काठमाडौँ- साहित्य सदन नेपालले आयोजना गरेको राष्ट्रव्यापी कविता प्रतियोगितामा तेह्रथुमकी रेजिना आपगाईं प्रथम भएकी छन्।
विश्व कविता दिवसका अवसरमा आयोजित प्रतियोगितामा रेजिना प्रथम भएको सदनका सचिव प्रह्लाद पोखरेलले जानकारी दिए।
प्रतियोगितामा रेजिनाले प्रस्तुत गरेको भुईंमान्छे सर्वोत्कृष्ट कविता बनेको थियो। आपगाईंले प्रमाणपत्रसहित नगद रु ३० हजार प्राप्त गरिन्।
प्रतियोगितामा बर्दियाकी निरञ्जना चन्द ‘निरू’को जीर्ण कवच शीर्षकको कविता दोस्रो बनेर नगद रु २० हजारबाट सम्मानित भयो।
तनहुँका गोविन्द गोपाल खतिवडाको माटोको माधुर्य, नुवाकोटका विष्णुप्रसाद आचार्यको मानवता गान र सिन्धुपाल्चोककी डा. स्मिता श्रेष्ठको शल्यकक्षमा देश तेस्रो भएका थिए। उनीहरूले जनही १५ हजार रुपैयाँ प्राप्त गरे।
कविता महोत्सवमा ३४५ कविले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा विजयी कवि/कवयित्रीहरूलाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपतिसमेत रहेका प्रमुख अतिथि वैरागी काइँलाले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए।



