काठमाडौं । एनआईसी एशिया बैंकले आगामी असोज २८ गते आफ्नो २६ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकको ६३० औं संचालक समितिको बैठकले साधारणसभा असोज २८ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा गर्ने निर्णय गरेको हो ।
बैंकको २६औं वार्षिक साधारण सभामा गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका सामान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ ।
गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्तापुँजीको २९ प्रतिशत बोनश शेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६) र १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४०) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन थप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची समावेश गरिएको छ ।
वार्षिक साधारण सभालाई ध्यानमा राखी २०८० असाेज १६ देखि २०८० असाेज २८ गतेसम्म बैंकको शेयर दाखिल खारेज दर्ता बन्द रहने बैंकले जनाएको छ । एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६१३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशतजनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।


