काठमाडौं- पछिल्लो ३० वर्षमा सलमान खान र साजिद नाडियाडवालाले ‘जित’, ‘जुडुवा’, ‘हर दिल जो प्यार करेगा’, ‘मुझसे शादी करोगी’, ‘जान ए मन’ र ‘किक’ जस्ता फिल्ममा सफल सहकार्य गरेका छन्। सलमान र साजिदले पछिल्लो पटक सन् २०१४ मा ‘किक’ फिल्ममा सहकार्य गरेका थिए। यो फिल्मलाई साजिद आफैंले निर्देशन गरेका थियो। यही फिल्म मार्फत उनले निर्देशनमा डेब्यू गरेका थिए। फिल्म बक्स अफिसमा ब्लकबस्टर बनेको थियो।
‘किक’ रिलिज भएको १० वर्षपछि सलमान र साजिदले एक मेगा बजेट एक्सन फिल्ममा सहकार्य गर्ने भएका छन्। पिंकभिल्लाका अनुसार साजिदले बनाउने फिल्मलाई एआर मुरुगदासले निर्देशन गर्छन्। फिल्मलाई सन् २०२५ को ईदमा रिलिज गर्ने लक्ष्य राखिएको छ। ‘सलमान र साजिद पछिल्लो केही समय यता सम्भावित सहकार्यका बारेमा छलफल गरिरहेका थिए। जब साजिद र एआरले फिल्मका विषयमा छलफल गरिरहेका थिए। तब उनीहरुको दिमागमा एकमात्र नाम-सलमान खान आयो। साजिद र एआर मुरुगादासले सलमानलाई स्क्रिप्ट सुनाए लगत्तै उनी पनि राजि भए,’ पिंकभिल्लाले लेखेको छ।
यो फिल्म एक ग्लोबल एक्सन एन्टरटेनर हुनेछ। यो फिल्मलाई सन् २०२४ मा भारत, पोर्चुगल र अन्य यूरोपियन देशमा सुटिङ गरिनेछन्। फिल्मको बजेट ४ सय करोड रहनेछ। यो फिल्म साजिदको सबैभन्दा महत्वकांक्षी फिल्म हुनेछ।
तामिल निर्देशक एआर मुरुगादासले यसअघि ‘गजनी’ र ‘होलिडे’ जस्ता फिल्म निर्देशन गरेका छन्। उनले तमिल र तेलुगुमा ‘कथ्थी’, ‘सरकार’, ‘दरबार’ र ‘स्टालिन’ जस्ता फिल्म निर्देशन गरेका छन्।


