काठमाडौँ- समाजवादी मोर्चामा आबद्ध दलहरुले मोर्चाको अध्यक्षता ६/६ महिनामा परिवर्तन गर्ने समझदारी गरेका छन्। शनिबार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले मोर्चाको अध्यक्षता ६/६ महिनामा पालैपालो गर्ने समझदारी जुटाएका हुन्।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकको अध्यक्षता तत्कालका लागि माधवकुमार नेपालले गरेका छन्। ‘एक दलका अध्यक्षले ६ महिना अध्यक्षता गर्ने, त्यसपछि अर्को नेताले गर्ने सरसल्लाह भएको छ। यो सबैको टुंगो आउँदो बैठकले गर्नेछ। समझदारी टुंगो नहुन्जेल माधव नेपालले नै अध्यक्षता गर्नुहुनेछ’ बैठकपछि पत्रकारहरुसँग कुराकानीका क्रममा पाण्डेले भने। यसअघि कति अवधिमा मोर्चाको अध्यक्षता गर्ने व्यक्ति परिवर्तन गर्ने भन्ने विषयमा टुंगो लागेको थिएन।
बैठकले सातै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने पनि निर्णय गरेको छ। असार २७ गते बस्ने बैठकले मिति तय गर्ने नेता पाण्डेले बताए।
मोर्चाको नीति तथा कार्यक्रम र आचारसंहिता बनाउन माओवादी केन्द्रका देव गुरुङ, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका प्रमेश हमाल र नेपाल कम्युनिस्ट पार्टीका खड्गबहादुर विश्वकर्मा रहेको समितिसमेत गठन भएको छ। असार ४ मा घोषणा भएको समाजवादी मोर्चाका दलका ५४ सांसद छन्।


