काठमाडौँ– बलिउड अभिनेता सैफ अली खानले एक अन्तवार्तामा सन् १९९४को घटनाबारे सम्झिएका थिए। एकदिन उनी बार जाँदा दुई महिला फ्यानसँग नाच्न नमानेकै कारण दुर्व्यवहारमा परेका थिए।
केही वर्षअघि एक अन्तर्वार्तामा सैफले भनेका थिए, ‘दिल्लीको एउटा बारमा दुई युवतीले मसँग नाच्न आग्रह गरे तर मैले मानिनँ। त्यसपछि ती केटीका प्रेमी आएर मसँग झगडा गर्न थाले। मैले उनीहरूलाई अहिले कसैसँग नाच्न वा कुरा गर्न चाहन्न भनेँ तर उनी आक्रामक भए।’
सैफले सम्झिए, ‘एकजनाले ह्विस्कीको गिलासले मलाई आक्रमण गरे र भने– तिम्रो एक मिलियन डलरको अनुहार छ, अब म यसलाई बर्बाद गर्नेछु।’
त्यसपछि उनीहरूबीच झगडा भयो। झगडा गर्दै उनीहरू बाथरुममा पसे। ‘मेरो अनुहारमा नराम्ररी चोट लागेको थियो र रगत बगिरहेको थियो,’ उनले भने।
सैफका अनुसार त्यो दिन उनको ज्यान जोगिएको थियो। त्यस घटनापछि उनले कसैसँग झगडा नगर्ने वाचा गरेका थिए।
सैफ आजकल आफ्नो आगामी फिल्म ‘ज्वेल थीफ’ को सुटिङमा व्यस्त छन्। यस बाहेक उनी तेलुगु फिल्म ‘देवरा’ मा पनि देखिनेछन्। जसमा जुनियर एनटीआर र जान्हवी कपूर मुख्य भूमिकामा छन्।
यसअघि सैफ २०२३ मा आएको फिल्म ‘आदिपुरुष’ मा लंकेशको भूमिकामा देखिएका थिए।


