काठमाडौँ- वृत्तचित्रमूलक छोटो चलचित्र (डकुमेन्ट्री सर्ट फिल्म) ‘लापत्ता सन्तान’ युट्युबमा सार्वजनिक भएको छ। रामजी ज्ञवालीको लेखन/निर्देशन/निर्माणमा तयार पारिएको ‘लापत्ता सन्तान’ ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
घरबारविहीन सन्तानको पीडा र बाबुआमाबाट टाढिएका सन्तानहरुको अवस्थालाई चित्रण गरी यो सर्ट फिल्म तयार गरिएको हो।
आधा दर्जनभन्दा बढी संख्यामा छोटा चलचित्र निर्माण तथा निर्देशन गरिसकेका ज्ञवालीले ‘लापत्ता सन्तान’ले नेपाली समाजले पछिल्लो समय अझ बढी भोग्नुपरेको सन्तान र बाबुआमाको कथालाई चित्रण गर्ने प्रयास गरेको बताए।
‘यसले हराएका सन्तान र समग्र परिवारको हृदयविदारक कथा पनि भन्नेछ,’ ज्ञवालीले भने।
फिल्ममा रश्मि भट्ट, अर्जुन आचार्य, ओजस्विविक्रम विष्ट, आशिष पराजुली, सविना राउत, निलम भट्टको अभिनय देख्न सकिन्छ। यस्तै मनिष प्रितम निरौला, प्राञ्जल पौडेल र प्रमित प्रसाईंले पनि फिल्ममा अभिनय गरेका छन्।
ज्ञवाली यति बेला अर्को डकुमेन्ट्री सर्ट फिल्म ‘साइलेन्स टुर’को काममा व्यस्त छन्। तिहारलगत्तै यसको छायांकन सुरु गर्ने तयारी भएको ज्ञवालीले बताए।
हेर्नुहोस् लापत्ता सन्तान युट्युबमा


