बौद्धिकता केलाई भन्ने यो आजको दुनियाँमा यो बहस हुनुपर्ने विषय हो। अझ, बौद्धिकता र विवेक राजनीतिलाई सन्तुलित बनाइराख्ने अस्त्रहरू हुन्। हामीले अस्त्रहरूलाई सही तरिकाले प्रयोग गरेनौँ भनेँ तिनीहरू दुर्घटनाका कारण बन्न सक्छन्।
जीवन भोगाइका क्रममा प्राप्त ज्ञानलाई व्यवस्थित तरिकाले समाजको उत्थानका लागि प्रयोग गर्दै जानु नै बौद्धिकताका सामान्य सीमारेखाहरू हुन्। म प्रजातन्त्रको परिभाषा र व्याख्यातिर त्यति जान चाहन्नँ, म प्रजातन्त्रलाई व्याख्यात्मकभन्दा पनि आध्यात्मिक दृष्टिकोणले बढी हेर्दछु। हरेक व्यक्तिले प्रजातन्त्रलाई आफ्नो आचरणमा अभिव्यक्त गर्नु नै उन्नत प्रजातान्त्रिक अभ्यास हो भन्ने मेरो मान्यता रहेको छ। यो लेख मूलतः नेपालमा ठूलो प्रजातान्त्रिक शक्तिको रूपमा रहेको पार्टी नेपाली कांग्रेस बौद्धिक, राजनीतिक र प्रजातान्त्रिक अभ्यासमा कहाँनेर छ र अबको कांग्रेसको बाटो कस्तो हुनुपर्छ भन्नेमा नै केन्द्रीकृत रहनेछ।
नेपाली कांग्रेस देशमा लामो इतिहास बोकेको पार्टी हो, यो पार्टीका आफ्नै किसिमका मौलिक सिद्धान्त र मान्यताहरू रहेका छन्। सुरुवाती दिनहरूमा नेपाली कांग्रेसले थालनी गरेको आन्दोलन र नेपाली बौद्धिक, साहित्यिक आन्दोलनको कुम नै जोडिएको थियो भन्दा फरक पर्दैन तर कांग्रेसभित्र आज सिर्जना भएको राजनीतिक प्रवृत्ति, अराजकता र नेताहरूमा विकास हुँदै गरेको पदमोह; यी कांग्रेसका मौलिक सिद्धान्त र मान्यताहरूसँग कहीँकतै मेल खाँदैनन्। नेपाली कांग्रेस भनेको जनमासमा आधारित पार्टी हो। नेपाली कांग्रेसलाई बचाउन नेतृत्वभन्दा पनि महान् भूमिका खेलेर आफ्नो जीवन अर्पण गर्ने व्यक्तिहरू नै कांग्रेसको क्षेत्रीय सङ्गठनमै कुनै पनि पदमा नपुगेका उदाहरणहरू तमाम छन्, त्यसैले यो पार्टीमा रहेर पद र शक्तिका लागि रोनाधोना गर्नेहरू मलाई कुनै पनि कोणबाट कांग्रेस जस्ता लाग्दैनन्।
पार्टीभित्र छलफल, विमर्श र बहसहरू न्यून हुँदै गएका छन्। पार्टीभित्र प्रश्न गर्ने कार्यकर्ताहरू नै छैनन्, केवल चाकरी गर्नेहरू छन् जसको फलस्वरूप प्रजातान्त्रिक पार्टीभित्रै फरक–फरक वर्गहरू स्थापित हुँदै गएका छन्। पार्टीका नीति तथा सिद्धान्तहरूलाई कसरी समयसापेक्ष बनाउने र अब पार्टीलाई कसरी अहिलेको विश्व परिवेशसँग लयबद्ध गर्दै जाने भन्दा पनि सङ्गठनभित्र ढोँगी प्रवृत्तिहरू हाबी हुँदै गएको आभास सजिलै गर्न सकिन्छ।
