काठमाडौँ- ‘छक्कापञ्जा–५’ फिल्मको छायांकन सकिएको छ। फिल्मको छायांकन ५१ दिन लगाएर सकिएको हो। फिल्मको छायांकन कास्कीको पोखरा आसपास र काभ्रे जिल्लाका पाँचखाल र पनौतीमा गरिएको हो।
दीपाश्री निरौलाको निर्देशनमा निर्माण भइरहेको फिल्म निर्माण पक्षका अनुसार अब फिल्मको एउटा गीतको मात्र छायांकन बाँकी छ। निर्देशक निरौलाका अनुसार उक्त गीतको छायांकन भदौमा गरिनेछ। फिल्मले आर्थिक–सामाजिक आयाममाथि व्यंग्य गरेको जनाइएको छ। ‘छक्कापञ्जा–५’ मा दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटीलगायत कलाकारको मुख्य भूमिका छ।
आमा सरस्वती मुभिज र आईएमईको प्रस्तुति रहेको फिल्म आगामी बडादसैंमा रिलिज हुने जनाइएको छ। नेपाली फिल्मको व्यवसायमा रेकर्ड राख्न सफल ‘छक्का पञ्जा’ सिरिजको यो पाँचौं फिल्म हो।


