काठमाडौँ- घलेम्दी हाइड्रो लिमिटेडको नवौं साधारणसभाले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ। शनिबार काठमाडौँको नयाँबजारमा सम्पन्न कम्पनीको साधारणसभाले यस्तो प्रस्ताव पारित गरेको हो।
हकप्रदबाट संकलन भएको रकमबाट ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयोजनाको सेयर खरिद गर्ने तयारी कम्पनीले गरेको छ। सांग्रिला ऊर्जा लिमिटेडले प्रवर्द्धन गरेको उक्त आयोजनामा ५१ प्रतिशत भन्दा बढी सेयर घलेम्दीले खरिद गर्ने बताइएको छ। यो आयोजना संखुवासभामा निर्माण हुनेछ।
साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ। कम्पनीका अध्यक्ष किशोर सुवेदीले कम्पनीको वर्तमान अवस्थाको बारेमा सेयरधनीहरुलाई प्रष्ट पारेका थिए। संचालक नारायण बाबु अधिकारीले कम्पनीको वित्तीय अवस्थाबारे जानकारी गराए।