बीपीले अघि सारेका अर्थनीतिहरूलाई सजिलै कार्यान्वयन गर्ने परिस्थितिमा अहिले कांग्रेस रहेपनि त्यतातिर नेताहरूको ध्यान जान सकेको छैन। के अहिलेका कांग्रेस स्थानीय सरकारहरू बीपी कोइरालाले अगाडि सारेका आर्थिक विकासका सिद्धान्तहरूलाई अङ्गीकार गरिरहेका छन् त ? के सामन्ती शासन व्यवस्थाद्वारा शोषित नेपाली जनताको स्वतन्त्र भावनाको प्रतिनिधित्व गर्न ऐतिहासिक आवश्यकताको रूपमा नेपाली कांग्रेस मैदानमा खडा भएको छ त ? यी अहिले कांग्रेसभित्र गहनरूपमा छलफल हुनुपर्ने विषयवस्तुहरू हुन्। प्रजातान्त्रिक शासन प्रणालीमा प्रजातन्त्रका मूल संस्थाहरू संसद् र स्वतन्त्र न्यायालय कमजोर हुँदै जानु राम्रो सङ्केत होइन।
खासमा पार्टीभित्र सिर्जित यी सबै समस्याहरूका कारण भनेको पार्टीभित्र सिर्जना भएको वैचारिक विचलन र गुटबन्दी नै हुन्। प्रजातान्त्रिक पार्टीलाई विभिन्न गुटहरूले आफ्नो इच्छा अनुकूल चलाउन खोज्नु, आफ्ना निर्णयहरू लाद्न खोज्नु र राज्यका हरेक अङ्गहरूमा भागबन्डा गर्नु जस्ता समस्याहरूले अहिलेको कांग्रेसभित्र जरा गाडिरहेको स्पष्ट देख्न सकिन्छ। पार्टीले समाजवादको बाटोलाई आत्मसात् गरे पनि बीपीले देखाएको समाजवादको बाटोलाई अहिलेको युगमा कसरी अवलम्बन गर्न सकिन्छ र अझै उन्नत समाजवादी राज्य प्रणालीको निर्माण कसरी गर्न सकिन्छ भन्ने बहसको पार्टीभित्र खडेरी नै परेको देखिन्छ।
निकै लामो अध्ययन र अनुसन्धानको बाटोबाट आफ्नो विरासत नेपाली जनतामा स्थापित गरेको पार्टीभित्रका युवा कार्यकर्ताहरू अध्ययन, छलफलका कार्यक्रमभन्दा पनि नेताहरूका दैलातिर अथवा चोकमा गफ चुट्न बस्नुले पार्टीभित्र बौद्धिक आन्दोलन कति कमजोर भएको छ भन्ने कुरा स्पष्ट देखिन्छ। अझै भनौँ हामी के हौँ, के होइनौँ र हामी किन कम्युनिष्टभन्दा फरक हौँ भन्ने चेतना कांग्रेसको पछिल्लो पुस्तामा पनि देखिँदैन र त्यो स्कुलिङ नेताहरूबाट पनि भएको छैन, जसले पार्टी अझैँ वैज्ञानिक राजनीतिको दिशाभन्दा पनि महाभारतीय राजनीतिकै बाटोमा छ भन्ने कुरा इङ्गित गर्छ।
पार्टीभित्र मौलाएको भ्रष्टाचारको मुद्दालाई नउठाउने हो भने सायद यो लेख नै अपूरो हुने सम्भावना रहन्छ। नीतिगत रूपमा देशका सबै राजनीतिक दलहरूले भ्रष्टाचारको विरोध गरेकै छन् तर जुन पार्टीले आफूलाई पूर्ण प्रजातान्त्रिक भएको दाबी गर्छ, जुन पार्टीले आफू नै नेपालका विभिन्न राजनीतिक मोडहरूको अभिभावक भएको घोषणा गर्छ र जुन पार्टीको नीति नै समाजमा भाइचाराको सम्बन्ध वृद्धि गर्दै समाजलाई समृद्ध बनाउने बताउँछ, त्यो पार्टीका कार्यकर्ताहरू आफैँ भ्रष्टाचारमा तल्लीन हुनु र नेताहरू भ्रष्टाचारीको संरक्षणमा सक्रिय रहनुले आज राजनीतिमाथि नै गम्भीर प्रश्न खडा गरेको छ र जनताहरू त्यसको उत्तर २०८२ को प्रतिनिधि सभा निर्वाचनमार्फत दिइसकेका छन्।
