काठमाडौँ- षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ। ‘जात्रा’ र ‘जात्रैजात्रा’ पछि महाजात्रा चलचित्र ५१ औँ दिनको यात्रामा अघि बढिरहेको छ।
प्रदर्शनको पाचौँ साता पार गर्दा पनि उल्लेख्य सोसहित फिल्म प्रदर्शन भइरहेको छ। लेखक तथा निर्देशक प्रदीप भट्टराई निर्देशित अघिल्ला चलचित्रझैँ यसले पनि ५१ औँ दिनको यात्रा तय गर्ने देखिएको छ। निर्देशक भट्टराईले स्वदेशसँगै विदेशका दर्शकले चलचित्रलाई मन पराउनु सबैभन्दा ठुलो सफलता रहेको बताए। अन्तर्राष्ट्रिय वितरक कम्पनी एमएसएम इन्टरटेन्मेन्टले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालपछिको दोस्रो ठुलो बजार मानिने अस्ट्रेलियाको सिड्नीमा मात्र फिल्मको ३५ सो भइसकेको छ। यो अहिलेसम्म कुनै नेपाली चलचित्रको भएको सो सङ्ख्यामा निकै उच्च छ। उक्त सम्पूर्ण सो ‘सोल्ड आउट’ थिए।
चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय रहेको छ। म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेको फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ छन्।


