काठमाडौँ– चालु आर्थिक वर्षकाे पहिलो ९ महिनामा नबिल बैंकको खराब कर्जा अत्यधिक बढेको देखिएको छ।
गत वर्ष १.१४ प्रतिशत खराब कर्जा रहेको नबिल बैंकको खराब कर्जा २.७३ प्रतिशत बिन्दुले बढेर ३.८७ प्रतिशत पुगेको छ। खराब कर्जा गत वर्षको यसै अवधिको तुलनामा करिब २४० प्रतिशतले बढेको हो।
खराव कर्जा बढेसँगै लोन लस प्रोभिजनिङका इम्प्रियरमेन्ट खर्च (खराब कर्जा तथा अन्य नोक्सानीका सम्वन्धी खर्च) तीव्र बढेको छ। पछिल्लो ३ महिनामा मात्रै इम्प्रियरमेन्ट खर्च बापत बैंकले १ अर्ब ४४ छुट्याएको छ। चालु आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ३३ करोड पुगेको छ। खराव कर्जाका लागि कर्जा नोक्सानीका लागि खर्च बृद्धि हुँदा नविल बैंकको नाफामा असर परेको छ।
विगत दुई वर्ष बैंकले आक्रमक रुपमा कर्जा विस्तार गरेपनि त्यही स्तरमा कर्जा रिकभरी नहुँदा खराब कर्जा बढेको देखिन्छ।
राष्ट्र बैंकले कोभिड १९ को समयमा प्रवाह गरेको पुर्नकर्जा र सहुलियतपूर्ण कर्जाको रिभकरी राम्रो नहुँदा बैंकको खराब कर्जा बढेको बताइन्छ। यसैगरी सिमेन्ट, पर्यटन, स्टिल लगायतका क्षेत्रहरु प्रभावित हुँदा बैंकको असुली कम्जोर हुँदा खराब कर्जा बढेको हो।
हालसम्म बैंकको कुल ग्राहक कर्जा ३ खर्ब २३ अर्ब ५१ करोड पुगेको छ। गत वर्षको यसै अवधिमा यस्तो कर्जा ३ खर्ब रहेको थियो। चालु आर्थिक वर्षको ९ महिना बैंकले २३ अर्ब ५१ करोड रुपैयाँ ग्राहकतर्फ कर्जा विस्तार गरेको छ।
बैंक तथा वित्तीय संस्थातर्फको कर्जा प्रवाह भने गत वर्षको तुलनामा करिब १ अर्ब ३९ करोडले घटेको छ। गत वर्षको यसै अवधिमा १० अर्ब ३६ करोड बैंक तथा वित्तीय संस्थातर्फ कर्जा परिचालनमा रहेकोमा यो वर्ष ८ अर्ब ८७ करोडमा समित भएको छ। बैंकको निक्षेप संकलन यस अवधिमा ३७ अर्ब २६ करोड रुपैयाँले बढेको छ। हालसम्म बैंकको कुल निक्षेप संकलन ३ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ।
बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ५ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएपनि वितरणयोग्य नाफा भने १ अर्ब ७७ करोड मात्रै रहेको छ। जुन गत वर्षको तुलनामा ४३ करोडले कम हो। गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब २० करोड रहेको थियो। जनेरल रिभर्जमा १ अर्ब २ करोड, क्यापिटल रिडेम्सन रिजर्भमा ६९ करोड २५ लाख, विनियमदर उत्तरचढाव कोषमा २ करोड ७६ लाख, सीआएआरमा ४ करोड ८१ लाख र रेगुलेटरी रिजर्भमा १ अर्ब ८२ करोड रुपैयाँ बाँडफाँड गर्दा बैंकको खुद वितरणयोग्य आय कम देखिएको हो। बैंकको प्रतिशेयर वितरणयोग्य नाफा गत वर्षको तुलनामा घटेको छ।
गत आर्थिक वर्षको पहिलो ९ महिनामा प्रति सेयर वितरणयोग्य नाफा १५.८९ प्रतिशत रहेको यस वर्ष ८.७३ प्रतिशत रहेको छ।
नबिल र बंगलादेश बैंक प्राप्ति हुँदा रहेको पुँजी समायोजन जगेडाकोषबाट १ अर्ब ५२ करोड रुपैयाँ लगानीकर्तालाई वितरण गर्न सक्ने अवस्थामा छ।
बैंकको नाफा ५२.५३ प्रतिशतले बढेको छ। गत वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ३५ करोड नाफा कमाएको थियो। बैंकले खुद ब्याज आम्दानीबाट १२ अर्ब १० करोड रुपैयाँ कमाएको छ। ३२ अर्ब ८७ करोड ब्याज आम्दानी गरेको बैंकले २० अर्ब ७७ करोड ब्याज खर्च गरेको छ।
यस्तै बैंकले शुल्क तथा कमिसनबाट १ अर्ब ९९ करोड रुपैयाँ आम्दानी गरेको छ। यस अवधिम बैंकले २ अर्ब १९ करोड रुपैयाँ सरकारलाई आयकर बुझाएको छ। यस अवधिमा बैंकको आधारदर ९.९९ प्रतिशत पुगेको छ भने कष्ट अफ फण्ड ८.१६ प्रतिशत रहेको छ।
पहिलो त्रैयमासमा कर्जा निक्षेप अनुपात कायम गर्न नसक्दा ६ करोड ५० लाख हाराहारीमा जरिवाना भोगेको बैंकले हाल उक्त अनुपात ८७.६८ प्रतिशत कायम गरेको छ।
यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २५.२१ प्रतिशत र तरलता अनुपात २२.९३ प्रतिशत रहेको छ।


