काठमाडौँः आइतबार बिहान बूढीगण्डकी नदीमा गएको बाढीका कारण विभिन्न चार जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इप्पान) ले दिएको प्रारम्भिक विवरणअनुसार क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत बगाएको छ।
बाढीबाट बूढीगण्डकी, दोभान खोला, यारु खोला र माछा खोला जलविद्युत् आयोजनामा क्षति पुगेको हो। सार्वजनिक प्रारम्भिक विवरणअनुसार यी आयोजनाको कुल जडित क्षमता ४४५.५९ मेगावाट रहेको छ।
विवरणअनुसार ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ भने केही निर्माण उपकरणमा समेत क्षति पुगेको छ। टाइम्स इनर्जीले प्रवर्द्धन गरिरहेको आयोजनामा बाढीले निर्माण कार्यमा असर पारेको देखिएको छ।
त्यस्तै, २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ भने ‘बेलीब्रिज’समेत बगाएको छ। दोभान खोला हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरिरहेको यस आयोजनामा पहुँच तथा निर्माण पूर्वाधारमा क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ।
३०.५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजनामा पनि बेलीब्रिजमा क्षति पुगेको छ। यारु हाइड्रो पावर प्रालिले प्रवर्द्धन गरिरहेको आयोजनामा निर्माण सामग्री तथा उपकरण बगाएको विवरणमा जनाइएको छ।
यसैगरी, १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनामा पहुँच सडक र आयोजनास्थल पुग्ने पुलमा क्षति पुगेको छ। वाटर इनर्जी डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरिरहेको यस आयोजनामा भएको क्षतिले निर्माणस्थलसम्म आवतजावत प्रभावित हुन सक्ने देखिएको छ।
बाढीबाट आयोजनाका निर्माण संरचना, क्याम्प, पुल तथा उपकरणमा क्षति पुगेपछि निर्माण कार्य र आयोजनास्थलसम्मको पहुँचमा असर पर्ने देखिएको छ। यद्यपि, क्षतिको विस्तृत विवरण, आर्थिक मूल्यांकन तथा आयोजनाको निर्माण कार्यमा परेको समग्र प्रभावबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।
बाढीका कारण केही आयोजनाका क्याम्प क्षेत्रका घरमा क्षति पुगेको, बेलिब्रिज बगाएको तथा केही पुलमा क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ । यस्तै, निर्माण सामग्री तथा उपकरण बगाएको र आयोजना स्थलसम्म पुग्ने पहुँच सडक तथा पुलमा समेत क्षति पुगेको जनाइएको छ।




