काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनाको अपरिष्कृत वित्तीय विवरणमा अधिकांश बैंकहरूको खराब कर्जा उच्च दरमा बढेको देखिएको छ। खराब कर्जा बढ्दा बैंकहरुको हानीनोक्सानी खर्च (इम्प्रिमेन्ट चार्ज)समेत बढेको छ। यसको प्रत्यक्ष असर बैंकहरुको मुनाफामा परेको छ।
खराब कर्जा बढ्दा बैंकहरुले सम्भावित नोक्सानीका रुपमा अग्रिम खर्चकट्टी गर्नुपर्ने हुन्छ। असल कर्जामा १ प्रतिशत, ९० दिनसम्म भाका नाघेका सुक्ष्म निगरानीको कर्जामा ५ प्रतिशत, कमसल कर्जामा २५ प्रतिशत, शंकास्पद कर्जामा ५० प्रतिशत र खराबकर्जामा शतप्रतिशत प्रोभिजनिङ गर्नुपर्ने हुन्छ।
चालु आवको पहिलो ९ महिनामा २१ वाणिज्य बैंकको खराब कर्जा सरदरमा करिब २०० प्रतिशतले बढेको देखिन्छ। बैंकहरुले खराब कर्जाका लागि झन्डै ३१ अर्ब सम्भावित कर्जा नोक्सानीमा छुट्याएका छन्।
वाणिज्य बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणानुसार हालसम्म सबैभन्दा धेरै खराब कर्जा हिमालयन बैंकको ४.५६ प्रतिशत रहेको छ। यस्तै, सबैभन्दा धेरै खराब कर्जा हुनेमा कृषि विकास बैंक पनि शीर्ष सूचीमा छ। उसको खराब कर्जा ४.३५ प्रतिशत पुगेको छ।
नेपाल बैंक लिमिटेडको खराब कर्जा ४.१६ प्रतिशत रहेको छ। सबैभन्दा कम खराब कर्जा हुनेमा एभरेष्ट बैंक छ। उसको खराब कर्जा ०.७ प्रतिशत रहेको छ।
यस्तै एनआईसी एसिया बैंकमा ०.८५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.९० प्रतिशत र नेपाल एसविआई बैंकमा खराब कर्जा ०.९७ प्रतिशत छ।
यसैगरी सिटिजन्स बैंकमा ३.९८ प्रतिशत, कुमारी बैंकमा ३.९७ प्रतिशत, सिद्धार्थ बैंकमा ३.९५ प्रतिशत, ग्लोबल आईएमई बैंकमा ३.९६ प्रतिशत कर्जा खराब छ।
नेपाल बैंक लिमिटेडको खराब कर्जा ४.१६ प्रतिशत रहेको छ। सबैभन्दा कम खराब कर्जा हुनेमा एभरेष्ट बैंक छ। उसको खराब कर्जा ०.७ प्रतिशत रहेको छ।
नेपाल इन्भेस्टमेन्ट मेघा बैंकमा ३.९४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ३.८८ प्रतिशत, सनराइज बैंकको ३.६२ प्रतिशत, प्रभु बैंकमा ३.४८ प्रतिशत र प्राइम बैंकमा ३.०६ प्रतिशत खराब कर्जा छ। लक्ष्मी बैंकमा १.८२ प्रतिशत, माछापुछ्रे बैंकमा २.३७ प्रतिशत र एनएमबी बैंकमा २.९६ प्रतिशत खराब कर्जा रहेको सम्बन्धित बैंकको वित्तीय विवरणले उल्लेख गरेको छ।
खराब कर्जा बढेसँगै बैंकहरुको नाफाको वृद्धिमा कमी आएको छ। चालु आर्थिक वर्षको ९ महिनामा वाणिज्य बैंकहरुको नाफा ११.७१ प्रतिशतले बढेर ४८ अर्ब ७० करोड रुपैयाँ कायम भएको छ। गत वर्षको यसै अवधिमा वाणिज्य बैंकहरुले ४३ अर्ब ५९ अर्ब रुपैयाँ नाफा कमाएका थिए।
चालु आर्थिक वर्षको ९ महिनामा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। उसले ५ अर्ब ११ करोड नाफा कमाएको छ भने उसलाई ग्लोवल आईएमई बैंकले पछ्याइरहेको छ। ग्लोवलले ४ अर्ब ३५ करोड नाफा कमाउँदै गर्दा एनआईसी एसिया बैंक तेस्रो स्थानमा रहेको छ। एनआईसीले यस अवधिमा ४ अर्ब १ करोड खुद नाफा कमाएको छ।
चौथो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकले करिब ३ अर्ब ३६ र पाचौं स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ अर्ब ४ करोड ६१ लाखकरोड खुदा नाफा आर्जन गरेको छ।
यसैगरी एनएमबी बैंकले २ अर्ब ६८ करोड २५ लाख नाफा गर्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ६१ करोड नाफा कमाएको छ। एभरेस्ट बैंकले २ अर्ब ४६ करोड प्राइम बैंकले २ अर्ब ४६ करोड नाफा कमाएका छन्।
चालु आर्थिक वर्षको ९ महिनामा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। उसले ५ अर्ब ११ करोड नाफा कमाएको छ।
प्रभु बैंकले १ अर्ब ९५ करोड ,कुमारी बैंकले १ अर्ब ८२ करोड,नेपाल एसविआई बैंकले १ अर्ब ८० करोड, नेपाल बैंक लिमिटेडले १ अर्ब ७८ करोड ,हिमालयन बैंकले १ अर्ब ७३ करोड नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ।
सानिमा बैंकले १ अर्ब ७१ करोड, सिद्धार्थ बैंकले १ अर्ब ४९ करोड, माछापुछ्रे बैंकले १ अर्ब ३५ करोड कमाउँदा लक्ष्मी बैंकले १ अर्ब २६ करोड, सिटिजन्स बैंकले १ अर्ब २३ करोड र सनराइज बैंकले १ अर्ब १७ करोड नाफा कमाएका छन्।
सबैभन्दा कम नाफा गर्नेमा सबैभन्दा बढी खराब कर्जा भएको कृषि विकास बैंक परेको छ। यस अवधिमा कृषि विकास बैंकको खुद नाफा १ अर्ब ४ करोड रहेको छ।


