काठमाडौँ- बेला बेलामा नेपालका सम्पदालाई भारतको भन्दै विवाद भइरहेको पाइन्छ। कुनै बेला ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर अभियान नै चलाउनु पर्यो। गौतम बुद्ध भारतमा जन्मेको भन्ने गलत प्रचार भएपछि नेपालमा पनि अभियान चलाउनु परहेको थियो।
कहिले लुम्बिनीलाई भारतको नक्सामा राखेर विवाद सिर्जना गरिएकाे छ भने, जानकी भारतकै चेली हुन भनेर विवाद भएपछि नेपालमा फिल्म चल्न पाएन। फेरि पनि भारतीय पक्षबाट सगरमाथालाई भारतको सर्वोच्च शिखर बनाएर गलत प्रचार गरिएको छ।
भारतको चर्चित टेलिभिजन जी टिभीले प्रसारण गर्दैआएको ‘कैसे मुझे तुम मिल गए’ नामक टेलिसिरियलमा नेपालको सर्वोच्च शिखर सगरमाथालाई भारतको भनेर प्रचार गरिएको हो। सो टिभी सिरियलको हालै प्रकाशित नयाँ एपिसोडमा नेपालको सगरमाथालाई भारतको भनेर प्रस्तुत गरिएको छ।
सिरियलको सो एपिसोडमा टेलिसिरियलमा एक पुराना कलाकारले अर्को एक कलाकारलाई सामान्य ज्ञानको प्रश्नोत्तरका क्रममा ‘भारतको सबैभन्दा उच्च पहाडको चुचुरोको नाम के हो ?’ भनेर सोध्छिन्। त्यसपछि ती पुरुष कलाकारले ‘माउण्ट एभरेष्ट’ भनेर सहज तरिकाले उत्तर दिन्छन्। अनि सिरियलको सो दृश्यमा उपस्थित अन्य कलाकारले ताली बजाउँछन्।
सिरियलको उक्त भागको युट्युब भर्सनमा हेर्न दर्शकमध्ये धेरैले सगरमाथा नेपालमा रहेको जिकिर गरिरहेका छन्। कतिपयले स्क्रिप्ट लेख्नेले गलत लेख्यो भनेर सच्याउन माग गरिरहेका छन्। कतिपयले नेपाल सरकारको ध्यानाकर्षण पनि गराएका छन्।
हेर्नुहाेस् सिरियलकाे क्लिप


