लहान- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सिरहास्थित लहान शाखा कार्यालय आफ्नै नवनिर्मित भवनमा सरेको छ।
बैंकले लहान नगरपालिका वडा नम्बर ६ को गणेशचोकमा भवन निर्माण गरेर त्यहीँबाट सेवा दिन सुरु गरेको हो।
नवनिर्मित भवनको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्घाटन गरेका छन्।
उद्घाटनपछि मुख्यमन्त्री यादवले कृषि तथा अन्य क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले बैंकसँग सहकार्य गर्ने बताउँदै बैंकमार्फत किसानलाई अनुदानसमेत दिन तयार रहेको उल्लेख गरे।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको कर्जाको ब्याजदर सबैभन्दा कम रहेको बताउँदै व्यवसायीलाई रावा बैंकसँग व्यावसायिक कारोबार गर्न आग्रह गरे।
विपन्नवर्गको सशक्तीकरणका लागि विनाधितो कर्जा दिने, वित्तीय साक्षरता कार्यक्रमसमेत सञ्चालन गरिने उनको भनाइ थियो।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले प्रदान गर्ने आधुनिक डिजिटल बैंकिङ सेवाका लागि सबै किसिमले उपयुक्त हुने गरी शाखाको आफ्नै भवन निर्माण गरिएको बताए।
बैंकले हाल ७७ वटै जिल्ला सदरमुकामसहित देशभरमा दुई सय ८४ शाखा, ६५ एक्सटेन्सन काउन्टर, दुई सय ६९ एटिएम र ९९ वटा शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ।




