काठमाडौँ– हालै मात्र दुई फिल्म अविरल वर्षासँगै विपदको चपेटामा परे।
समीक्षकहरूको राम्रो प्रशंसा बटुलिरहेका ‘आँखा’ र ‘सानो संसार’ बाढीपहिरो र डुबानमा मिसिन पर्यो। अन्तत: ‘आँखा’का निर्देशक जोन योञ्जन र ‘सानो संसार’का निर्माता अर्जुन कुमार दुवैले फिल्म स्थगित गरे।
दसैं पर्खेर बसेका चार फिल्म छन्। हुन त दसैं पर्व हरेक व्यापार र व्यवसायका मनग्य कमाइ हुने उपयुक्त समय हो। फिल्मकर्मीहरूलाई लाग्छ, ‘यो समयमा बम्पर कमाउन सकिन्छ।’
फिल्मको हकमा यस्तो हुँदैन। अघिल्लो वर्षकै उदाहरण हेर्ने हो भने दर्शकहरूले निकै अपेक्षा गरेको फिल्म ‘पशुपति प्रसाद-२ भष्मे डन’ले कमजोर कथाकै कारण व्यापारमा दसैंको स्वाद चाख्न पाएन।
जबकि बलियो कथाकै कारण करिब ९ वर्षअघि हलमा लागेको ‘पशुपतिप्रसाद’ले ‘वर्ड अफ माउथ’का कारण थुप्रै दर्शकहरूलाई हलससम्म डोहोर्याएको थियो। कथाभन्दा फिल्म चल्न पर्वलाई विश्वास गर्ने फिल्मकर्मीहरू बरु फिल्म जुधाउन तयार छन्, तर मिति सार्न तयार छैनन्।
‘बेहुली फ्रम मेघौली’, ‘छक्का पञ्जा-५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ दसैंको छेको रिलिज हुन लागेका फिल्म हुन्। यीमध्ये ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ असोज २४ गते फूलपातीमा एकसाथ रिलिज हुँदैछन्।
त्यसअघि असोज १७ गते घटस्थापनाको दिन ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनमा आउँदैछ। साजन काफ्ले र आकाश बरालले निर्देशन गरेको फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्का मुख्य भूमिकामा छन्।

उनीहरू फिल्मका निर्मातासमेत हुन्। फिल्ममा स्वस्तिमा र निश्चलसँगै विजय बराल, टीका पहारी, बसुन्धरा भुसाल लगायतको अभिनय छ। निश्चल र स्वस्तिमाका जोडी रिलमा होस् वा रिलयमा सधै रुचाइन्छ। यसपटक कति रुचाइन्छ भन्ने कुरा निर्धारण रिलिजको दिन हुनेछ।
दुई फिल्म : पुरानै तुष, नयाँ निहुँ
फूलपातीको दिन एकसाथ रिलिज हुन लागेका फिल्ममध्ये दुई कमेडी विधाका र एक एक्सन विधाको फिल्म हुन्।
कमेडी विधाका दुई फिल्मकै चर्चा गरौँ। ‘छक्कापञ्जा’ टिमले ‘छ एक्कान छ’देखि कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन। दीपक दीपाको ‘छ एक्कान छ’, ‘वडा नम्बर छ’, ‘छ माया छपक्कै’ होस् वा ‘छक्का पञ्जा सिरिज’। उनीहरूको कमाइ उकालै मात्र छ।
कुनै समय त्यही टिमको महत्वपूर्ण सदस्य थिए जितु नेपाल। पटकथा लेख्नदेखि फिल्ममा महत्त्वपूर्ण भूमिका उनले निर्वाह गरेका हुन्थे। समूहमा खटपट आएपछि जितु बाहिरिए। त्यसकारण ‘छक्का पञ्जा ४’मा जितु देखिएनन्। बरु जितुले त्यस बीचमा ‘ह्यारी कि प्यारीमा’ लिड रोलको निर्वाह गरे।

उनले चाहेका तर नपाइरहेका थिए। उनकै भाषामा भन्दा जितुले उक्त फिल्मबाट ‘हिरो’ बन्ने मौका पाए। तर त्यसले न समीक्षकबाट न दर्शकबाट नै माया पाउन सक्यो। फिल्म ‘फ्लप’ भयो। उनको फिल्म फ्लप भइरहँदा आफू बाहिरिएको टिमको फिल्मले भने उस्तै व्यावसायिक सफलता पाइरहेको थियो।
कुनै समय आफू महत्त्वपूर्ण सदस्य रहेकै टिमसँग जितुले मुख्य भूमिका निर्वाह गरेको फिल्म ‘ज्वाइँसाब’ जुध्न लाग्यो। अहिले दुवै पक्ष एकअर्काभित्र पालेका तुष सञ्चारमाध्यममा पोखिरहेका छन्। सायद फिल्म प्रचारको पुरानै शैलीको निरन्तरता पनि हुन सक्छ यो।

यी दुवै मिति सार्ने पक्षमा छैनन्। बाजी चाहिँ कसले मार्छ, त्यसको निर्धारण भने दर्शकले गर्नेछन्।
एक्सनसँगै विराजको इन्ट्री
अभिनेता विराज भट्ट ६० को दशकका चर्चित अभिनेता हुन्। उनी एक्सनकै कारण चर्चामा थिए त्यतिबेला।
बीचमा भोजपुरी फिल्महरूमा व्यस्त भएका विराज करिब ६ वर्षअघि ‘साङ्लो’मार्फत् फर्किए। निर्देशनमा उनको पर्दापण पनि थियो त्यो।
तर विराजलाई पहिलो गाँसमै ढुँगा लाग्यो। फिल्मले कुनै जादु गर्न सकेन। त्यसपछि हराएका विराज यसपटक छोरा समीरलाई हिरोको रुपमा डेब्यू गराउँदै ’१२ गाउँ’मा देखा पर्ने भएका छन्।
पछिल्ला तथ्याङ्कहरूलाई केलाउँदा अहिले नेपाली दर्शकहरूले कमेडी विधाका फिल्महरूलाई बढी अनुमोदन गरिरहेका छन्। नेपाली एक्सन फिल्महरू उसो त कम बन्छन्। बनेकाहरू पनि हलमा लामो समय टिक्न सकेका छैनन्।

यी तिनवटै फिल्मले मार्केटिङ र पब्लिसिटीमा कुनै कसर बाँकी राखेका छैनन्। पब्लिसिटी गरेअनुसार दर्शकहरूमा यी तीन फिल्मको सूचना राम्रैसँग पुगेको हुनुपर्ने हो।
अब दर्शकहरू रुचि र स्वादअनुसार बाँडिन्छन् वा तीनै फिल्मलाई अनुमोदन गर्छन् वा jf कथावस्तु र ‘वर्ड अफ माउथ’लाई विश्वास गरेर हलसम्म जान्छन्। त्यसको परिणाम भने फूलपातीको दिनबाटै आउन थाल्नेछ।


