काठमाडौं- ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपूर स्टारर फिल्म गत विहीबार रिलिज भयो। सिद्धार्थ आनन्दले निर्देशन गरेको यो फिल्ममा भरपुर हवाई एक्सन देख्न सकिन्छ। यो फिल्म सन् २०२४ को प्रतिक्षित फिल्म थियो। फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको थियो।
यद्यपी अग्रिम बुकिङ देखि नै फिल्मले झट्का व्यहोर्न पुगेको थियो। अग्रिम बुकिङ अपेक्षाकृत हुन नसक्दा फिल्मले केवल २४.६० करोडको ओपनिङ गरेको थियो। रिलिजको दोस्रो दिन भने कलेक्सनमा उछाल आएको थियो। पहिलो दिन भन्दा दोस्रो दिन ६७.४८ प्रतिशतको उछाल देखिएको थियो। दोस्रो दिन फिल्मले ४१.२० करोड कमाएको थियो। दोस्रो दिन कलेक्सनमा उछाल देखिएपनि फिल्मले बक्स अफिसमा कमाल गर्न सकेन।
दोस्रो दिनको तुलनामा तेस्रो दिनको व्यापारमा ३३.०१ प्रतिशतको गिरावट देखियो। आइतबार भने व्यापारमा थोरै वृद्धि देखिएको थियो। तर रिलिजको पाँचौ दिनसम्म आइपुग्दा फिल्मको व्यापारमा गरिवाट मात्रै देखिएन, दुर्घटना जस्तो स्थिती देखा पर्यो। पाँचौ दिन (सोमबार) फिल्मले केवल ७ करोडको कलेक्सन गरेको छ।
‘फाइटर’को कलेक्सनमा देखिएको गिरावट प्रभास स्टारर फिल्म ‘आदिपुरुष’को भन्दा बढी भएको बलिउड हंगामाले जनाएको छ। ‘आदिपुरुष’ले ३६ करोडको ओपनिङ गरेको थियो। पहिलो सोमबार भने यो फिल्मले ७.७० करोडको कलेक्सन गरेको थियो। जुन पहिलो दिनको कलेक्सनको तुलनामा ७६.६७ प्रतिशत कम हो। ‘फाइटर’ले २४.६० करोडको ओपनिङ गरेको थियो। पहिलो सोमबार फिल्म ७ करोड कमाएको छ। जुन पहिलो दिनको तुलनामा ७६.८२ प्रतिशत कम हो।
कलेक्सनको ट्रेन्ड हेर्दा फिल्मले बक्स अफिसमा क्र्यास ल्यान्डिङको संकेत देखिएको बलिउड हंगामाले जनाएको छ। फिल्मले २०० करोडको लाइफटाइम कलेक्सन गर्न समेत मुस्किल देखिएको छ। बक्स अफिसमा यही ट्रेन्ड जारी रहे फिल्मले १६० देखि १७० करोडको लाइफटाइम कलेक्सन गर्ने देखिएको छ।