कांग्रेसको प्रजातान्त्रिक आन्दोलन अब अभियानमा परिणत भएको अवस्था छ किनभने एक चरणमा राजनीतिक आन्दोलन पूरा भइसकेको छ, भलै यो जनस्तरमा त्यति महसुस नभएको होला। अहिले चलिरहेको नेपाली कांग्रेसको महाधिवेशनमा जुन रूपमा युवाहरूको सहभागिता र सक्रियता छ, त्यसले अझै पनि राजनीतिक सम्भावनाको केन्द्र नेपालको राजनीतिमा कांग्रेस नै हो भन्ने देखाउँछ। नेपालको राजनीतिमा नेपाली कांग्रेस एउटा यस्तो पार्टी हो जसलाई जनताले पटक–पटक सुध्रिने मौका दिएका छन्। हिजोका वैकल्पिक राजनीतिक शक्तिहरू पूर्ण रूपमा स्थापित दल बनिसकेको बेला कांग्रेसले अब आफूलाई सुधार्नु पर्ने गम्भीर चुनौती खडा भएको देखिन्छ। चालु महाधिवेशनबाट युवाहरूको सपना बोकेका युवा नेताहरू नै पार्टीको निर्णायक तहमा पुग्ने सम्भावनाले पनि कांग्रेसलाई नै अबको युगको नेतृत्व गर्न सक्ने सक्षम पार्टी बनाउने सम्भावना यथावत् नै छ।
नेपाली राजनीतिको रङ्गमञ्चमा विभिन्न अप्ठ्याराहरू आइपर्दा नेपाली जनताहरूले सबैभन्दा बढी सम्झने पार्टी भनेकै नेपाली कांग्रेस भएकाले त्यो जिम्मेवारीबोध आम कांग्रेसले गर्नुपर्ने देखिन्छ। नेपालको माटो सुहाउँदो राजनीतिक व्यवस्था नेपाली कांग्रेससँग मात्रै रहेको देखिन्छ किनभने पछिल्लो राजनीतिक यात्रा हेर्ने हो भने कांग्रेस कमजोर भएको बेला देश अप्ठ्यारोमा गएको देखिएको छ। नेपालका कम्युनिष्टहरू बढी बुर्जुवा बन्दै गएकाले सम्भावना प्रजातान्त्रिक शक्तिकै छ। कम्युनिष्ट आन्दोलनले वर्ग सङ्घर्षमार्फत नयाँ संरचनाको स्थापना त गर्छ तर त्यो निर्माण गरेको नयाँ संरचना नै सामन्ती र अधिनायकवादी बनिदिनाले विश्वमा कम्युनिष्टहरू पतन हुँदै गएको इतिहासले साबित गरिसकेको छ। ठ्याक्कै नेपालको कम्युनिष्ट आन्दोलन पनि अहिले त्यही मोडमा रहेको छ, यो परिस्थितिमा नेपाली कांग्रेसले जनताबाट प्रशस्त विश्वास बटुल्न सक्छ र आफूलाई अझैँ स्थिर राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सक्छ।
उत्पादनमुखी नयाँ प्रजातान्त्रिक क्रान्तिको सुरुवात गर्दै, राष्ट्रिय पूँजीको निर्माणलाई तीव्रता दिँदै उन्नत समाजवादको दिशामा अगाडि बढ्नु बाहेक कांग्रेससँग अब कुनै अर्को विकल्प छैन। कांग्रेस विद्वान र शालीन व्यक्तिहरूको पार्टी हो भन्ने कुरा अझैसम्म पनि कहीँकतै जीवितै छ, फेरि पनि कांग्रेसले यो कुरालाई सिद्ध गर्न सकोस्।


