काठमाडौँ: प्रष्ठित व्यवसायिक घराना सिप्रदी ग्रुपका अध्यक्ष सिद्धार्थशम्शेर जबराले भारतीय होटल ब्रान्ड ‘द ओबेरोय नेपाल’मा भित्र्याउन लागेका छन्। द ओबेरोय होटलको साझेदारीमा उनले राजधानीको रविभवनमा पाँचतारे लक्जरी होटल निर्माण गरिरहेका छन्।
सिप्रभ्या होटल्स एण्ड रिसोर्ट्स प्राइभेट लिमिटेडले उक्त लक्जरी होटल निर्माण गरिरहेको हो। हालसम्म होटलको ३८ प्रतिशत वित्तीय र ५७ प्रतिशत भौतिक प्रगति भएको छ। ७५ कोठा भएको होटल बनाउन ७ अर्ब १२ करोड ४० लाख रुपैयाँ खर्च हुने भएको छ। होटल बनाउन प्रति कोठा ९ करोड ५० लाख रुपैयाँ खर्च हुने भएको छ।
यो नेपालमा सञ्चालनमा आएकोमध्ये सम्भवत: सबैभन्दा महँगो लागतको होटल हो। होटलमा ६० प्रतिशत ऋण र ४० प्रतिशत स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ।
संस्थापकको तर्फबाट ८४ प्रतिशत अर्थात् २ अर्ब ४० करोड रुपैयाँ लगानी भइसकेको छ। संस्थापकले गर्ने कुल इक्विटी लगानी २ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। होटल बनाउन ऋण लगानी ४ अर्ब २७ करोड रुपैयाँ छ।
होटल परियोजना आगामी सन् २०२९ को सेप्टेम्बरमा सम्पन्न गर्ने लक्ष्य रहेको छ। होटल निर्माण गत वर्षदेखि सुरु भएको हो। होटल ‘द ओबेरोय काठमाडौं’ ब्रान्डमा सञ्चालन हुने भएको छ।
होटल भारतको द ओबेरोय होटल्स एण्ड रिसोर्ट्स लिमिटेड धेरै मुलुकहरूमा सञ्चालनमा रहेको प्रसिद्ध लक्जरी होटल ब्रान्ड हो।
द ओबेरोयसँगको सहकार्यले ब्रान्डको विश्वव्यापी मान्यता र विशाल ग्राहक आधारका साथै अन्य सञ्चालन मापदण्डहरूको पालनालाई ध्यानमा राख्दै परियोजनाको प्रारम्भिक अपटेकलाई समर्थन गर्ने अपेक्षा गरिएको छ। जसले गर्दा विशाल ग्राहक पहुँच र राम्रो अकुपेन्सी सम्भावना बढाउँछ। यसबाहेक, बलियो प्रवद्र्धक प्रोफाइल पनि एक महत्त्वपूर्ण पक्ष हो।
सिप्रभ्यामा सिद्धार्थ राणाको ६० प्रतिशत हिस्सा रहेको छ। त्यसपछि दुई अन्य संस्थागत सेयरधारकहरू सूर्य इन्टरप्राइजेज प्राइभेट लिमिटेड रहेको छ। सूर्य इन्टरप्राइजेज राणाद्वारा स्वामित्व रहेको छ। यस्तै अर्को लगानी कम्पनी एसआर होल्डिङ्स राणाको स्वामित्व छ। यसमा उनको २० प्रतिशत हिस्सेदारी छ।
नेपालमा निजी क्षेत्रबाट निर्मित पहिलो ठूलो आयोजना ४५ मेगावाट माथिल्लो भोटेकोशी आयोजनामा पनि उनको लगानी छ।
डलरमा भएको उतारचढावले निर्माणाधीन होटलको लागत बढाउनेछ। यसकारण, चलिरहेको प्रतिकूल विश्व घटनाहरूको प्रभावलाई ध्यानमा राख्दै लागत वृद्धिको जोखिममा रहेको छ।
सिप्रभ्या होटल सन् २००४ मा स्थापना भएको हो। कम्पनी स्थापना भएको दुई दशकपछि होटल निर्माण सुरु भएको हो। आतिथ्य व्यवसाय स्वाभाविक रूपमा पर्यटक आगमनमा मौसमी परिवर्तन र यात्रा ढाँचामा परिवर्तनको लागि संवेदनशील रहन्छ।
यसबाहेक, पर्यटक आगमन व्यापक आर्थिक अवस्था, पर्यटनसम्बन्धित नीतिहरू, भूराजनीतिक विकासहरू, प्राकृतिक प्रकोपहरू र अन्य नियामक वा समष्टिगत आर्थिक घटनाहरूप्रति संवेदनशील रहन्छ। जसले बसोबास स्तर, कोठा दर र समग्र नगद प्रवाहलाई असर गर्न सक्छ।
राणा व्यक्तिगत आयकर धेरै तिर्ने सूचीमा पर्दै आएका छन्। उनी सिप्रदी ट्रेडिङ र सोल्टी ग्रुपका अध्यक्ष हुन्।


