एजेन्सी – चीनको तिब्बत प्रान्तमा मंगलबार बिहान गएको भूकम्पमा परी १२६ जनाको मृत्यु भएको छ भने १८८ जना घाइते भएका छन्।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार यस भूकम्पको केन्द्रविन्दु तिब्बतको शिजाङमा जमिनबाट १० किलोमिटर तल थियो।
उक्त भूकम्पको प्रभाव नेपाल, भुटान, सिक्किम र भारतको उत्तराखण्डमा पनि देखिएको थियो।
पहिलो भूकम्प गएको केही समयपछि यस क्षेत्रमा थप दुई वटा भूकम्प गएका थिए। स्थानीय अधिकारीहरूले निरन्तर स्थितिको जानकारी लिइरहेका छन्, जसका कारण मृत्यु हुनेको संख्या पनि लगातार बढिरहेको छ।
भूकम्पपछि ठूलो संख्यामा मानिसहरू भग्नावशेषमा फसेका छन्। उनीहरुको उद्धार भइरहेको छ।
चीनको सीसीटीभी समाचार अनुसार चीनको राज्य परिषदले भूकम्प प्रभावित क्षेत्रमा कार्यदल पठाएको छ र लेभल ३ मा आपतकाल घोषणा गरेको छ।
चिनियाँ वायुसेना पनि प्रभावित क्षेत्रमा उद्धार कार्यमा जुटेको छ। भूकम्पका कारण यस क्षेत्रका पूर्वाधारमा नराम्ररी क्षति पुगेको छ, जसका कारण विद्युत र पानी दुवैको आपूर्ति अवरुद्ध भएको छ। भूकम्पको धक्कालाई मध्यनजर गर्दै चीनले सगरमाथाको पर्यटकीय क्षेत्र पर्यटकका लागि बन्द गरेको छ।
दुर्घटना यति ठूलो भएपछि स्थानीय प्रशासन र प्रदेश सरकारले सम्हाल्न नसक्ने अवस्थामा लेभल–३ संकटकाल घोषणा गर्छ। यस्तो अवस्थामा केन्द्र सरकारले तत्काल सहयोग पठाउँछ।


