काठमाडौँ: नेपाली मनोरञ्जन क्षेत्रमा हास्य र व्यंग्यको नयाँ स्वाद थप्ने उद्देश्यसहित ‘क्ल्यास अफ टङ्स’ नामक रोस्ट शो सार्वजनिक हुने भएको छ। कार्यक्रमले दर्शकलाई तीखो व्यंग्य, रोचक संवाद र फरक शैलीको मनोरञ्जन प्रदान गर्ने लक्ष्य राखेको निर्माण टिमले जनाएको छ।
कार्यक्रमका होस्ट विशाल गौतमले आफ्नो प्रस्तुतीमार्फत शोमा ऊर्जा र आकर्षण थप्नेछन्। शोलाई धारिलो र प्रभावशाली बनाउन लेखक रजनीश अर्याल र आशिष न्यौपानेले सामग्री तयार पारेका छन्। उत्पादन व्यवस्थापनको जिम्मेवारी निरज दाहालले सम्हालिरहेका छन्, जसले सम्पूर्ण छायांकन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउने काम गरिरहेका छन्।
कार्यक्रमको निर्देशन र निर्माण पनि विशाल गौतमले नै गरेका हुन् भने बबिन कार्की सह–निर्माताका रूपमा संलग्न छन्। अनुभवी टिमको संयुक्त प्रयासले शो उच्चस्तरीय बन्ने अपेक्षा गरिएको छ।
‘क्ल्यास अफ टङ्स’ को मुख्य आकर्षणका रूपमा विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरू सहभागी हुनेछन्, जसलाई कार्यक्रममा उपस्थित कलाकारहरूले रोस्ट गर्नेछन्। यसले नेपाली दर्शकमाझ रोस्ट शैलीको मनोरञ्जनलाई थप लोकप्रिय बनाउने विश्वास गरिएको छ।
कार्यक्रम चैतको तेस्रो सातादेखि ‘विशाल गौतम’ युट्युब च्यानलमार्फत प्रसारण हुने जनाइएको छ। शोको छायांकन भने काठमाडौंको मैतेदेवीस्थित ह्याप्पी क्लबमा चैत १२ गतेदेखि सुरु भएको छ।


