काठमाडौं– कन्दरा ब्यान्डले साँगीतिक यात्राको ३२ वर्ष पूरा गरेको छ। सोही अवसरमा ब्यान्डले आगामी नोभेम्बर ९ मा एलओडीमा साँगीतिक कार्यक्रम गर्ने भएको छ।
‘काठमाण्डू कलिङ कन्दरा’ नामक कार्यक्रममा ब्यान्डले आफ्ना पुराना हिट गीतहरूको पुन: प्रस्तुति दिनेछ। साथै नयाँ साँगीतिक सिर्जनाहरूलाई पनि प्रस्तुत गर्नेछ।
कन्दराले नयाँ विश्वव्यापी भ्रमणको पनि घोषणा गरेको छ। ‘पहिले घर देश, अनि परदेश’ शीर्षकको विश्वव्यापी अभियान ब्यान्डले सुरु गर्ने जनाएको छ।
यो भ्रमण सन् २०२५ को जनवरीमा बेलायत र दुबई, फेब्रुअरीमा जापान, मार्च र अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा र अन्तमा जुलाईदेखि अगस्टसम्म युरोप सम्पन्न हुनेछ।
अन्तर्राष्ट्रिय भ्रमणले कन्दराको कालजयी गीतहरूका साथै नयाँ सिम्फोनीहरूलाई पनि विश्वव्यापी दर्शकमाझ लैजाने ब्यान्डले जनाएको छ। ‘यो सँगीतको यस्तो उत्सव हो जसले सीमाहरू पार गर्नेछ र फरक महादेशहरूमा पुगेर हजारौँ हृदयहरूलाई एकसाथ जोड्नेछ,’ कन्दराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सन् १९९० को दशकको सुरुवातमा पोखरामा ब्यान्डको स्थापना भएको थियो।
परम्परागत नेपाली लोक गीतहरूमा समकालीन रक प्रभाव मिसाइएका ‘तिमी परी’, ‘हङकङ पोखरा’ र ‘लेककि हे माया’ जस्ता हिट गीतहरूका लागि यो ब्यान्ड प्रख्यात छ।


