काठमाडौँ– बलिउड अभिनेत्री कंगना रनौतलाई ज्यान मार्ने धम्की आएको छ। सामाजिक सञ्जालमा फिल्म ‘इमर्जेन्सी’ को ट्रेलर सार्वजनिक भएदेखि नै उनलाई यस्तो धम्की दिइँदै आएको हो।
निहंग विक्की थोमस सिंहले भिडिओ सार्वजनिक गरेका छन्।
जसमा कंगना रनौतलाई मार्ने खुलेआम धम्की दिइँदै भनिएको छ, ‘यदि फिल्मले उनी अर्थात् मारिएका खालिस्तानी नायक जर्नेल सिंह भिन्द्रनवालेलाई आतंकवादीको रूपमा देखाएको छ भने, याद गर्नु कि इन्दिरा गान्धीको साथ के भएको थियो, जसको फिल्म तिमी बनाइरहेका छौ? सतवंत सिंह र बेअन्त सिंह को थिए ? हामी सन्तजीलाई हाम्रो शिर अर्पण गर्नसक्छौं, जसले आफ्नो शिर अर्पण गर्न सक्छ उसले आफ्नो टाउको पनि काट्न सक्छ।’
धेरै सिख संगठनहरूले कंगनाको फिल्म ‘इमर्जेन्सी’लाई प्रतिबन्ध लगाउन पनि माग गरेका छन्।
संस्थाका अनुसार फिल्ममा सिख समुदायलाई ‘ब्याड लाइट्स’का रुपमा देखाउने प्रयास गरिएको छ। फिल्म सेप्टेम्बर ६ मा रिलिज हुने तय भए पनि अहिलेसम्म यसको ट्रेलर मात्रै रिलिज भएको भएकाले प्रतिबन्ध लगाउन माग भइरहेकोछ। एसजीपीले जर्नेल सिंह भिन्द्रनवालेलाई सामुदायिक शहीद घोषणा गरेको र सम्पूर्ण सिख समुदायलाई अलगाववादी भन्नु गलत भएको बताएको छ।
पुरानो विवाद
कंगनाको सिख समुदायसँग चलिरहेको विवाद पुरानो हो। कंगनाको आगामी फिल्मले कट्टरपन्थी सिख संगठनहरूलाई आक्रोशित गरेको छ।
२०२१ मा किसानहरूको आन्दोलनको क्रममा भएका दुई आपराधिक घटनाहरूलाई हाइलाइट गर्ने उनको बयानले किसान युनियन नेताहरूलाई पनि आक्रोशित गरेको छ।
हालैको अन्तर्वार्तामा कंगनाले भारतकी पूर्व–प्रधानमन्त्री इन्दिरा गान्धीले पृथकतावादी र खालिस्तानीहरूविरुद्ध गरेको कारबाहीलाई पनि जायज ठहराएकी छन्।
ज्यान मार्ने धम्कीको बारेमा कंगनाले अहिलेसम्म कुनै बयान दिएकी छैनन्।
‘इमर्जेन्सी’को रिलिज मिति पहिले जुनमा तय गरिएको थियो, तर राजनीतिक कारण कंगनाले यसलाई स्थगित गरी सेप्टेम्बर ६ मा तय गरिन्।
फिल्ममा कंगनासँगै परेश रावल, श्रेयाल तलपदे, महिमा चौधरी जस्ता कलाकारको अभिनय छ।


