काठमाडौं- वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ८ महिनामा ४८ अर्ब ८३ करोड नाफा कमाएका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको एकीकृत तथ्याङ्कनुसार वाणिज्य बैंकहरुले माघ महिनाको तुलनामा फागुनमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ नाफा थपेका हुन्। गत महिनाको तुलनामा बैंकहरुको नाफा १९.०२ प्रतिशतले बढेको छ।
हाल कायम गरेका २१ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ। नबिल बैंकले चालु आर्थिक वर्षको ८ महिना नै ५ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको छ।
नबिल बैंकपछि बढी नाफा ग्लोबल आईएमई बैंकले गरेको छ। ग्लोबल आईएमई बैंकले ४ अर्ब ३७ करोड नाफा कमाएको छ। नाफा कमाउने वाणिज्य बैंकमध्ये तेस्रो स्थानमा कृषि विकास बैंक छ। उसले ८ महिनामा ४ अर्ब ११ करोड नाफा गरेको छ।
चौथो बनेको एनआईसी एसियाले ४ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ।
यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ अर्ब ४९ करोड र राष्ट्र वाणिज्य बैंकले ३ अर्ब ३६ करोड नाफा कमाएका छन्। नेपाल बैंकले २ अर्ब ६० करोड नाफा गरेको छ।
प्राइम कमर्सिलय बैंकले २ अर्ब ३९ करोड नाफा गर्दा स्टाण्डर्ड चार्टर्ड बैंकले २ अर्ब २६ करोड नाफामा छ।
एभरेष्ट बैंकले २ अर्ब २३ करोड, प्रभु बैंकले २ अर्ब २२ करोड र कुमारी बैंकले २ अर्ब ६ करोड नाफा कमाएका छन्।
यसैगरी हिमालयन बैंकले १ अर्ब ७८ करोड, सानिमा बैंक १ अर्ब ७८ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ६४ करोड नाफा कमाएको छ।
सिद्धार्थ बैंकले १ अर्ब ५५ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ४३ करोड, लक्ष्मी बैंक १ अर्ब ३६ करोड नाफामा पुग्दा सिटिजन्स बैंकले १ अर्ब २५ करोड नाफा कमाएको छ।
२१ वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा कमाउनेमा सनराइज बैंक छ। उसको नाफा १ अर्ब ८ करोड छ।


