काठमाडौं- शाहरुख खान स्टारर फिल्म ‘जवान’लाई पछि पार्दै प्रभास स्टारर फिल्म ‘कल्की २८९८ एडी’ भारतीय बक्स अफिसमा सर्वाधिक कमाई गर्ने चौथो फिल्म बनेको छ। नाग अश्विनले निर्देशन गरेको साइन्स फिक्सन फिल्मले ४० दिनमा भारतीय बक्स अफिसमा ६४०.६ करोड रुपैयाँ कमाएको छ। ‘जवान’ले भने भारतीय बक्स अफिसमा ६४०.२५ करोडको लाइफटाइम कलेक्सन गरेको थियो। योसँगै ‘कल्की’ सन् २०२४ मा सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ। घरेलु बक्स अफिसमा ग्रस र नेट कलेक्सन दुवैमा यो फिल्मले ‘जवान’लाई उछिनेको छ।
प्रभासको करियरको सबैभन्दा ठूलो फिल्म भने ‘बाहुबली २’ हो। यो फिल्मले कुल १०३०.४२ करोड कमाएको थियो। ‘कल्की’ले ‘बाहुबली २’सँगै यश स्टारर ‘केजीएफ २’ र एसएस राजामौलीको ‘आरआरआर’को रेकर्ड भने तोड्न सकेन।
‘कल्की’ बक्स अफिसमा छैटौं सातामा चलिरहेको छ। यो फिल्मले हिन्दी भाषामा ३५० करोड कमाएको छ। तेलुगु भाषामा यो फिल्मले ३३५ करोड कमाएको छ भने तामिल, मलयालम र कन्नड भाषामा अहिलेसम्म ७५ करोड कमाएको छ। मिडिया रिपोर्ट अनुसार यो फिल्म अगस्ट २३ मा प्राइम भिडियोमा हेर्न सकिनेछ। यद्यपी निर्माण पक्षले यसबारे आधिकारिक जानकारी दिएको छैन। फिल्ममा प्रभाससँगै अमिताभ बच्चन, कमल हसन, दीपिका पादुकोणको मुख्य भूमिका छ। फिल्मको दोस्रो भागको छायांकन चाँडै सुरु हुने बताइएको छ।
भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने फिल्म
१. बाहुबली २ः १०३०.४२ करोड
२. केजीएफ २: ८५९.७ करोड
३. आरआरआर: ७८२.२ करोड
४. कल्की: ६४०.६ करोड
५. जवान: ६४०.२५ करोड
६. एनिमल: ५५३.८७ करोड
७. पठान: ५४३.०९ करोड
८. गदर २: ५२५.७ करोड
९ बाहुबली: ४२१ करोड
१०. २.०: ४०७.०५ करोड
स्रोतः सानिल्क


