काठमाडौँः उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्ला प्राकृतिक विपद्का कारण विद्युत्, सडक तथा अन्य अत्यावश्यक पूर्वाधारमा भएको क्षतिले नेपालको ऊर्जा सुरक्षा र विकास यात्रामाथि गम्भीर प्रश्न उठाएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा त्यसपछिको अविरल वर्षाका कारण ठूलो मानवीय र भौतिक क्षति भएको उल्लेख गरेका हुन् । विशेषगरी त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचना र सडक पूर्वाधारमा भएको क्षतिप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।
घिसिङका अनुसार त्रिशूली नदी बेसिनको भौगोलिक तथा भौगर्भिक अवस्था र पछिल्ला प्राकृतिक विपद्ले जलविद्युत् आयोजनाको दीर्घकालीन सुरक्षा तथा लगानी संरक्षणबारे गम्भीर प्रश्न खडा गरेको छ । यसले स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबलमा समेत असर पर्न सक्ने उनले बताएका छन् ।
‘विद्युत्, सडकलगायतका अत्यावश्यक पूर्वाधारमा भएको क्षतिले अहिलेको संकट मात्र होइन, आगामी दिनको ऊर्जा सुरक्षा र विकासको यात्रामाथि समेत गम्भीर प्रश्न खडा गरेको छ,’ उनले भनेका छन् ।
विपद्का कारण थातथलो र सम्पत्ति गुमाएका नागरिकको राहत, पुनस्र्थापना तथा पुनर्निर्माणमा सरकारको उपस्थिति प्रभावकारी र देखिने गरी हुनुपर्नेमा पनि घिसिङले जोड दिएका छन् । जाडो नजिकिँदै गएको अवस्थामा विस्थापित नागरिकलाई असुरक्षित र कष्टपूर्ण अवस्थामा राख्न नहुने उनको भनाइ छ ।
उनले विस्थापित नागरिकका लागि तत्काल सुरक्षित आवास, राहत र पुनस्र्थापनाको ठोस व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । ‘जाडो नजिकिँदै गर्दा विस्थापित नागरिकलाई सुरक्षित आवास, राहत र पुनस्र्थापनाको ठोस व्यवस्था गर्न किन ढिलाइ गरिँदैछ ?’ भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
घिसिङले क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणलाई मात्र पर्याप्त नमान्दै प्रभावित जलविद्युत् आयोजनालाई पुनः सञ्चालनमा ल्याउने, लगानीकर्ताको विश्वास कायम राख्ने र भविष्यमा यस्ता विपद्बाट पूर्वाधारलाई सुरक्षित बनाउने दीर्घकालीन रणनीति आवश्यक रहेको बताएका छन् ।
त्रिशूली र कालीगण्डकी करिडोरका प्रसारण लाइनमा भएको क्षतिले विद्युत् उत्पादन, प्रसारण र आपूर्तिको समग्र प्रणालीमा दबाब सिर्जना गरेको उनको भनाइ छ । आगामी हिउँदमा विद्युत्को माग व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने भन्दै तत्काल पुनस्र्थापना गर्न सकिने प्रसारण संरचनाको पहिचान गरी निर्माण तथा मर्मतलाई उच्च प्राथमिकता दिनुपर्ने उनले बताएका छन् ।
लोडसेडिङ नहुने घोषणा मात्र पर्याप्त नहुने भन्दै घिसिङले विद्युत् आपूर्ति नियमित राख्न अहिलेबाटै आवश्यक पूर्वतयारी, वैकल्पिक प्रसारण व्यवस्था र आपूर्ति व्यवस्थापनका ठोस काम अघि बढाउनुपर्ने बताएका छन् ।
‘लोडसेडिङ हुँदैन भन्ने घोषणा मात्र पर्याप्त हुँदैन। लोडसेडिङ नहोस् भन्न आजैदेखि आवश्यक पूर्वतयारी, वैकल्पिक प्रसारण व्यवस्था र आपूर्ति व्यवस्थापनको ठोस काम सुरु गर्नुपर्छ,’ उनले भनेका छन् ।
संकटको समयमा स–साना विषयमा अल्झिनुभन्दा ऊर्जा सुरक्षा, प्रभावित नागरिकको जीवन तथा क्षतिग्रस्त पूर्वाधारको पुनस्र्थापनालाई प्राथमिकतामा राख्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।
घिसिङले सरकारसमक्ष चार प्रमुख विषयमा तत्काल कदम चाल्न माग गरेका छन् । उनका अनुसार विस्थापित नागरिकलाई सुरक्षित आवास र राहतको व्यवस्था गर्नुपर्ने, क्षतिग्रस्त विद्युत् तथा सडक पूर्वाधार शीघ्र पुनस्र्थापना गर्नुपर्ने, त्रिशूली र कालीगण्डकी करिडोरको प्रसारण प्रणालीलाई प्राथमिकताका साथ पुनर्निर्माण गर्नुपर्ने तथा स्वदेशी र विदेशी लगानीकर्ताको विश्वास कायम राख्न स्पष्ट कार्ययोजना र आवश्यक सहजीकरण तत्काल अघि बढाउनुपर्ने आवश्यकता छ ।


