२०८३ कार्तिक १४ गते शुक्रबार

‘नेप्से-३० इन्डेक्स’ ल्याउने तयारी

 |  हेमन्त जोशी
Sanket

हेमन्त जोशी

काठमाडौँ, बैशाख २०
NEPSE
नेपाल स्टक एक्सचेन्ज

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘नेप्से–३०’ नामको एउटा छुट्टै सूचक (इन्डेक्स) ल्याउने तयारी गरेको छ। दोस्रो बजार कारोबारलाई सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकाङ्कको विकास, सञ्चालन तथा व्यवस्थापनका लागि नयाँ इन्डेक्स जारी गर्न लागिएको नेप्सेले जनाएको छ।

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीका अनुसार नेप्से–३० इन्डेक्सबारे विभिन्न सरोकारवालाबाट सुझाव लिएर केही समयभित्रै यसलाई सार्वजनिक गर्ने तयारी भइरहेको छ।

‘नेप्से–३० इन्डेक्सबारे विभिन्न सरोकारवाला क्षेत्र र विज्ञमार्फत जेठ ५ गतेसम्म सुझाव लिनेछौँ। कार्यान्वयनयोग्य र सम्बोधन गरिनुपर्ने सुझाव आएमा तिनीहरुलाईसमेत समेटी चाँडै नै यो इन्डेक्स लञ्च हुनेछ,’ पराजुलीले भने। नेप्सेले आजै एक सूचना जारी गर्दै प्रस्तावित नेप्से–३० इन्डेक्समाथि सरोकारवालामार्फत राय–सुझाव मागेको छ।

बजारमा तत्काल कारोबारयोग्य (फ्री फ्लोट) शेयरलाई समावेश गरी बजार पुँजीकरणमा आधारित (भ्यालु वेटेड) सूचकाङ्कको रुपमा नेप्से–३० इन्डेक्स तर्जुमा हुने जनाइएको छ। यो सूचकाङ्कले बजार कारोबार तथा उतार–चढावलाई प्रतिविम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, एक्सचेन्ज ट्रेडेड फन्ड सञ्चालनलगायतमा सघाउ पुग्ने नेप्सेको भनाइ छ।

‘नेप्से–३० इन्डेक्सबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबारयोग्य उपकरण प्राप्त हुन जान्छ,’ नेप्सेले भनेको छ, ‘दीर्घकालीन महत्व राख्ने यस सूचकाङ्कको गणना विधि र यसमा समावेश गरिने सूचीकृत सङ्गठित संस्था छनोटको विधि पारदर्शी र विश्वसनीय बनाउन आवश्यक छ।’

प्रस्ताविक नेप्से–३० इन्डेक्समा समावेश हुनका लागि सूचीकृत सङ्गठित संस्था छनोटका आधार पनि तोकिएका छन्। ‘प्रतिशेयर चुक्ता मूल्यभन्दा प्रतिशेयर किताबी मूल्य बढी हुनुका साथै विगत पाँच आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तीमा तीन वर्ष खुद नाफामा रहेको कम्पनी नेप्से–३० इन्डेक्समा रहन योग्य मानिनेछ,’ नेप्सले सूचनामार्फत भनेको छ, ‘अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुद्रास्फिति दरभन्दा बढी रहेको हुनुपर्नेछ।’

नेप्सेले भनेको छ, ‘दीर्घकालीन महत्व राख्ने यस सूचकाङ्कको गणना विधि र यसमा समावेश गरिने सूचीकृत सङ्गठित संस्था छनोटको विधि पारदर्शी र विश्वसनीय बनाउन आवश्यक छ।’

त्यसैगरी, यस्तो इन्डेक्समा सूचीकृत हुन कम्पनीको कम्तीमा २५ प्रतिशत सर्वसाधारणमा जारी भएको वा कूल फ्रि–फ्लोट बजार पुँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि–फ्लोट बजार पुँजीकरण एक प्रतिशतभन्दा बढी रहेको हुनुपर्नेछ। कम्तीमा २० हजारभन्दा बढी शेयर सदस्य रहेको, पछिल्लो छ महिना अवधिमा दैनिक औसत २५ लाख वा सोभन्दा बढी रकमको कारोबार भएको, दैनिक औसत पाँच हजार कित्ता वा सोभन्दा बढीको कारोबार भएको र दैनिक औसत ४० भन्दा बढी पटक कारोबार भएको कम्पनी नेप्से–३० इन्डेक्समा राख्न योग्य मानिनेछन्।

