कवि प्रज्वल अधिकारीको पहिलो कवितासङ्ग्रह ‘अस्तित्वको ब्रह्माण्ड’ सार्वजनिक भएको छ। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित समारोहमा उनको कवितासङ्ग्रह विमोचन गरिएको हो।
बुकहिल पब्लिकेशन प्रालिले प्रकाशन गरेको सङ्ग्रहको विमोचन कार्यक्रममा कवि तथा गीतकार दिनेश अधिकारी, कवि श्रवण मुकारुङ र प्राज्ञ प्रतिशरा सायमीले पुस्तक सार्वजनिक गरेका हुन्।
कवि मुकारुङले ‘अस्तित्वको ब्रह्माण्ड’का कविता पढ्दै जाँदा वरिष्ठ कवि मोहन कोइरालाको झझल्को आउने बताए। यसरी अर्को कविको झल्को आउनु पनि एउटा कविको सफलता भएको उनको भनाइ थियो।
सङ्ग्रहमा कविताका विविध आयाम समेटिएका छन्। यस्तो विविधता ज्ञान र ध्यानबाट मात्र सम्भव हुने उनले बताए। सङ्ग्रहमा स्वच्छन्द र परिष्कृत कविता रहेको उनको भनाइ थियो।
कवि एवं प्राज्ञ सायमीले अधिकारीका कविताहरू निकै शक्तिशाली रहेको बताइन्।
कवि दिनेश अधिकारीले प्रज्वल समकालीन नेपाली साहित्यमा चिनाइरहनुपर्ने नाम नभएको र ‘अस्तित्वको ब्रह्माण्ड’ वर्तमान समयको काव्यिक दस्तावेज भएको बताए।
कार्यक्रमको सञ्चालन बुकहिल पब्लिकेशनका प्रकाशक एवं गीतकार भूपेन्द्र खड्काले गरेका थिए।
‘अस्तित्वको ब्रह्माण्ड’ अधिकारीको पहिलो कवितासङ्ग्रह हो। ७१ वटा कविता सङ्ग्रहित यस पुस्तकको मूल्य ६०० रुपैयाँ रहेको छ।





