काठमाडौं– क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘नरसिंहाः अवतार’मार्फत् अभिनेता राजेश हमालले कमब्याक गर्दैछन्। हमालसँगै यो फिल्ममा नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार, नीर शाह, सनिशा भट्टराई र दीपा शाही पनि अनुबन्धित भइसकेका छन्।
अब फिल्ममा अभिनेता राज कटुवाल पनि जोडिएका छन्। कटुवाल शुक्रबार अनुबन्धित भएका हुन्।
फिल्मको एक मुख्य पात्रमा राजलाई अनुबन्धित गराएसँगै निर्देशक दिवाकार भट्टराईले यस फिल्मबाट एक एउटा राम्रो नायकको जन्म हुने आशा व्यक्त गरेका छन्।
कटुवालले यो फिल्ममा जोडिन पाउँदा अत्यन्तै खुसी रहेको व्यक्त गरे। ‘आफूले काम गर्दै आएको क्षेत्रमा कुनै पनि फिल्ममा जोडिन पाउनु नै एउटा कलाकारकोलागि महत्त्वपूर्ण कुरा हो’, उनले भने, ‘निर्देशकले मलाई ठूलो जिम्मेवारी दिनुभएको छ, साथै म आफैँले समेत धेरै मेहनत गर्नु पर्ने देखिएको। फिल्मका लागि गर्नु भएको विश्वास मैले पुरा गर्ने छु।’
क्याप्टेनपछि निर्देशक भट्टराईको फिल्ममा अभिनेता सरोजले अभिनय गर्न लागेका छन् भने हमाल र खनाल ३० वर्षपछि सँगै एउटै फिल्ममा देखिन लागेका हुन्।
उनीहरूले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको फिल्म ‘सडक’मा सँगै काम गरेका थिए। तीर्थ थापाले निर्देशन गरेको उक्त फिल्मपछि यी दुईले सँगै काम गरेका छैनन्।
यस्तै, निर्देशक भट्टराई र अभिनेता ताम्राकारले यस अघि ‘ऐश्वर्या’, ‘क्याप्टेन’ र ‘मायावी’मा पनि सहकार्य गरेका थिए ।
फिल्म यही भदौको अन्तिम साताबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ।
निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ । निर्देशक भट्टराईका अनुसार अब यो फिल्मको केही दिनमै प्रदर्शन मिति तय गरिने छ।