त्यसैगरी, प्रस्तावित नेप्से–३० इन्डेक्सको गणना विधि पनि तयार पारिएको छ। ‘प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत सङ्गठित संस्थाको फ्रि–फ्लोट बजार पुँजीकरण, पछिल्लो वर्षको प्रतिशेयर आम्दानी, कारोबार रकम, कारोबार सङ्ख्या तथा कारोबार कित्ताका आधारमा कूल भार (कम्पोजिट वेट) गणना गरिनेछ,’ नेप्सेले भनेको छ, ‘सूचीकृत सङ्गठित संस्थाहरुलाई बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा, जलविद्युत्, उत्पादनमूलक, व्यापार तथा सेवा गरी छ वटा क्षेत्रगत समूहमा वर्गीकरण गरी प्रत्येक समूहभित्र छुट्टाछुट्टै कम्पनीको आ–आफ्नो समूहमा कूल भार (सेक्टरल कम्पोजिट वेट) गणना गरिनेछ।’

यस्तो गणनापछि उच्चतम भार प्राप्त गर्ने संस्थाबाट आठवटा कम्पनी कम्पनी छनोट गरिनेछ। कुनै समूहमा आठ वटाभन्दा कम संस्था छनोट भएमा सबै संस्थालाई छनोट गरिने जनाइएको छ। अहिले नेप्सेमा विभिन्न १७ वटा इन्डेक्स छन्। सर्वसाधारण लगानीकर्ताको सबैभन्दा बढी चासो भने नेप्से इन्डेक्समा रहन्छ। नेप्से इन्डेक्समा सूचीकृत सबै कम्पनीको कारोबार प्रतिविम्बित हुन्छ। राम्रा–नराम्रा, लामो समयदेखि कारोबार नभएकादेखि फ्रिक्वेन्टी कारोबार हुने सबै कम्पनी त्यहाँ हुन्छन्। जसकारण बजारको वास्तविक अवस्था प्रतिविम्बित नहुन सक्छ।

यसअघि नेप्से–५० इन्डेक्स ल्याउने गरी छलफल भइरहेको भए पनि अन्तिममा नेप्से–३० इन्डेक्स जारी गर्ने निर्णयमा नेप्से पुगेको हो। यो इन्डेक्सबाट लगानीकर्ताले मुख्यगरी तीनवटा सुविधा पाउने छन्। पहिलो, यसले बजारको वास्तविक अवस्था देखाउनेछ। दोस्रो, नेप्से–३० लाई आफैँमा एक सेक्युरिटीका रुपमा कारोबार गर्न सकिनेछ भने तेस्रो यसले प्यासिभ म्युचुअल फन्डलाई सहयोग गर्ने ठानिएको छ।

नेप्से–३० कार्यान्वयनमा लैजाने तयारी नेप्सेले गरिरहँदा यसलाई कार्यान्वयनका लागि वातावरण बनाउन सकिन्छ वा सकिँदैन भन्ने विषय भने स्पष्ट छैन। किनकि, नेप्से–३० इन्डेक्स कार्यान्वयनमा ल्याएसँगै यसलाई नै प्रोडक्टका रुपमा कारोबार गर्न लगानीकर्ता तयार हुनुपर्ने हुन्छ।

लगानीकर्ताले नेप्सेमा लगानी गर्दा निश्चित प्रतिशत मुनाफा (डेभिडेन्ट) को अपेक्षा गर्छन् तर नेप्से–३० इन्डेक्समा लगानी गर्ने लगानीकर्ताले मुनाफा भन्ने हुँदैन। कारोबारकै आधारमा त्यसको नाफा घाटा निर्धारण हुन्छ। जसकारण यस्तो प्रकृतिको इन्डेक्समा लगानी गर्नका लागि बजार तयार छ वा छैन भन्ने स्पष्टता देखिँदैन। बजारले ‘इन्भेस्टमेन्ट टुल’का रुपमा मात्रै यो इन्डेक्सलाई प्रयोग गर्न सक्नेछ। त्यस्तै, कम्पनीको प्राविधिक विश्लेषणले यो इन्डेक्समा काम गर्दैन। यसमा अनुमानका आधारमा कारोबार हुन्छ।

नेप्से–३० इन्जेक्स जारी हुँदा यसबाट नेप्सेको काम पनि बढ्नेछ। किन भने तथ्याङ्क विश्लेषण र कारोबार नियमनको काम नेप्सेमा थपिन्छ। कम्पनीको क्राइटेरिया विश्लेषण गर्ने, नियमन गर्ने, इन्डेक्स एडजस्मेन्ट गर्नेलगायतका काम नेप्सेले गर्नुपर्ने हुन्छ।

प्रकाशित: २०८० बैशाख २० गते बुधबार ०७:३८
Sanket

हेमन्त जोशी

जोशी राससका पत्रकार हुन्।
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना