छ र विद्युत् व्यापारका लागि भारतलगायत क्षेत्रीय बजारमा सहज पहुँच सुनिश्चित गर्नुपर्छ।
नेपालको विशाल जलविद्युत् सम्भावनालाई उत्पादन, स्वदेशी खपत र विद्युत् निर्यात—तीनै क्षेत्रमा अधिकतम उपयोग गर्न सके ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरणको मुख्य आधार बन्न सक्छ।
त्यसैले अबको हाम्रो लक्ष्य बिजुली उत्पादन र बढी खपत, औद्योगिकीकरण र बढी भएको निर्यात गर्ने स्पष्ट लक्ष्य हुनुपर्छ।
यही बाटोबाट नेपालको जलविद्युत्लाई वास्तविक राष्ट्रिय सम्पत्ति र आर्थिक समृद्धिको आधारमा रूपान्तरण गर्न सकिन्छ।
(ऊर्जा उद्यमी लामिछाने नेपाल उद्योग वाणिज्य महासंघको नवीकरणीय ऊर्जा समिति सभापति तथा स्वतन्त्र ऊर्जा उत्पादक संस्था(इप्पान) को सल्लाहकारका हुन्)


