स्वीजरल्याण्ड– मीन बहादुर भामद्धारा निर्देशित नेपाली फिल्म ‘साम्बाला’की अभिनेत्री थिन्ले ल्हामोले स्वीजरल्याण्डमा आयोजित ७७ औं लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि प्रतिष्ठित ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी छन्।
थिन्ले यो अवार्ड पाउने पहिलो दक्षिण एसियाली कलाकार हुन्। फिल्म निर्माण टिमले यो ऐतिहासिक सफलता भन्दै खुशी व्यक्त गरेको छ।
‘यो अवार्ड जित्नु थिन्लेको उत्कृष्ट अभिनयको सम्मान मात्र नभई नेपालका प्रतिभाशाली र उदीयमान कलाकारका लागि समेत प्रेरणा प्रदान गर्ने महत्त्वपूर्ण क्षण हो,’ निर्माण टिमले प्रेस विज्ञप्तिमार्फत् भनेको छ, ‘यो अवार्ड नेपाली कलाकारले जित्नुको अर्थ फिल्मको विश्वव्यापी मञ्चमा दक्षिण एसियाको बढ्दो प्रभावको उदाहरणका रुपमा लिन सकिने विश्वास हामीले गरेका छौं।’


