मुम्बई- फिल्म ‘लाल सिंह चड्ढा’को असफलतापछि आमिर खानले आफूलाई फिल्म उद्योगबाट टाढा राखेका थिए।
तर अब उनले लामो समयपछि कमब्याक गर्न तयार रहेको बताएका छन्। यो जानकारी उनले नै दिएका हुन्। उनले आगामी फिल्मको छायांकन सुरु गरिसकेको पनि खुलाए।
हालै आमिर खानले भारतीय च्यानल न्युज १८ लाई दिएको अन्तर्वार्तामा पूर्वपत्नी किरण रावसँग व्यक्तिगत र व्यावसायिक जीवनबारे कुरा गरेका थिए।
जब आमिरलाई यति लामो ब्रेकको बारेमा सोधिएको थियो, उनले भने, ‘मैले यो छोटो ब्रेक लिएको कारण म परिवारसँग समय बिताउन चाहन्छु। म विगत केही वर्षदेखि काममा निकै व्यस्त थिएँ। मैले पछिल्ला २ वर्ष धेरै रमाइलो गरेको छु। म मेरो परिवारसँग धेरै समय बिताउन र सबैसँग बलियो बन्धन निर्माण गर्ने प्रयास गरेको छु।’
पेशागत करियरका बारेमा उनले अब आफू काम गर्न तयार रहेको बताएका छन्। फिल्मको सुटिङ १ फेब्रअरीबाट छायांकन सुरु गरेको उनले बताए। आमिर खानले थपे, ‘मलाई जुन कथा मन पर्छ त्यही गर्छु। मलाई मन छुने कथामा काम गर्न मन लाग्छ।
उनले विभिन्न विधामा काम गर्ने इच्छा पनि व्यक्त गरेका थिए।
अन्तर्वार्तामा उनले बताएअनुसार आगामी फिल्ममा आमिरलाई रोमान्टिक भूमिकामा देख्न सकिन्छ। उनले भने, ‘यो उमेरअनुसार सही कथा पाए र त्यो पात्रमा फिट भएँ भने अवश्य गर्छु। यो उमेरमा रोमान्स अलि सामान्य हुन्छ।
लालसिंह चड्डाले बहिष्कारको प्रवृत्तिको सामना गर्नुपरेको थियो। १८० करोडमा बनेको यो फिल्मले विश्वभर मात्रै १२९.६४ करोड कमाएको थियो। फिल्ममा आमिर खानका अलावा करीना कपूर खान, नागा चैतन्य र मोना सिंहको पनि महत्वपूर्ण भूमिका थियो।
यो फिल्म १९९४ को हलिउड फिल्म फोरेस्ट गमको आधिकारिक हिन्दी रिमेक थियो।


