काठमाडौँ- गायक दुर्गेश थापामाथि जुत्ता प्रहार भएको छ। शनिबार राति स्याङ्जाको वालिङ महोत्वसमा गीत गाइरहेका बेला उनीमाथि जुत्ता प्रहार भएको हो।
वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा प्रस्तुति दिन थापा स्याङ्जा पुगेका थिए।
थापाले प्रस्तुति दिइरहेका थिए। त्यही बेला दर्शकदीर्घाबाट स्टेजतर्फ जुत्ता प्रहार भयो। तर जुत्ता भने गायक थापालाई नलागेको बताइएको छ।
जुत्ता प्रहारका विषयमा सोधीखोजी गर्दा एक जना दर्शक प्रकाश डुम्रेले स्टेजतर्फ जुत्ता प्रहार गरेको देखिएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एवं एसपी सञ्जय राउतका अनुसार डुम्रेले मदिराको तालमा बढी उत्साहित हुँदा जुत्ता प्रहार गर्न पुगेको बताएका थिए।
यस विषयमा छलफल गर्न प्रहरीले थापालाई पनि बोलाएको थियो। ‘आइतबार दुर्गेशसहित छलफल गरेपछि डुम्रेलाई छाडिसकेका छौँ,’ राउले भने।


